कहिले बन्छ सडक ? वस्तीलाई सास्ती

एउटा निर्माणधिन सडकका कारण जानकी गाउँपालिका पिपरहवाका बासिन्दाले पछिल्लो ६ महिनादेखि सास्ती व्यहोर्नु परेको छ । झण्डै आधा दर्जन उद्योगहरुसमेत रहेको जानकी –६ पिपरहवा चोक देखि खुला कारागार सडक खण्ड निर्माण समयमा नगरिंदा सिंगो वस्तीले सास्ती भोग्नु परेको हो ।


सुस्त गतिमा निर्माण भइरहेको करिब ७ किलोमिटर बाटो बनिरहँदा सामान्य बैकल्पिक व्यवस्था समेत नगरिंदा उद्योगका लागि सामान ल्याउँदा–लैजाँदाका समस्यामात्रै होइन, स्थानीय बासिन्दा ओहरदोहरका लागि पनि गा¥हो परेको छ । वर्षात् लागेदेखि बालिबालिका र जेष्ठ नागरिकका लागि बाटो झनै समस्याका रुपमा रहेको स्थानीयको गुनासो छ ।
‘हाम्रा समस्या कहाँ सुनुवाइ हुन्थ्यो, यहाँ त स्थानीयलाई पैदल पनि हिड्ने अवस्था छैन,’ जिल्लाकै प्रतिष्ठित सिमेन्ट्स कम्पनी, जय मंगलम सिमेन्ट्सका प्रवन्ध निर्देशक सन्जय अग्रवालले दैनिक नेपालगन्जसँग भने,‘ हेर्नुस् त स्थानीयलाई दैनिक आवत–जावतमा पनि कति समस्या भैरहेको छ ?’


पानी परेको बेला झनै डोजर लगाएर आफ्ना उत्पादन ढुवानी गरिरहेका अग्रवालले उक्त समस्या लिएर जनप्रतिनिधिदेखि ठेकेदार सम्म गुहारेका छन् । ‘पानी परेपछि गाडी फँसेर २÷४ हजार थप खर्च गर्र्नुपर्ने बाध्यता छ,’ उद्योगपति अग्रवालले आफुलाई परेको मर्काभन्दा पनि गाउँलेले दैनिक भोग्नुपरेको कठिनाइले पीडा दिने बताए ।


जानकी गाउँपालिका–६ पिपरहवाका प्रहलाद गडरियाले बाटोका कारण आफ्नो घरमा पानी पसेर उठिबास लगाउने गरेको सुनाए । ‘सडकको नाली घर निकै माथि छ, पानी पर्यो कि घरभित्र जलमग्न भएर बेहाल हुन्छ,’ गडरियाले संवाददातासँग चिन्तित हुँदै भने, ‘सडक बन्दा हाम्रो घर, आँगनमा जलमग्न हुने घरभित्रको सारा सामानलाई नोक्सानी पु¥याउछ ।’ घरमा आउन जान समेत पानी परेका बेला समस्या हुने गरेको उनको गुनासो छ । ‘सडक बन्नु अघि नाली निर्माण गरेर बीचैमा अलपत्र पारिंदा हामीलाई क्षतिमात्रै भयो,’ सडक निर्माणको काम नगरिंदा आवागामनमा बाधा पुगेको जानकारी दिंदै गडरियाले गुनासो सनाए ।


ठेकेदारले सडक निर्माणमा गरेको ढिलाईका कारण गाउँलेले समस्या भोग्नु परेको भनाइ स्थानीयको छ । गाउँपालिकाले ठेकेदारलाई तह लगाउन नसकेको भन्दै स्थानीयले आफ्ना समस्या सुनुवाइ नभएको बताए । ‘ठेकेदार कम्पनीले ढिला गरी काम गर्दा स्थानीयलाई हिड्डुलमा यस्तो कठिनाइ हुँदा पनि जनप्रतिनिधिले हेरेनन्,’ निर्माणका क्रममा खाल्डो परेर पानी जमेको दृश्य देखाउँदै स्थानीय विश्वनाथ गुप्ताले भने,‘गाउँपालिका र वडाले सडक छिटो निर्माणमा चासो देखाएन ।’


बुधबार सडकको स्थलगत अवलोकनका क्रममा स्थानीयले निकैं दुःख भोग्नु परेको गुनासो गरिरहेका थिए । पिपरहवाकै जयमती लोनियाले स्थानीय जनप्रतिनिधिले आफनो स्वार्थ मात्रै हेर्ने गरेको आरोप लगाइन् ।
आर्थिक वर्ष २०७८–८९ मै काम सक्ने गरी कार्य भैरहेको सडक निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी पुष्पाञ्जली पियर्स जेभीले सडक एक करोड ५३ लाख लगानीमा जानकी गाउँपालिकासँग ठेक्का पाएको हो । निर्माण कम्पनीले फागुन, चैतसम्म सक्ने योजना रहेको बताएको छ ।


निर्माणाधिन सडकका कारण स्थानीयलाई समस्या भएको स्वीकार गर्दै निर्माण कम्पनीका सञ्चालक रामजी यादवले दशै लगत्तै पीचको काम शुुरु हुने बताए । ‘एक बर्खा पानी खाँदा बाटो बलियो हुन्छ, मंसिरभित्रै काम पुरा गरिसक्छौं,’ यादवले दैनिक नेपालगन्जसँग भने, ‘निर्माण अवधि प्रशस्त रहेकाले हतारिएर काम गर्नुपर्ने छैन ।’ निर्माणमा ढिलाई वा त्रुटि नभएको उनको दावी छ ।

प्रतिक्रिया

प्रतिक्रिया