
यस बर्षको बडा दशैं हिजोबाट शुरु भैसकेको छ । दशैंघरमा जमरा राखेपछि घरघरमा जमरा राखेर शुभारम्भ भएको दशैं दोश्रोलहरको कोरोनाकोसंन्त्रासको बीच मनाउन लागिएको छ । तराइदेखि हिमालसम्म मनाइने यो चाड हरेक समुदायले आ आफ्नो तरिकाले मनाउने गर्छ । निधारमा रातो वा सादा अक्षेताको टिका र जमरा लगाएर होस् या रामलीला मञ्चनको आनन्द लिएर दशै. सबैले मनाउने गर्छन् । तर नेपालगञ्जले रामलीला गतबर्ष गरेन र यसबर्ष पनि कुनै सुरसार छैन् । पोहरसालको जस्तों यसपटक मानिसहरु त्यति त्रसित छैनन् । गतबर्ष कोरोना नयाँ नयाँ रहेकोले अलि बढि नै त्रास थियो । यसैले होला त्योे बडादशैंको रौनक नेपालको दशैं मनाउने इतिहासमा नै अति निराशाजनक देखिएको थियो । यो बर्ष भने त्यस्तो हुनेछैन आशा गर्दागर्दै पनि खासै उत्साह देखिएको भने छैन । हरेक बर्ष मौलिक चाडहरु प्रति हुँदै गैरहेको उदासीनताले मौलिकता संरक्षणमा समेत संकट परेको छ ।
नेपाल साँस्कृतिक विविधता भएको देश हो । यहाँ प्रकृतिपूजक देखि मष्टो (कुल पूजक) सम्म रहेका छन् । यो भूमि देवभूमि तपोभूमि पनि रहेकोले यहाँ बिभिन्न किसिमका देवीस्थान र देवलहरुमा पूजा प्रार्थना हुनेगर्छ । हरेक समुदायका साझा र एकल चाडवाडहरु पनि रहेका छन् । यहाँका साझा चाडवाडहरुमा संयुक्त उत्सव मनाउने मात्रै होइन कि एकल चाडवाडहरुमा समेत सहभागी हुने, बधाई साटासाट गर्ने, एक अर्काका साँस्कृतिक र परम्परागत उत्सवहरुको रमाइलोमा सक्रिय सहभागी भएर रौनक थप्ने समेत गर्ने परम्परा रहेको छ । यहि नेपाली सँस्कृतिको मूल बिशेषता हो । जुनकुरा संसारका अन्य मुलुकमा देख्न पाइँदैन ।
नेपालमा हरेक महिनाजसो कुनै न कुनै साँस्कृतिक या धार्मिक चाडपर्व पर्दछन् । जसलाई समय, स्थानबिशेषका आधारमा महत्व दिएको पाइन्छ । यस्तै चाडपर्वहरुको समष्टिगत रुपमा महापर्व, महाचाड, साझा चाडको रुपमा बडादशैं र तिहार रहेका छन् । यी चाडहरुमा समाजका हरेक वर्ग र हरेक उमेर समूहका लागि छुट्टै किसिमको उत्साह र उमङ्ग रहेको हुन्छ । केटाकेटीहरुका लागि पीङ्ग, पैसा, घुमघाम, मामाघर, हजुबाआमाको बिशेष मायाममत्व र खानेकुराहरुको रोजीछाडी आदी हुन्छ भने, युवावर्गहरुमा बिभिन्न ठाउँमा घुम्ने, प्राकृतिक सौन्दर्यताको आनन्द उठाउने, बिभिन्न देवीदेवलहरुको दर्शन गर्ने, भेटघाट गर्ने अवसर रहेको हुन्छ । यसै गरी बृद्ध उमेर समूहका लागि आफ्ना आफन्तहरु, छोरा नातिनातिनाहरु, देश परदेशमा रहेका घरपरिवारका सदस्यहरुको आगमनले आँगन भरिभराउ हुने, बर्षभरिका आ–आफ्ना दुःखसुखका कथाबेथाहरु सुन्ने सुनाउने, आफ्ना शाखासन्तानलाई आर्शिबाद दिएर गद्गद हुँदै आत्मतृप्त हुने अवसर यो बडादशैंले दिन्छ । यसमा जुन मौलिकता रहेको छ त्यसको कुनै शब्दमा बयान गर्न सकिन्न ।
दशैं नेपालीहरुको महत्वपूर्ण साँस्कृतिक चाड त आफैमा हो नै सँगसँगै दशैं नेपाली अर्थतन्त्रको पनि महत्वपूर्ण इञ्जिन पनि हो । दशैंमा देशको अधिकांश जनता आआफ्नो थातथलोतिर जाने परम्परा रहेको छ । यसो गर्दा शहरतिर अवसरको खोजिमा गएको व्यक्तिले कमाएको मध्येको ढुलो हिस्सा रकम सहित गाउँघरतिर फर्किन्छ । दशैंलाई लक्षित गरेर गरिने किनमेलले ब्यापार बढ्छ भने यात्रामा लाग्ने रकमले यातायातसाधनधनी र यातायात मजदूरुहरुको समेत आम्दानी बढ्न जान्छ । खानेकुराहरु देखि लुगाफाटो, भान्साका समानहरु र टिकोटालो दानदक्षिणा सबैकुरामा दशैंको भाग लाग्छ ।
नेपाल सरकारको अर्थ मन्त्रालयको भनाई, उद्योग बाणिज्य संघ संस्थाहरुका बिगतका तथ्याङ्कहरु, भ्याट भन्सारका आम्दानीहरुले पनि नेपालको अर्थतन्त्रको झण्डै चालिस प्रतिशतचलायमान यी दुई ठुला चाड दशैं र तिहारका दुई महिनामा नै हो भन्ने प्रष्ट हुन्छ । बर्षभरिका बाह्र महिनामा हुने ब्यापारको ठूलो हिस्सा मात्रै दुई महिनामा हुने भनेको नेपालमा मात्रै हो । संसारका अन्य मुलुकहरुमा यस्तो हुँदैन । यसकारण पनि नेपालमा यी दुई चाडहरुको साँस्कृतिक मात्रै होइन आर्थिक महत्व पनि त्यतिकै रहेको छ ।
हरेक आर्थिकबर्षको श्रावण महिनामा पहिलो दिन नै पर्ने पहिलो चाड साउने संक्रान्तिबाट शुरु हुने नेपाली मौलिक चाडहरु र देशको अर्थतन्त्र पनि चाडपर्वमा आश्रित छ किन नभन्ने ?
नेपालमा दशैंको तिहारको साँस्कृतिक महत्वसँगै आर्थिक महत्व पनि त्यतिकै छ भन्दा धेरैलाई पीडा पनि हुने गरेको छ । किनकि दशैं मनाउनु हुन्न भन्नेहरुको जमात दिनप्रतिदिन बढ्दै छ । बिभिन्न बहाना बनाएर नेपालका देवीस्थान, देवलहरु, पर्व र मेलाहरु रोक्न योजनाबद्ध तरिकाले खटाइएका मतियारहरुको यहाँ कमि छैन । नेपाली सँस्कृति र अर्थतन्त्रको ढाड भाँचिने गरि चलाइएको प्रायोजित एजेण्डाले ‘यहाँ त चाहना भन्दा पनि बहाना चाहिन्छ खर्च गर्नका लागि’ भन्ने भाष्य स्थापित गराइँदैछ । जबकी खर्चको मूलसिद्धान्त भनेको आवश्कता र चाहना हो ।
हो हाम्रा यी चाडपर्वहरु बहाना नै सहि अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भएपनि अति महत्वपूर्ण छन् किन भन्न नसक्ने?नेपालका नास्तिकहरु, यो देशमा मूल र कुल नभएका आयातित धार्मिक समुहहरु, मौलिक धर्मसँस्कृतिलाई गाली गर्नमा क्रान्तिकारी प्रगतिवादी देखिने तत्वहरु, नेपालीपनलाईसत्तोसराप गर्नेहरु र न्वारनको बल लगाएर, जिन्दगी भरिको अध्ययनको हरेक शब्दशब्द खर्चेर उछितो काढ्नेहरुको पनि चुलो बल्ने वा ब्यापार चल्ने भनेको पनि नेपालका मौलिक रैथाने चाडपर्वहरुको बहानामा नै हो ।
बर्षभरि जतिसुकै, जस्तोसुकै कर्म गरेपनि जहाँ रहेपनि बर्षको एकपटक त मिठो मसीनो खाने, लूगाफाटो किन्ने, यसो भेटघाट गर्ने घुमघाम गरेर तनमनमा उमङ्ग ल्याउने परम्पराले गर्दा देशको समाज, पारिवारिक क्षेत्र, आन्तरिक पर्यटकीय क्षेत्र, स्वास्थ्य क्षेत्र, यातायात क्षेत्र, उद्योग ब्यापार क्षेत्र सबैतिर सकारात्मक संकेत र उर्जाको काम दशैंतिहारले नै गराउँछ ।
दशैंको मुखमा परदेशबाट निकै उत्साहका साथ आफुले कमाएको सानोतिनो रकम भएपनि दशैं खर्चको लागि कम्मरमा बाँधेर लर्को लाएर घरतिर आउनेहरु, परिवारको खुशीका लागि विदेश गएर घर चलाउन पठाएको रकमले बचाएको नेपालको अर्थतन्त्र कुनै न कुनै रुपमा यो देशका मूलधर्मसँस्कृतिका चाडपर्वकै कारण चलेको छ भन्न किन लजाउने ? खर्च गर्न चाहना त चाहिन्छ नै । त्यो यदि साँस्कृतिक पहिचान बचाउने चाहनाको बहाना हुन्छ भने किन कसैको टाउको दुख्ने ?उसोभए भेलनटाइन, न्यूएयर, क्रिस्मस, इद आदीखर्च गर्ने चाहना हुन कि बहाना ? कोकोहोलो र रोइलो नेपाली मूलधर्मसँस्कृतिका चाडमा मात्रै हुनुपर्ने कारण के छ ?
दशैंले मौलिकता रक्षा र नेपाली अर्थतन्त्रमा प्राण भर्ने काम मात्रै गर्दैन यसले त नेपाली समाजमा, घरपरिवारमा आनन्द, मेलमिलाप, भेटघाट, आफन्तसँगको सुखदुखका पलहरुको साटासाटको अवसर पनि जुराइदिन्छ । कर्मक्षेत्रमा यत्रतत्र रहेको परिवारलाई कम्तिमा बर्षमा एकपटक एकैठाउँमा ल्याउने काम अरुकुनैपनि चाडपर्वले गर्दैन यहि दशैंले मात्रै गर्दछ ।
दशैंमा अर्थतन्त्रको बहाव गाउँतिर हुने गर्दछ । गाउँका हरेक उत्पादनले गतिलो भाउताउ पाउने भनेको नै यहि दशैंमा हो । शहरको पारीबाट ल्याएको उसिनेको चामल खाँदा थाकेको पेटले पनि गाउँको ताजा वस्तु खाएर जिब्रोको स्वाद फेर्ने अवसर पनि यहि दशैंले जुराइदिने गरेको छ ।
वास्तवमा नै दशैंले हरेक नेपालीमा परिवार प्रतिको माया, परिवारको महत्वलाई जिउँदो राखेको छ । यो जिउँदोपनामा ब्रेक लगाउन नपाएर अत्तालिएकाहरुलाई दशैं बहाना लाग्नु, यसको महत्वलाई भत्काउन जेपनि भन्न र गर्न लाग्नेहरुका लागि दशैंको महत्व थाह नभएको त होइन विदेशी धर्मसँस्कृतिको कलोले पोलेको मात्रै हो ।
भूगोलका हिसाबले ९४औं स्थानमा रहेको हाम्रो देश गाउँ नै गाउँले बनेको छ । यहाँको कुल जनसंख्याको ८१ प्रतिशत जनसंख्या (बिश्व बैंकको सन् २०१६ को बिकास सूचक तथ्यांकलाई आधार मान्दा ) आज पनि गाउँ मैं बस्छ । यसैलाई आधार मान्दा पनि गाउँ र कृषिको अति नै निकट सम्बन्धलाई बुझ्न गाहे छैन । यस हिसाबले नेपालको सकल अर्थतन्त्रको केन्द्रबिन्दु गाउँ नै हो । देशको आर्थिक तथ्याङ्कले कुल जिडीपीमा गाउँको यानी कृषिको योगदान झण्डै २७ प्रतिशत रहेको देखाउँछ । यसर्थ दशैंतिहार अझ खासगरि दशैं भनेको वास्तविक रुपमा नेपालको गाउँको चाड हो । यसले रौनकता गाउँमा ल्याउँने गर्छ । गाउँमा रौनकता ल्याउनका लागि बजार र ब्यापारमा किनमेलको चहलपहल हुनेगर्छ । शहरबाट गाउँतिर अर्थतन्त्रको प्रवाह पनि हुन्छ । हरेक नेपालीको हातमा धेरैथोरै रकम दशैंकै कारण हात पर्ने गर्छ । चाहे कर्मचारीहरुको दशैं बोनसको रुपमा होस, या पेश्कीको रुपमा, या सापटीको रुपमा होस या ज्याला मजदूरी या सहयोगका रुपमा । यसरी पाएको पैसा दशैंका किनमेलको रुपमा घुमेर बैंक या बजारमा ब्यापरीहरु कहाँ नै आउँछ । नेपालको सकल अर्थतन्त्रको मूलथलो तिर अर्थको प्रवाह दशैंमा हुन्छ भन्नेबारेमा दशैको निकै ठूलो महत्व रहेको कुरालाई हाम्रा अर्थशास्त्रीहरुले समेत स्वीकार गरेका छन् । अघिपछि कुनै दुखबिमारी वा सामान्य खर्चपर्चका लागि मात्र बल्लतल्ल भित्रिने रकममा दशैंको आगमनले ह्वात्तै बढोत्तरी हुने गर्दछ ।
देशको राजधानीबाट हरेक बर्षको दशैंमा झण्डै ४० लाख मानिसहरुक गाउँ फर्कने, देशका बिभिन्न शहरहरुबाट गाउँतिर जानेहरुको संख्या एकिन नभएता पनि कुल शहरी जनसंख्याको आधाहिस्सा पुरै चलायमान हुने गर्दछ । संक्षेपमा भन्दा आधा देश यहि दशैंका बेला गतिशील र चलायमान भएको हुन्छ । मानिसहरुसँगै बजारअर्थतन्त्रको धमनी चल्नेगर्छ । यसैका आधारमा सहजै अनुमान लगाउन सकिन्छ कि दशैं साँस्कृतिक रुपमा मात्रै होइन अर्थतन्त्रका हिसाबले पनि अति नै महत्वपूर्ण चाड हो । आऔ
ंसबैमिलेर मौलिक चाडमा उत्साह र उमङ्ग भरौं । यसबर्षको बडा दशैं २०७८ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक एवं मंगलयम शुभकामना ।