‘तपाईंलाई कस्तो प्याकेज चाहिन्छ, भन्नुस् म बनाउँछु, तपाईं मेरो सेवाबाहेकको शुल्क आफै राख्नुस्,’ पोखरास्थित बन्जी नेपाल एड्भेन्चर्स प्रा.लिका अध्यक्ष सन्तोष भट्टराईले बुधवार नेपालगन्जका पर्यटन व्यवसायीमाझ प्रस्ताव राख्दै भने, ‘पोखराबाट नेपालगन्जले पनि कमाउन सक्छ ।’

साहसिक खेल बन्जीलाई मुलुककै चर्चित पर्यटकीय गन्तब्य पोखरामा व्यवसायिक ढंगले सञ्चालन शुरु गरेका भट्टराईले त्यसको देशभर बजार खोज्न निस्किएका बेला नेपालगन्जसँग पनि व्यसायिक सम्बन्ध जोड्ने प्रयास गरेका हुन् । नेपालगन्ज–पोखरा हवाइ सम्बन्ध स्थापित भएपछि साहसिक खेल बन्जीलाई नेपालगन्जमा राम्रो बजार बन्न सक्ने सम्भावना प्रति भट्टराई विश्वस्त छन् । ‘खासगरि भारतीय पर्यटकहरुका लागि हामी राम्रो सेवा दिन सक्छौं, त्यसका लागि नेपालगन्जका व्यवसायीले आफ्नो प्याकेज तयार गर्न सक्नुहुन्छ,’ भट्टराईले प्रस्ताव गरे, ‘आउनुस् मिलेर पर्यटनलाई राम्रो व्यवसाय बनाऔं ।’
स्वाभाविक छ, पोखराको प्राकृतिक सौन्दर्यताले विश्वका जो कोहीको पनि मन लोभ्याउँछ । भारतीय पर्यटकहरु नेपालगन्ज– काठमाडौं हुँदै पोखरा जाँदा आउँदा निकै समस्या भोग्दै आएका थिए । भारतीय अधिकांस पर्यटकले पोखरा घुम्न रुचाउँने भएकाले भट्टराईले साहसिक खेल बन्जीले पोखरालाई थप आर्कषक बनाउने विश्वास व्यक्त गर्दै भने, ‘हामीले धेरै ठुलो बजारलाई आकर्षण गर्न सक्छौं ।’ उनले नेपालगन्जमा आफ्नो कर्पाेरेट कार्यालयनै खोलेर आवश्यक प्रचारप्रसार र समन्वय गर्न नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलसँग सहकार्य प्रस्तावसमेत गरे ।
साहसिक पर्यटनको हब बन्दै गरेको पोखरामा आफुले नयाँ प्रोडक्टको शुरुवात गर्न लागेको जानकारी दिंदै बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि. को ब्यवस्थापन टोली देशका विभिन्न मुख्य सहरहरुमा पुगेको छ । अध्यक्ष भट्टराईले नेपालगन्जमा बुधवार आयोजित पत्रकार सम्मेलननै गरेर भने, ‘पोखरा सम्भावना नै सम्भावनाको शहर हो, प्याराग्लाइडिङका लागि उत्कृष्ट ठहरिएको पोखरालाई हामी बन्जी जम्पको पनि हब बनाउन चाहन्छौं ।’

आउनुस् मिलेर पर्यटनलाई राम्रो व्यवसाय बनाऔं ।
सन्तोष भट्टराई, अध्यक्ष
बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि
बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि.ले पोखरा १७, रातोपैरामा बनाएको बन्जीको सफल परीक्षण गरि व्यवसायिक शुरुवात पनि गरिसकेपछि बजार खोज्न थालेको हो । कोरोना महामारीका कारण ढिलो गरि सेवा प्रवाह गर्न सकिएको जानकारी दिंदै बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि.का अध्यक्ष भट्टराईले गत वैशाख १ गतेबाट औपचारिक शुभारम्भ गरिएपनि साउन १५ बाट व्यवसायिक रुपमा अगाडी बढाइएको जानकारी दिए ।
पोखराको लेक साइडबाट करिव तीन किलोमिटर दुरीमा रहेको बन्जीमा साउन महिनायता मंगलवारसम्म मात्रै ७ सय ७२ जनाले सेती नदीमा हाम फालेका (बन्जी) छन् । पोखराका युवा व्यवसायी भट्टराईको नेतृत्वमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेलसहितको समूहले ८ करोड २५ लाख रुपैयाँ लगानीमा बन्जी सञ्चालनमा ल्याएको हो । ‘तपाईंहरु पनि यसलाई यस क्षेत्रमा ल्याउन सक्नुहन्छ,’ भट्टराईले व्यवसायीमाझ भने, ‘प्राविधिक सहयोगका लागि मसँगै हुनेछु ।’
क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको कम्पनीले जनाएको छ । ‘सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृङखला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने हामीले विश्वास लिएका छौं,’ भट्टराईले बुधवार पत्रकारहरुसँग नेपालगन्जमा उत्साहित हुँदै भने, ‘बन्जीको २ वटा प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन्, यो नै दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट पनि हो, साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने छ, साइकल जम्प, बकेट जम्प, टेण्डम जम्प लगायत विशेष जम्प पनि गराइनेछ ।’
पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापा, पर्यटन ब्यवसायीहरु केशव न्यौपाने, ओम मिश्र लगायतसँग अन्तक्र्रियात्मक छलफलपनि गरेका भट्टराईको टोलीले स्थानीय पर्यटकीय स्थानको अवलोकन गरेर सहकार्यका सम्भावनामा कुराकानी गरेको जनाएको छ ।
पत्रकारलाई आधा छुट
बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि.ले साहसिक बन्जी खेलका लागि बाँकेका पत्रकारलाई ५० प्रतिशत छुट दिने सहमति जनाएको छ । बन्जी गर्नका लागि ट्राभल एजेन्सीमार्फत आफुहरुले विशेष प्याकेज प्रदान गरिरहेको कम्पनीले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीसँग उक्त सहमति गरेको हो ।
‘बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि र नेपाल पत्रकार महासंघ बाँकेबीच बुधबार नै सम्झौता गरिएको छ,’ साहसिक बन्जी खेल प्रबद्र्धन गर्नका लागि नेपालगन्ज आएका बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि.का अध्यक्ष सन्तोष भट्टराई र महासंघ अध्यक्ष भण्डारीबिच सम्झौता पत्रमा हस्ताक्षरण भएको जानकारी दिंदै महासंघका शाखा सचिव कमल डांगीले भने, बन्जी नेपाल एड्भेन्चर्स प्रा.लि.को बन्जी जम्प गर्न अन्य ब्यक्तिले ६ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा सम्झौता अनुसार बाँकेका पत्रकारले अब ३ हजार रुपैयाँ मात्र शुल्क तिर्नेछन् ।’
‘पोखरामा बन्जीजम्प गर्न चाहने पत्रकारले महासंघको सिफारिस लिएर गएमा ५० प्रतिशत छुट सुविधा पाउने छन्,’ सचिव कमल डाँगीले जानकारी दिंदै भनेका छन्, ‘यो सम्झौताबाट कार्य ब्यस्तताका बीच विदा मनाउने क्रममा बन्जी खेल्न अभिरुची राख्ने पत्रकारलाई सहयोग त पुग्ने नै छ, साथै पर्यटन प्रबद्र्धनका लागि नेपालगन्ज–पोखराबीच सामिप्यता बढाउन भइरहेका प्रयासलाई प्रोत्साहन गर्ने आशा राखिएको छ ।’ एड्भेन्चर्स प्रा.लि.का अध्यक्ष भट्टराईले पत्रकारका लागि विशेष सहुलियत दिइएको बताए ।