होटलको व्यवसायिक सुरक्षा खोइ ?

कोरोना महामारीका कारण व्यवसाय नै धराशयी भएको भन्दै नेपालगन्जका होटल व्यवसायीहरुले राज्यबाट सहयोगको अपेक्षा गरेका छन् । उनीहरुले कानुन व्यवस्थाको परिधिभित्र रहेर सञ्चालनमा रहेका होटल व्यवसायलाई निरुत्साहित नगर्न राज्यका सम्बद्ध निकायहरुलाई अनुरोध गर्दै यथासम्भव राज्यले संरक्षण गर्नुपर्ने बताए ।

शनिबार होटल व्यवसायी संघ बाँके नेपालगन्जले आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष भाष्कर काफ्लेले कोरोना कहरबाट थलिएका व्यवसायीलाई राज्यले पर्याप्त संरक्षण गर्न नसकेको औंल्याए । उनले व्यवसायीहरुको सुरक्षा र संरक्षणका लागि पहल गर्न स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग गरे । काफ्लेले भारतबाट आउने पर्यटकहरुका लागि ओहोरदोहोरको सहज वातावरण बनाइदिन सुरक्षा निकायसँग माग गरे ।

होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, काँग्रेस नेता सुधांशु कोइराला, नेकपा एसका नेता विनोद मैनाली लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले व्यवसायिक सुरक्षाका लागि आफ्नो तर्फबाट पर्याप्त सहयोग रहने बताए । तर, सरकारका निकायहरुबाट कानुन कार्यान्वयनका नाममा व्यवसायीहरुलाई हतोत्साही गर्ने कार्य भैरहेको डा. राणाको टिप्पणी थियो ।

संघका महासचिव रंग बहादुर खड्काले सञ्चालन गरेको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष निम बहादुर थापा, संस्थापक अध्यक्ष मदन बिसी, पूर्व अध्यक्ष दिपेन्द्र जोशी, कानुनी सल्लाहकार अधिवक्ता बसन्त गौतम, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओली लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया