नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र निर्मला धोबीको अवस्था यकिनका लागि दबाब दिन न्यायको माग गर्दै सिंहदरबारका लागि पीडित र अधिकारकर्मीले सुरु गरेको नेपालगञ्ज–काठमाडौं पैदल मार्च काठमाडौं पुगेको छ ।

नेपालन्जबाट १ असोजमा हिँडेको टोली २० दिनमा बुधबार काठमाडौं पुगेको हो । ’हामी काठमाडौं पुगेका छौं,’ बुधवार दैनिक नेपालगन्जसँग पैदल मार्चको नेतृत्व गरिरहेकी रुबि खानले भनिन्, ‘यहाँबाट कसरी अगाडी बढ्ने भन्ने सल्लाहमा छौं ।’ उनले दिनभर र रातभर हिँडेर आफुहरु काठमाडौं पुगेको जानकारी दिंदै काठमाडौंमा न्यायको माग गर्दै टोलीले सिंहदरबारमा धर्ना दिने कार्यक्रम तय गरिएको बताइन् ।
पैदल मार्चका सहभागीहरुले बुटवलमा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयमा पनि धर्ना दिएका थिए । बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत भेटिइन् । झुण्डिएको अवस्थामा उनको शव घरमै भेटियो । उनी लामो समयदेखि घरेलु हिंसा ब्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको भन्दै पीडितले प्रहरीलाई गुहारे । तर, प्रहरीले अनुसन्धानै नगरेर आत्महत्या भनिदिएको आरोप पीडित परिवारको छ ।

आर्थिक विषयलाई लिएर एक दशकदेखि असुरक्षित रहेकी निर्मला कुर्मी गत वर्ष मंसिरबाट बेपत्ता भइन् । १६ मंसिरमा स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले अनुसन्धान नगरेको गुनासो छ । अहिले उनको मृत्यु भइसकेको प्रहरी भनाइ सार्वजनिक गरेपछि शंकास्पद मृत्युको गहिरो अनुसन्धानको माग गर्दै पीडित र अधिकारकर्मीले प्रदर्शन गरिरहेका हुन् । उनको जग्गा यसबीच भू–माफिया चलखेलमा विक्री भएको छ । प्रहरीले उनले दोस्रो विहे गरेको दावी गरिहँदा कसैले पनि त्यो मान्न तयार छैन । निर्मलाको बिहेपछि कालगतिले मृत्यु भएको दावी प्रहरीले गरेको छ ।
आन्दोलनमा सहभागीहरु प्रहरी दावीलाई मान्न तयार छैनन् । घटनाको गम्भीर अनुसन्धान उनीहरुको माग छ । ‘आवश्यक परे हामी यहाँ आमरण अनसनसम्म बस्छौं,’ रुविले भनिन्, ‘अब न्यायको सुनिश्चितता नभइ फर्किंदैनौं । महिला अधिकार मञ्च केन्द्रीय समितिसँग छलफलमा रहेकी रुबिले भनिन्, ‘यो दुई महिलामात्रै भन्दा समग्र असुरक्षित महिलाको सुरक्षाको सवाल पनि हो ।ँ
त्यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेमा १९ दिनसम्म धर्ना दिएका उनीहरुको माग सुनुवाइतर्फ बेवास्ता गरिएपछि अधिकारसहित पीडित परिवारको टोली पैदल काठमाडौं मार्चको बाटो अघि बढेको हो । उनीहरुले ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार ! नाराका साथ नेपालगन्ज देखि काठमाडौँ सम्म पैदल यात्रामा सिंहदरबारका लागि हिडेका थिए ।