शनिबारको दिन । अरु दिन भन्दा बेग्लै आनन्द आउँछ। हप्तामा छदिन कार्य व्यस्ततामा बित्दा शारीरिक, मानसिक, रूपमा थकान मेट्ने दिन। त्यहि सम्झेर पनि होला शनिबारको दिन छुट्टै आनन्द आउँछ । आनन्दमा रमाउने सोची राख्या थिए मैले पनि । छिटो उठ्न पनि मन लागेको थिएन । झ्यालबाट सूर्यको किरण कोठाभित्र प्रवेश गर्दै थियो भने बिहानको चिसो हावाको स्पर्श अनि चराचुरुङ्गीको आवाज ले मन आनन्दित थियो । शरीरको अङ्ग खुले पनि आखाँ चाही खोल्नै मन थिएन । ‘चिया पाक्योनानी उठ्नु’ दिदीको आवाजले आँखा खुल्यो । कोठाबाट बाल्कुनिमा बसेर चियाको सुर्कोमा मजा लिदै विहानीको आनन्द उठाउँदै थिए । एक्कासी फोनको घन्टी बज्यो, एकोहोरिएको रहेछु झस्किए । हेलो दिदी….. हेलो….. नमस्ते म गीता ।

कालिकोटबाट ……..
निकी छौ क्या दिदी ……….
ठीक छ गीता, तिम्रो के छ ?

दिदी म हस्पिटलमा आएको छु, बा पनि आएका छन्, दिदी राधिका पनि आयाकि छे । क्या गर्नु परन्या हो केही थाहा नाई, नापा सहयोग गरिदिन्छौ कि दिदी … उसको सरल बोली, बोल्न खासै नजाने पनि हरेक कुरा बुझ्छु म । हुन्छ नानी म आउछु, बिदाको दिन आनन्दले बस्ने सोचेको थिएँ तर मेरो आनन्द भनेकोनै सेवा हो । त्यसैले म सबै कुरा छाडेर हस्पिटल तिर लागे । शनिबारको दिन ओपिडी नखुलेको कारण मैले सिधै इमेरजेन्सी तिर लग्ने सोचे ।

रातो कुर्ता, कालो झोला पछाडि बोकेकी, तुना वाला जुत्ता लगाएकि, बुवा र बिरामी दिदीलाई ल्याएर हस्पिटल आएकी, करिव एकदिनको यात्रा गरेर कोहलपुर पुगेकी गीताको दिदी राधिकाको अवस्था चाहिँ अलि नाजुक थियो । के भयो गिता तिम्रो दिदिलाई मैले सोधें? गीताको बुवा चाहिँ केही बोल्नुभएन मात्र छोरीको मुखमा हेर्नुभयो । मैले दोहोर्याएर फेरि सोधे भन्न के भयो, त्यो अनुसारको डाक्टरलाई देखाउनुपर्छ । दिदी क्याभनु हामी ठुल्दिदीको पाठेघरबाट रगत बग्दछ, दीदीलाई उल्टी हुँदो छ,हातखुट्टा सुन्याछन् । यति भन्दैमा मैले धेरै कुरा बुझि सक्या थिए। मैले हत्तपत्त इमर्जेन्सीमा लगेर नसा खोली सलाइन पानी चढाए । इमर्जेन्सीमा उपलब्ध भएका डाक्टरको सहयोगमा रगत केही निकाली प्रयोगशालामा जाँचको लागि पठाएँ । पाठेघरको भिडियो एक्सरे पनि गरियो । त्यो बुवाको छटपटी छोरीलाई के भयो भन्ने । पेटमा घाउ भएको छ त्यसैले उपचार गर्न भनेर आउनु भा को रे ? तर सबै रिपोर्ट आइसकेपछि थाहा भयो कि उनी त गर्भवती भएकी रहिछिन । लौ अब पर्यो फर्साद कसरी भन्ने सही कुरा । बुवालाई लागेको छ छोरीको पेटमा घाउ भएको छ उता छोरी गर्भवती छे । डाक्टरको सल्लाहअनुसार केही दिन हस्पिटलमा भर्ना गर्नुपर्ने भयो । मैले त्यतिबेलासम्म बुवा अनि बैनी कसैलाई केही भनिन र मेरो सहकर्मी साथीहरुलाई पनि केही नभन्नु भनेर आग्रह गरे । प्रस्तुति गृहमा भर्ना गरी साँझ घर फर्के ।

मलाई गीताले करिब तीन महिना अगाडि फोनमा भनेको कुराको सम्झना हुन थाल्यो । भिनाजु इन्डिया दुई वर्षअगाडि गाका हुन्, एक वर्ष हुन लाग्यो न फोन गर्छन् न चिठी नै पठाउँछन् । मान्छे त निका राम्रा हुन , निका सोझा हुन, खै के भो कुन्नी तीनलाई घरमै आका छैनन् । उता नरिवल खेती गर्ने फार्ममा काम गर्थे रे हाम्रा गाउँको एक दाइले भन्थे । अनि के दिदी उता त सारै गुन्ना हुन्छन् रे। कसैले भन्छन अव उ आउँदैन लास पनि भेटिँदैन,कसैले आउँछ भन्छन् । क्या हो क्या हो दिदी बा नि चिन्ता लिइरहन्छन्,दिदीको पनि बच्चा भा नाई । दिदी आजकाल हाम्रैमा छिन् । ओहो ! यो कसरी यस्तो हुन गयो । आमा बच्चा दुवैको ज्यान जोखिममा छ, बच्चा जुन पाठेघर म नबसेर बाहिर नलिमा बसेको छ ।

भोलिपल्ट मेरो बिहानको डिउटी तेहि वार्डमा नै थियो जुन ठाउँमा गीताको दिदी राधिकालाई राखिएको थियो । रातभरि राधिकालाई कुरेर बसेका बुवा अनि बहिनीका आँखा राता थिए । मैले सोधेँ राति आराम गरेनौं ? सँगै रहेको बेडको बिरामीलाई देखाउँदै उताका विरामीलाई गाह्रो भएको थियो, भीड थियो, सुत्ने ठाउँ नभएर हामी बाहिर बेञ्चमा बस्यौ, मच्छेड लाग्या भएर नै निदाउनै सकेनौ दिदी…। गीताले एकै सासमा फेरिस्त सुनाइ। लामो यात्रा गरेको शरीर, रातभरिको अनिद्रा, छोरी बिमारीको चिन्ता, सारै गारो भएको थियो उनीहरुलाई हस्पिटल नजिकैको एउटा होटेलमा भन्दिए कोठा मेरो ड्युटी समयभरि सुत्नलाई । साच्चिकै मलाई पहाडी भेगबाट कोही बिमारी आउनुभयो भने असाध्यै माया लाग्छ । आफ्नोपनको आभाष हुन्छ । किनकि उनीहरु निकै सोझा हुन्छन्,उनीहरुलाई तराईको बारेमा केही थाहा हुँदैन, अझ भन्नुपर्दा कोहीकोही त पहिलो पल्ट मोटर गाडी देख्नुभएको हुन्छ, आफ्नो मानिस तराईमा खासै हुँदैनन । डिउटीको सबै काम सकेर म राधिका सँग गए । उसलाई क्याबिनमा लगे र कुरा गर्ने विचार गरे । आँऊ राधिका म सँग एक छिन । तिमी र म बसौं । लजालु स्वभावकी उ एकछिन अलमलमा परे जस्तो गरी । आउँ न आँउ म तिम्रो दिदि जस्तै नै हो । मैले हातको सुई निकालिदिए । उसले हरियो सलले आफ्नो अनुहार घपक्क पारी । यस्तो गर्मी छ, किन सलले पुरै मुख छोपेको ।

नाई लाज लाग्दो छ मकन उसले लगाउँदै बोली । मैले घरबाट रोटी तरकारी ल्याएको छु दुई बैनी खाम । बल्ल उसको सर्ममा केही कमि आएको महसुस हुँदै छ । तुमि कति निकी रातिको नर्सले त कस्तो गाली गरिन् मकन । उस्को यति बोली फुट्न पनि म सँग अलिक खुल्दै छ भन्ने मैले बुझें र उसलाई झन् आफ्नोपनको आभाष दिलाउन म राती को नर्सलाई गाली गरुँला मेरी बहिनी सँग किन रिसाएको भनेर हौँ । ऊ खित खित परेर हासी । उ हाँस्दा कति सुन्दर देखिएकी । म उसको खुसीलाई केलाउँदै थिए हिजो आउँदा कि राधिका र आजकीमा । अव मैले सिधै प्रश्न सोधे, राधिका श्रीमानका छन् ? इन्डिया उस्ले एक शब्द बोली फेरि टाउको तल भुई तिर हेरी । माथि हेरन अप्ठेरो नमान तिमी आमा बनेकी छौ, था छ कि नाई ? सलको टुप्पोले मुख छोपेर रुन लागि । अब उ म सँग भरोसा माने झै गरी मेरो कुममा आफ्नो शिर राख्दै बोल्न थाली । मेरा श्रीमान् गएको फागुनमा एक वर्ष भो आका छैनन्, फोन पनि गरेका छैनन्, जिन्दा हुन कि मर्दा हुन थाहा छैन । श्रीमानको चिन्तामा डुबेकी म खान, घुम्न, केही राम्रोनलाग्ने, खाली घरमै बस्न मन लाग्ने हुन थाल्यो। डिँगा बाच्छा पनि भोकै मर्न लागे । गाउँकै छिमेकी दाई आएर मलाई सम्झाउने बुझाउने गर्थ्ये। डिँगा बाच्छालाई पनि पानी गाँस हाल्दिने गर्थे । त्यस्तै गर्दागर्दै उनी घरकै परिवार जस्तो भए । उनी मसँग हासो ठट्टा गर्थे, मलाई गाह्रो साह्रोमा रुपैयाँ पनि दिने गर्थे, मेलापातमा सहयोग गर्थे । उनी गाउँका अलि जान्‍नेपढेका थिए , हेर्दा राम्रा पनि थिए । एकदिन मकन साह्रै जोरो आइगो उनी आएर खोई के ओक्‍तो दिए, मलाई केही सन्चो भयो । म एक्लै घरमा भएर छोडी जान सकेनन्। त्यस दिन उनी हाम्रै घरमा बसे। राति मकन के भो के दिदी छट्पटाउन थालेछु बुढाको नाम लिन थालेछु। अनि उनि सँग जे नहुनु पर्ने थियो त्यहि हुन गएछ। पछि उनी आफै माफि माग्न थाले मकन।अनि बल्ल पो मैले धेरै ठूलो गल्ती गरेछु भन्‍ने लाग्यो । उस्ले यी कुराहरु सरसर्ति रुँदै भन्दै थि । म मर्छु भनि लेक गए दिदी तर मर्न सकिन। बाले के भन्लान्, श्रीमानले के भन्लान्, बैनी हरु ले के भन्लान्, समाजले के भन्लान्, दिदी मैले ठूलो पाप गरे मलाई मारी देउ । उ झन जोड जोडले रुन थाली।मैले उस्लाई सम्झाउन थाले, तिम्रा बा अनि बैनी लाई मेरो जिम्मामा छोड।उस्ले हुन्छ दिदि भनी एक आज्ञाकारी छात्र झै गरी स्विकार गरी । 

राधिकाको बा अनि बहिनीलाई सम्झाउन निकै गाह्रो भयो । तपाईकी छोरी बाँचेकी छे त्यसैमा खुशी हुनु, उसको यस्तो अवस्था हुनुमा तपाईंको पनि दोष छ ।  सकिन्छ भेटिन्छ भने ज्वाइलाई खोजी गर्नु। यदि भेटिएननभने अर्कोलाई लायक केटो हेरी बिहे गरिदिनु । यस्तो खाउँखाउँ र लाउँलाउँ भन्ने २२/२३ वर्षको उमेरमा छोरीलाई मानसिक रोगी नबनाउनुहोस् l उ बचुन्जेल खुसीका साथ बाच्नु पर्यो। मेरो कुरालाई बुझेछन् क्‍या हो सायद बुढा अब चुप लागे । करिब हस्पिटलमा शल्यक्रिया गरेको ८/९ दिनमा डाक्टरको सल्लाहले निको भई आज राधिका गिता अनि उनको बा  घर गए   ।

 यो घटनाले मेरो मन तरङ्गित बनाएको छ।  तराईको भा को भए यिनी सामान्य मानिन सक्थे र यसको सजिलै व्यवस्थापन गर्न सकिन्थ्यो । एउटा बयस्क अवस्थाको युवती केही समयमा नै उस्को श्रीमान बेपत्ता हुनु।श्रीमानको मायाको महसुस हुन नपाउनु, गाउँक भद्र भलाद्‍मी पढेलेखेको भनाउँदाहरू सहयोगको बहानामा शारीरिक स्वार्थ लिई   बीचैमा अलपत्र पारी कति नारीलाई आत्महत्या गर्न बाध्य बनाएका छन । त्यसैले छोरी लक्ष्मी हुन, साथी हुन्, देवी हुन, श्रीमती हुन् , बुहारी हुन्। उनीसँग मित्रवत् व्यवहार राखी बुवा आमाले उसको मनको कुरा बुझ्न सक्नु पर्छ। त्यसैले त छोरी आमा हुन् यो सुन्दर संसारको सृष्टिकर्ता  हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया