बाँके काँग्रेसलाई ‘अभिभावकविहीन हुँदाको पीडा’

‘कुनै गुटतर्फ नलागेका इमान्दार पार्टी कार्यकर्तालाई यसले निकै निराश बनाएको छ,’ काँग्रेस नेता मैकुलाल वाल्मिकीले काँग्रेस बाँकेमा देखिएको अन्योलताले दीर्घकालीन प्रभाव पार्ने चेतावनी दिंदै भन्छन्, ‘पार्टी कमजोर हुने मात्रै होइन, यसले आगामी निर्वाचनसम्म धक्का दिने निश्चित छ ।’

छिमेकी जिल्ला बर्दियामासमेत महाधिवेशनको रन्कोले चहलपहल भइरहँदा नेपाली कांग्रेसको १४औँ महाधिवेसन अन्तर्गतका सबैजसो गतिविधिबाट बाँके जिल्ला बेखबर सरह छ । विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको चहलपहलले छुन सकेको छैन ।


बाँके क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवादलाई लिएर जिल्लानै प्रभावित भइरहँदा केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली असोज ९ गते सार्वजनिक गरेको थियो । अब अधिवेशन हुन्छ की भन्ने भन्ने जिज्ञासाले बाँकेका आम काँग्रेस कार्यकर्तामा छाएको उत्साह सूची हेरेपछिको विवादले झनै निराश बनाएको सम्बद्धहरुको भनाइ छ ।


‘कुनै गुटतर्फ नलागेका इमान्दार पार्टी कार्यकर्तालाई यसले निकै निराश बनाएको छ,’ काँग्रेस नेता मैकुलाल वाल्मिकीले काँग्रेस बाँकेमा देखिएको अन्योलताले दीर्घकालीन प्रभाव पार्ने चेतावनी दिंदै भन्छन्, ‘पार्टी कमजोर हुने मात्रै होइन, यसले आगामी निर्वाचनसम्म धक्का दिने निश्चित छ ।’ संविधान सभाका तत्कालिन सदस्यसमेत रहेका पार्टी नेता वाल्मिकीले सदस्यता विवादलाई प्रतिष्ठा र गुटको लडाईंको विषय बनाउन नहुने भनाइ छ । ‘यसरी पनि एउटा प्रजातान्त्रिक पार्टी चल्छ ? नेतृत्वले तत्काल निर्णय लिएर महाधिवेशनका लागि कार्यकर्तालाई सम्हाल्नुपर्छ,’ उनले दैनिक नेपालगन्जसँग भने ।


लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै अधिवेशन हुन बाँकी रहेको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुङिगएको बाँकेमा अधिवेशन अब छिट्टै हुने कार्यकर्ताले आँकलन गरेका हुन् । मिति कहिले तोक्ने भनेर सम्बन्धित तहमा छलफल भइरहेको बाँके कांग्रेस सचिव तप्त पौडेलको भनाइ आइरहँदा अधिकाँश कार्यकर्ता भने कतै महाधिवेशनमैं प्रतिनिधिविहीन हुने होकी भन्ने चिन्ता बढेको देखिन्छ ।

पछिल्लो सूची अनुसार, बाँकेमा हाल नौ हजार ६७८ क्रियाशील सदस्य रहेका छन् । क्षेत्र नम्बर १ को सूचीमा विवाद मिलाउँदा अन्य क्षेत्रलाई पनि गिजोलिएको आरोप कार्यकर्ताको छ । ‘विवादनै नरहेको क्षेत्र नम्बर २ र ३ मा पनि विवाद झिक्ने काम गर्दा महाधिवेशनमानै प्रतिनिधित्वविहीन भइएला भन्ने आशंका बढेको छ,’ काँग्रेस नेतृ उमा थापा मगरले दैनिक नेपालगन्जसँग भनिन्, ‘बाँके अभिभावकविहीन भएको महसुस भएको छ ।’


जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । दोस्रो चरणमा आठ वटा पालिकामा र त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुने व्यवस्था छ । अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भए पनि पालिकादेखि भने समूहगत प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।
काँग्रेस बाँकेका सभापति किरण कोइरालाले क्रियाशील सदस्यता सूची नआएसम्म आफुले केही गर्न नसक्ने बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया