
उदारचरितानां तु वसुधैव कुटुम्बकम्, यो वाक्य सनातन धर्मको मूल विचारधारा हो । यसलाई हरेक सनातनीहरुले कतै न कतै आफ्नो जीवनमा पनि अवलम्बन गर्दै पनि आएका छन् । महोपनिषद देखि बिभिन्न पुस्तकहरुमा उल्लेख भएको यो विचार सनातनसँस्कृतिको मूल चरित्र पनि हो । यसैलाई आत्मसाथ गरेको वैदिकसँस्कृति कहिल्यै पनि कसैका बिरुद्ध लागेको इतिहास छैन । कसैको पूजाविधि या उपासनामा हस्तक्षेप गरेको तथ्य छैन । जसले जसरी ईश्वरलाई पुकारेपनि, जसरी जुन चिजलाई ईश्वरको अवतार या रुप मानेपनि त्यसमा होइन हुँदैन भनेको छैन । संसारमा जे जतिपनि गुरुहरु, सन्तहरुको आगमन भयो सबैको ज्ञानलाई मानव कल्याण कै सत्कर्मको रुपमा स्वीकार गर्दै सबै ज्ञानहरुलाई संरक्षण गर्दै गएको छ । यसैले गर्दा आज वैदिकसनातनभित्र ईश्वरका अवतारहरु, पूजाका विधि पद्धतिहरु, देवताका रुपहरुको संख्या असंख्य भएको हो । हरेक भूगोलको टुक्राटुक्रामा विविधताको सौन्दर्यता छाएको हो । संसारको सबैकुरा समाहित हुनसक्ने ल्याकत सनातन धर्म र सँस्कृतिले राखेको हो ।
संसारमा उदारताको पराकाष्ठा यदि कहिँ कतै छ भने त्योसनातनभित्र मात्रै छ । कसैलाई स्वीकार गर्नसक्ने क्षमता र सहनशीलता छ भने त्यो सनातनभित्र मात्रै छ । सर्वधर्म समभावको ल्याकत कसैमा छ भने त्यो पनि सनातनीमा मात्रै छ । विश्व शान्ति र बन्धुत्वको पवित्र स्वारोक्ति यदि कसैमा छ भने त्यो सनातनीमा नै छ । यो सत्य हो, प्रमाणिक हो, सर्वस्वीकार्य पनि हो ।
आज संसारमा धेरै पंथहरु जन्मिसकेका छन् । पछिल्लो दुईहजार बर्ष यता केहि यस्ता पंथहरु संसारमा जन्मे जसले उदारचरितानां तु वसुधैव कुटुम्बकम् को आदर्शलाई अबलम्बन गर्नै सकेनन् । धार्मिक साँस्कृतिक अतिवादलाई र एकल धार्मिक संसारको परिकल्पना लिएर हिड्ने पंथहरुको यहाँ बढि नै प्रचारबाजी भयो । यस्ता पंथहरुले एकलतालाई नै प्रेरित गरे । यो एकलताको अतिवादमा सबैभन्दा पीडित छन् भने सनातन धर्मसँस्कृति पक्षधर नै छन् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् भन्दाभन्दै आफ्नै अस्तित्व माथि आक्रान्ताहरुले आक्रमण गर्दा पनि सतुमूर्गले झैं ‘सुरक्षित छु ’ भन्ने भ्रममा सनातनीहरु आजपनि छन् ।
वर्तमान समयमा भैरहेका धेरै युद्धहरु, हत्याहरु, क्रान्ति भनिएका कथित अतिवाद र प्राताण्डनाहरु सनातनीहरुकै बिरुद्धमा र हाम्रा जस्ता देशका मूलधार्मिक आदर्शहरु भत्काउनका लागि नै प्रयोग भै रहेका छन् । धार्मिक अतिवाद, एकल साँस्कृतिक मनोवृतिले यतिसम्म घुषपैठ गर्यो कि यहाँका मौलिक धर्मसँस्कृति भाषा र सभ्यतालाई गाली गर्नमा ठूलो धनराशी लगानी हुन थाल्यो । भोक, गरिबी, अशिक्षा, भौगोलिक बिषमताले ल्याएको कठिन जीवनयापनको अवस्था, केहि परम्पराका नाममा वेद मुन्धुम, त्रिपिटक कहिँ कतै उल्लेख नभएको जातीय छूवाछूत जस्तो समाजिक अपराधका कार्यलाई जबरजस्ती सनातनको, यहाँको मूलधर्मसँस्कृतिको हिस्सा हो भनेर ब्यापक दुष्प्रचार गरियो । यहि दुष्प्रचारको जगमा टेकेर यहाँको मूलधर्मसँस्कृति माथि नै आक्रमण र धर्मान्तरणको खतीउपती खुल्लमखुला चलाइयो र जुन आजपर्यन्त तीब्र रहेको छ ।
नेपालको आफ्नै वंशियार र अंशियारको नीति हुनुपर्ने हो । तर यो कुरालाई कोहिकोहिले नीहित स्वार्थमा लुकाए । यहाँको मूल जरोकिलो नै बिर्सेर अर्कैको सिको गर्नमा गर्व गर्दै जाँदा यहाँका मूल धर्मसँस्कृतिहरु हिन्दू, बौद्ध, जैन, किराँत र बोनको आधार नै कमजोर बनाइएको छ । यी धर्महरु र यसले सृजेका ज्ञान परम्पराहरु सबै संकटमा परेका छन् । यहाँ भएका केहि धर्मभिरुहरु आफ्नो गुट चलाएर आफु चौको चढेर सबै ठिक छ हामी सुरक्षित छौं भन्ने सर्तुमुर्गी व्यवहारमा मख्ख छन् । कतिलाई त साँस्कृतिक राष्ट्रवादको नाममा नेपालको मूलधर्ममा नै खण्डखण्ड खण्डिता बनाइएको छ ।
धार्मिकसाँस्कृतिक र ऐतिहासिक महत्व बोकेको भूमिको राज्य र यसका सञ्चालकहरुमा न्यूनतम नैतिकताको पनि खडेरी परेको छ । भनिन्छ नि चोरडाँकाले पनि आफ्नो गाउँ र यस वरिपरीमा डाँकाचोरी गर्दैन तर हाम्रा नकच्चरा राज्यसञ्चालकहरुले त त्यो डाँकाचोर जत्तिको पनि नैतिकता राख्न सकेनन् । आफ्नै मूलधर्मसँस्कृतिको जरोकिलो उम्टाउन कमिशन खाए । विदेशी आक्रान्ता बोलाएर भतेर लगाए ।
संसारका हरेक राष्ट्रले आफ्नो देशको पहिचानको रक्षा गर्न छुट्टै भाषानीति, सँस्कृति संरक्षण गर्न पृथक सँस्कृतिनीति, मूलधर्मसँस्कृतिको रक्षार्थ त्यहाँको बिषशाधिकार र अग्राधिकारको ऐनकानून नीतिनियम र संयन्त्रहरुको व्यवस्था गरेको हुन्छ । तर नेपालले यसबारेमा कहिल्यै पनि सोंचेन । यो अति नै चिन्ताको बिषय हो । यहि कारण हो यहाँको मूलधर्मसँस्कृति नै आज संकटमा परेको छ ।
सनातनीहरुका चाडपर्वहरु आए कि ‘यसलाई मनाउन हुन्न, यी पाखण्ड हुन, यसले के दिएको छ’ भन्दै यहाँको मौलिकतालाई गाली गर्नेहरुको लर्को लाग्ने गरेको छ । यस्तैलाई राज्यले पनि बुद्धिजीवीको पगरी गुथाइदिने गरेको छ । बेलाबेलामा सम्मानका तक्मा झुण्डाइदिएर नेपाली मौलिकता र यहाँको मूलधर्मसँस्कृतिलाई गाली गर्न उनीहरुलाई अझ हौसला प्रदान गर्ने गरेको छ ।
यो भूमि न भ्याटिकन हो, न यरुशलेम न त मक्कामदिना हो । यो त सनातन धर्मसँस्कृतिको उत्पत्तिको देश हो । यो कुरा स्वीकार गर्न यो देशको माटोमा जन्मेर यहिँको मूलधर्मसँस्कृतिबाट पल्लवित भएको प्रधानमन्त्री समेत भैसकेको व्यक्ति पनि समाजिक सञ्जालमा बुरुक्क उफ्रिन्छ र ‘भन्छ यो त पाखण्ड हो, विकास बिरोधी हो ।’यो जस्तो लाजको पसारो शायदै संसारमा कहिँ कतै हुँदैन ।
आज नेपाली मूलधर्मसँस्कृति निकै कष्टकर अवस्थाबाट गुज्रिएको छ । यहाँ अन्यत्रै नै जरो र किलो भएका धर्मसँस्कृतिहरु त छन् छन् यहाँका बुद्धिजीविको सर्टिफिकेट दिइएका र बरिष्ठ विज्ञ भनाइएकाहरुको चोचोमोचो समेत सनातनधर्मसँस्कृतिलाई गाली गर्नमा नै मिल्छ ।
सनातनीले चाहेर होस् या नचाहेर सबैकुरा सहिदिनु पर्ने बनाइएको छ । उनका चेलीबेटी अपहरणमा परुन या विदेशी बिधर्मीहरुले आफ्नो घरको सदस्य बनाउन, कसैलाई आपत्ति हुनुहुँदैन किन कि यो मानवाधिकार हो, यो स्वतन्त्रता हो । तर त्यहि सनातन इतरका कोहि चेलीबेटी सनातनी परिवारका सदस्य बन्ने इच्छा राख्नु पनि अतिवाद हुन्छ । अल्पसंख्यक माथिको कथित ज्यादती हुन्छ । यस्तो एकपक्षिय व्यवहारले यहाँको मूूलधर्मसँस्कृतिलाई पिरोलेको अवस्य छ । तर व्यक्त गर्ने आँट कसैमा छैन ।
इतिहास साक्षी छ, विगतमा अफगानिस्तान, पाकिस्तान र बंङ्ग्लादेशमा भएको सनातनी माथिको ज्यादतीले त्यहाँ सनातनीहरुको अस्तित्व सकिएको छ । यो सत्यलाई कोहि पनि खुलारुपमा स्वीकार गर्न तयार छैन । किन कि यहाँ आक्रान्ताहरुको तुष्टिकरणमा नै सत्ताको मझेरी झल्किन्छ, डलर, यूरो र रियालको चमक टल्किन्छ ।
गर्दा गर्दा अब त यहाँ अपराध पनि गैर सनातनीको लागि छम्य हुनुपर्छ भन्ने मनोबृतिको विकास भएको आभास भएको छ । संसारमा अपराध त जसले गरेपनि अपराध नै हो के होइन र ? अपराधमा समेत तुष्टिकरण यो कस्तो सनातन माथिको आक्रमण हो ?
संसारमा झण्डै डेडअर्ब बढि हिन्दूहरु छन् । झण्डै ५५ देखि ६० करोड बौद्धहरु छन् । झण्डै ६० लाख जैनहरु छन् । झण्डै २५ लाख किराँतीहरु छन् । बोनहरुको छुट्टै जनगणना भएको त पाइँदैन । उनीहरुलाई बौद्ध सम्प्रदायको अंगको रुपमा विश्व जनसंख्याको तालिकामा देखाइने गरेको पाइन्छ । तर नेपालको डोल्पामा रहेका बोन गुरुहरुको भनाइ अनुसार बोनधर्म बौद्धधर्म भन्दा १५ हजार बर्ष पहिला नै थियो । उनीहरुको धर्म नै अलग हो । उनीहरुको उपासनाको पद्धति बौद्धमार्गीको जस्तो भएकोले मात्रै उनीहरुलाई बौद्धमार्गीको रुपमा राख्न मिल्दैन ।
यसरी हेर्दा यी पाँचवटा मूलधर्म र यसबाट विकास भएको सँस्कृति र ज्ञान परम्पराको मूल थलो नै यहि नेपाल हो । यो सत्य हो, तथ्य हो । यसैले यी पाँच धर्मसँस्कृतिको यो भूमिमा साँस्कृतिक अग्राधिकार स्वतह हुन्छ । यो अधिकारलाई मास्ने र तास्ने कुनैपनि कार्य कुत्सित मानसिकता र दुस्साहस मात्रै हो ।
यी पाँचवटा मूलधर्मले आफ्नो अस्तित्व र अग्राधिकार न भ्याटिकनमा गएर खोज्ने हो, न यरुशेलममा गएर न त मक्कामदिनामा गएर खोज्ने हो । जहाँ जस्को मूलभूमि हो त्यहिँ खोज्ने हो । कसैले खोस्न खोजे आफ्नो अस्तित्वको लागि बलिदान हुने हो ।
आज यो देशका यी पाँचवटा धर्मसँस्कृतिहरु संकटमा पर्दैछन् । हाम्रा धर्मरक्षक गुरुहरु कोहि कथाकुथीमा, कोहि छद्दम भेषका पार्टीको एजेण्डामा, कोहि केहि रोपनी या बिघाका आश्रमको पर्खालभित्र ‘संसार नै हाम्रो भएको छ’ भनेर आफुपनि भ्रममा चेलाहरुलाई पनि भ्रममा राख्दै अलग अलग दोकान चलाइरहेका छन् । आक्रान्तहरु यस्तै होस् भनेर बौद्धिक, मौद्रिक लगानी गरिरहेका छन् । यो देशको मूलधर्मसँस्कृति बिरुद्धका राजनीतिक दलको मझेरीमा बसेर आनन्द लिने हाम्रा गुरुहरुको निद्रा अबपनि नखेले कहिले खुल्ने हो ? वहाँहरुले अब यसबाट बिउँझिनै पर्छ । यो देशका मूलधर्मसँस्कृतिका संवाहकहरुले एउटै मोर्चामा आउनैपर्छ । आज यहाँको मूलधर्मसँस्कृति सबैभन्दा संकटमा परेको छ । यो कुरा बुझेर सबैको घैंटोमा घाम लागोस् । अस्तु ।