जोखिममा मुटु

नेपालको कुल जनसंख्याको १० प्रतिशतमा मुटुको समस्या पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर करिब १ प्रतिशत मानिसमा जन्मजात मुटुरोग लाग्ने गरेको हो । नेपालमा गरिएको विभिन्न अनुसन्धानबाट पनि यो तथ्य पुष्टि भएको छ । संसारभरि वार्षिक २ करोड मानिसको मृत्युको कारण मुटुरोग बनेको छ । विकासोन्मुख देशका ३० प्रतिशत मानिस मुटुरोगका कारण मर्ने गरेका छन् । संसारमा रोगका कारण हुने कुल मृत्युमध्ये मुटुरोगका कारण सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्छ भने दोस्रोमा क्यान्सर पर्छ ।

मानिसहरूको आनीबानीमा आएको परिवर्तन तथा चिल्लो तथा रसायनयुक्त खानेकुराका कारण मुटुरोगी बढेको चिकित्सकहरूको भनाइ छ । तर नियमित स्वास्थ्य परीक्षण, स्वस्थकर खानेकुराको सेवन तथा दैनिक व्यायामले मुटुरोग कम गर्न सकिने उनीहरूको सुझाव छ । ‘स्वस्थ खानेकुरा तथा नियमित व्यायामले मुटु रोग नियन्त्रण गर्न सकिन्छ’, भेरी अस्पताल नेपालगन्जका चिकित्सक डा. विपिन आचार्य बताउँछन् ।
नेपालमा विगत एक दशकमा मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशु सम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको असामयिक मृत्यु भएको देखिएको छ । मुटुरोग लाग्न रोक्नुभन्दा उपचार गर्न निकै खर्चिलो र पूर्वाधार विकास गर्न पनि निकै कठिन छ । तर, हाल देशका प्रायः ठूला निजीस्तरका अस्पतालमा समेत मुटुरोग उपचार सेवा स्थापित र विस्तार हुँदै गएको छ । देशमै विशेषज्ञ चिकित्सक उत्पादन हुने क्रमले पनि यसको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

करिब १ प्रतिशत मानिसमा जन्मजात नै मुटुरोग लाग्ने गर्छ । वयष्कहरूमा हुने मुटुरोगको भने विभिन्न भागमा विभाजन रहेको पाइन्छ । अहिलेको अवस्थामा मुटुरोगमा पनि बाथज्वरो पहिलो समस्याका रूपमा देखापरेको छ । दोस्रो समस्याका रूपमा जन्मजात देखापर्ने मुटुरोग छ । तेस्रो, क्रोनरी हार्ट डिजिज, जसमा मुटुको नली बन्द हुने र पछि गएर मुटुको शल्यक्रिया नै गर्नुपर्ने अवस्था आउँछ । त्यसबाहेक पनि अन्य मुटुरोगहरूमा मुटुको मांसपेशीको रोग, उच्च रक्तचापलगायत मुटुका रोगहरू छन् । समग्रमा भन्नुपर्दा उच्च रक्तचाप मुटुको रोग नभए पनि यसलाई क्यार्डियोभास्कुलर डिजिज नै भनिने भएकाले यसलाई मुटुरोग नै मान्ने गरिएको छ । रक्तनलीको भित्री भागमा एकप्रकारको बोसो जम्मा भएपछि रक्तनली साँगुरो हुन्छ, जसका कारण मानिसमा रक्तचाप बढ्ने समस्या देखापर्ने गर्छ । उच्च रक्तचापले मुटु तथा रक्तनली दुवैमा प्रभाव पार्ने भएकाले नै यसलाई कार्डियोभास्कुलर डिजिज भनिएको हो ।

करिब १० प्रतिशत मुटुरोगीमध्ये रक्तचापका बिरामीलाई सामान्य रूपमा औषधिको प्रयोग गर्दा रोग निको हुन सक्छ । सामान्यखालका मुटुरोग पनि औषधिको सेवनपश्चात् नै निको हुने गर्छन् । जन्मजात मुटुरोग लागेका मध्ये करिब ९५ प्रतिशत रोगीको अप्रेसन नै गर्नुपर्ने हुन्छ ।

जीवनशैलीका कारण लाग्ने मुटुरोगमा उच्च रक्तचाप एक हो । बढी मात्रामा चिल्लो तथा बोसो भएको खानेकुरा खानाले उच्च रक्तचाप हुने गर्छ । बढी मात्रामा कार्बाेहाइड्रेटयुक्त खानेकुराहरू खानाले पनि मुटुरोगको जोखिम बढ्ने गरेको पाइन्छ । यदि मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा पनि मुटुरोग लाग्ने गर्छ । उच्च रक्तचाप तथा मधुमेह अनियन्त्रित अवस्थामा पुगेमा मुटुरोगको जोखिम बढ्छ । शारीरिक व्यायामको कमी, धूमपान, मद्यपानलगायत कारण पनि मुटुरोग लाग्ने गर्छ । बढी तनावपूर्ण जीवनशैलीका कारण पनि मुटुरोग लाग्ने सम्भावना बढ्छ ।

‘पहिला ५०/६० बर्षपछि मुटुमा समस्या आउँछ भनिन्थ्यो । अहिले ३० बर्ष उमेरका युवामा पनि मुटुरोग देखिएको छ’, डा. आचार्य भन्छन्, ‘मुटुमा समस्या आउने कारण धुम्रपान, मद्यपान, रहनसहन, सुगर र प्रेसर लगायतका कारण हुन् ।’ उनी मुटु जोगाउन चुरोट, खैनी, गुट्का, माद्यक पदार्थ सेवन नगर्न सुझाव दिंदै भन्छन्, ‘मुटु रोगबाट जोगिन शरीरको तौल अनावश्यक बढ्न नदिने, नुन कम खाने, धुम्रपान, मदिरापान गर्नु भएन, हरियो सागपात खानुपर्यो, कम्तिमा दिनमा १ घण्टा हिड्नु पर्दछ ।’

नेपालगन्जको भेरी अस्पतालमा पछिल्ला दिन मुटु रोगको समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालमा बिरामीको चाप सँगै चिकित्सक पनि थप गर्दै लगिएको छ । भेरी अस्तापलमा मुटुको उपचारका लागि सुदृढ हुँदै गएको छ । पहिले दुई जना चिकित्सक रहेकोमा अहिले थप गरिएको छ । हाल चार जना चिकित्सकले भेरी अस्पताल नेपालगन्जमा मुटुरोगीको उपचार गरिरहेका छन् ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बिरामी संख्या बढ्दै जाने देखिएकाले सेवा थप्दै जाने प्रयास भैरहेको जानकारी दिएका छन् । उनले चिकित्सक थप गर्नेदेखि उपकरण तथा संशाधन बढाउने योजनामा रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया