बजार अनुगमनमा व्यवसायी पनि हिड्ने

चाडवाडका बेला हुन सक्ने अनुचित क्रियाकलाप नियन्त्रण गरि स्वच्छ बजार कायम राख्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नेपालगन्ज उद्योग वाणिज्य संघ सम्बद्ध व्यवसायीसंग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा बजारमा हुने गरेका बेचित र अनुचित ब्यापारिक क्रियाकलापका कारण उपभोक्ता मारमा परेकाले नेपालगन्ज उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघसंगठनका सम्बद्ध व्यवसायीले स्वच्छ बजार कायम राखी उपभोक्ता हित संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवं समितिका सदस्य अधिवक्ता वसन्त गौतमले गुणस्तरीय बस्तु तथा सेवा पाउनु आम उपभोक्ताको अधिकार भएकाले त्यसको संरक्षणका गर्नु ब्यवसायी एवं सेवा प्रदायक निकायको दायित्व एवं कर्तब्य भएको बताएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक समितिका संयोजक उमा थापा मगरले उपभोक्ता सचेतना र ब्यवसायी जिम्मेवार भए स्वच्छ बजार कायम राख्न मद्दत पुग्ने बताइन् । नगरपालिकाको पहिलो काम अनुचित ब्यापारिक क्रियाकलाप हुन नदिनु भएको उल्लेख गर्दै गलत ब्यापारिक क्रियाकलाप भए नगरपालिका मुखदर्शक भएर नबस्ने बताइन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले स्वच्छ बजार कायम राख्न उपभोक्ता सचेतनासंगै सरोकारवाला निकायको साझा जिम्मेवारी बोध हुनु पर्नेमा जोड दिए । बस्तु तथा सेवाको आपूर्तिमा असहज नहोस र आम उपभोक्ताले गुणस्तरीय बस्तु तथा सेवा पाउने गरि सबैले कार्य गर्नु पर्ने सहायक प्रजिअ बिष्टले बताए ।

बैठकले ब्यवसायीहरुका तर्फबाट बजार अनुगमन लगायत अन्य बजार ब्यवस्थापनका हरेक सवालमा नियमनकारी निकायलाई साथ समर्थन र ऐक्यवद्धता जनाउने प्रतिवद्धता जनाइएको थियो । कार्यक्रममा नियमनकारी निकायबाट कानून बमोजिम गरिने बजार ब्यवस्थापनका क्रियाकलापहरु संचालन गर्दा ब्यवसायीहरुको साथ रहने र ब्यवसायी र नियमनकारी निकाय दुवैको संयुक्त प्रयासबाट उपभोक्ता अधिकार बारे सचेत गराउँदै उपभोक्ता अधिकारको पूर्ण सुरक्षा उपभोगको सुनिश्चितता दिलाउन लागि पर्ने निर्णय गरेको जनाएको छ ।

कार्यक्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी खाद्य निरिक्षक नेत्रा बोगटी, उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश संयोजक प्रभात कुमार ठकुरीले बजारका बेथिथि उजागर गर्दै उपभोक्ता अधिकारका पक्षमा बोलेका थिए ।

कार्यक्रमा नेपालगन्ज उद्योग बाणिज्य संघका भिम रानाभाट, औषधी ब्यवसायी संघका बसन्त कुमार शर्मा, एग्रोभेट ब्यवसायी संघका अध्यक्ष बिनोद तिवारीले ब्यवसायीले भोग्दै आएका समस्यामा र उपभोक्ता अधिकारका बारेमा बोलेका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत एवं उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रविण रानाले अनुचित ब्यापारिक क्रियाकलाप रोकी उपभोक्ता अधिकार संरक्षणका लागि सरोकारवाला निकाय बिच आपसी समन्वय र सहकार्यमा जोड दिए । बजार अनुगमनलाई तीब्रता दिएको बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले अनुचित ब्यापारिक क्रियाकलाप गरि उपभोक्ता ठगि गर्ने ब्यवसायीलाई २ लाखसम्म जरिवाना गर्ने गरेको छ भने केहीलाई मुद्दा चलाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया