कसरी जुध्दैछन् कोरोनासँग व्यवसायी र उठ्दैछ आर्थिक क्षेत्र ?

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले आज शनिवार आफ्नो तेस्रो जिल्ला अधिवेशन गर्दैछ । निजी क्षेत्रलाई परेका अप्ठ्यारा सुनुवाईमा सरकारी उदासिनताका गुनासा बारम्बार आइरहन्छन् । कोरोना महामारीले थलिएका बेला व्यवसायिक क्षेत्र झनै धराशयी छ । जिल्लामैं दुई हजारबढी व्यापारी संगठित भएको भनिएको संगठनले यतिबेला के गरिरहेको छ ? कसरी जुध्दैछन् कोरोनासँग व्यवसायी र उठ्दैछ आर्थिक क्षेत्र ? उद्योगी व्यवसायीहरुको हितमा काम गर्न संस्था विचारका आधारमा विभाजित हुँदा व्यवसायिक मुद्दा कमजोर हुँदैनन् ? हामीले बेलाबेलामा व्यवसायीहरु माझ बहस र अन्तक्र्रिया गर्दै आएका छौं । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बाँके जिल्ला अधिवेशनलाई लक्षित गरेर दैनिक नेपालगन्जले आजको सम्यक संवाद तयार गरेको छ । विषय केन्द्रीत बहसमा अधिकाँश व्यवसायी अगुवाहरु राज्यको नीतिसँग असन्तुष्ट देखिए । सीमासँग जोडिएको नेपालगन्ज बजार भन्सार नियमनको अभाव र खुला सिमानाले आक्रान्त भएको कुरामा सबैको एकमत पाइयो । त्यसविरुद्धको उपचार के त ?

व्यवसायिक अप्ठ्याराहरुलाई समाधान गर्न संगठन

बसन्त लामिछाने
अध्यक्ष
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बाँके

२०६४ सालमा यो संगठन दर्ता भएको संस्था हो । नेपालमा भएका व्यवसायिक संस्थाहरु नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, उद्योग वाणिज्य महासंघ, च्याम्बर अफ कमर्श, उद्योग परिसंघ यस सँगसँगै यो एउटै अधिकार भएको, एउटै व्यवसायीको हित गर्ने संस्था हो । नेपाल राष्ट्र उद्योग व्यापार संघ पनि यसमा भूमिका खेल्छ ।

२०६४ मा संस्था हुँदा संस्थापक अध्यक्ष ऋषि पोखरेल हुनुहुन्थ्यो । र, संगठनका गतिविधि सुस्तता आयो । केहीपनि अगाडि बढ्न सकेन । त्यसपछि दोस्रो अधिवेशनमा हाम्रो कार्यसमिति बन्यो र विभिन्न आरोहअवरोह बीच पनि हामीले कार्यालय न्यूरोडमा व्यवस्थित तरिकाले सञ्चालन गर्यौं । मेरो कार्यकाल आएपछि संगठनलाई गति प्रदान गरे । साथीहरुलाई विभिन्न विभाग बनाएर जिम्मेवारी दिए । तथापि अलिकति कोरोना महामारी र संगठन मर्ज हुने सवालले संगठनमा काम रोकियो । तर, मेरो कार्यसमितिका साथीहरुले सक्रिय भूमिका खेल्नुभयो । देशले पछ्याइरहेको समावेशितालाई हामीले पछि पछ्यायौं । आठ वटै पालिकामा संगठन बनाएका छौं । आठ वटै पालिकामा सक्रिय रुपले साथीहरुलाई लगाएका छौं । हाम्रो कार्यकाल सकिएको छ । दोस्रो कोरोनाको लहर नभएको भए हामीले यसअघि नै अधिवेशन गरिसक्थ्यौं ।

अब कोरोनाको दोस्रो लहर नियन्त्रणमा रहेको छ । त्यसैले क्रियाशिलता, बैधानिकताको आधारमा हामीले अघि बढ्नु पर्छ भनेर हामीले अधिवेशन तय गरेका छौं । अधिवेशन शनिबार भव्य र सभ्य तरिकाले गर्नेछौं । अधिवेशनले नयाँ र पुराना साथी मिलाएर नयाँ कार्यसमिति सहमतिमै बनाउनेछ । सहमति भएन भने प्रजातान्त्रिक बाटो खुलेको हुन्छ ।

संगठन गठित भएपछि हामीले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएका छौं । विगतमा होलियामा डुबान हुँदा एक सय बोरा चामल, दाल वितरण गरेका छौं । पर्यटन बोर्डको कार्यक्रमलाई सफल पार्न, रक्तदान कार्यक्रम सफल पार्न हामीले सामाजिक उत्तरदायित्व बहन गरेका छौं ।

अहिले पनि व्यवसायिक, व्यवसायिक अप्ठ्याराहरुलाई समाधान गर्न हामी लागि रहेको छौं । अब अधिवेशनमा यस संगठनमा आबद्ध भएका सदस्यहरु, अन्य संघ, संगठनका साथीहरु जुन हाम्रो विधानमा अटाउन सक्नुहुन्छ, विधानलाई मान्न सक्नुहुन्छ उहाँहरुलाई यो संस्थाप्रति विश्वास राखिदिनुहुन, यसलाई अगाडि बढाउनु हुन अनुरोध गर्दछु ।

अब नेपाली दाजुभाईलाई दक्ष बनाएर काममा लगाउने

कस्मिरा खातुन
नगर अध्यक्ष
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन
नेपालगन्ज नगर कमिटि

नगरमा संगठन र व्यवसायीको स्थिति कस्तो छ ?
मैले संगठनको नेतृत्व भर्खरै सम्हालेको हो । तर, म दशकदेखि उद्योग, व्यवसायमा सक्रिय रहेको छु । मैले आफु सम्बद्ध व्यवसायीका पीडा र मर्का बुझेको छु । र, अन्य व्यवसायिक क्षेत्रको समस्या पनि बुझ्दै छु ।
उद्योगी, व्यवसायीलाई तत्काल देखिएको समस्या कोभिडका कारण खस्किएको व्यवसाय हो । तर, व्यवसायी अहिले दोस्रो लहर पछि सम्हालिने प्रयासमा हुनुहुन्छ । उद्योग, व्यवसायीलाई धेरै गाह्रो छ । मागको कमी हुँदा तथा सामाजिक सुरक्षा मापदण्ड पालना गर्नुपर्दा उपलब्ध कामदारलाई काम दिन सकेनौं । लामो समय त उद्योग, कलकारखाना, व्यवसाय नै बन्द गर्नुपर्यो ।

कोभिड बाहेकका अन्य समस्याहरु पनि रहेका छन् । उद्योगी, व्यवसायीका धेरै समस्या रहने गर्दछन्, ती समस्यालाई सम्बोधन गर्न एकत्रित भएर आवाज उठाउन नै हामी संगठित रुपमा अघि बढेका छौं । हाम्रो संगठनले त्यसमा पहल पनि गर्दै आएको छ र गर्ने पनि छ ।
उद्योग क्षेत्र तिर काम गरेको १५ बर्ष भयो । उद्योगको प्रमुख समस्या कोभिडले सिर्जना गरेको समस्या बाहेक दक्ष कामदारको समस्या हो । हाम्रो यहाँ दक्ष कामदार उपलब्ध नहुँदा भारतबाट ल्याउनु पर्ने बाध्यता छ । कोभिडका बेला भारतबाट दक्ष कामदार ल्याएर काम गराउन सकिएन । यहाँका कामदार दक्ष नहुँदा समस्या हुने गरेको हो ।

संगठनले अब दक्ष कामदार उत्पादनमा भूमिका खेल्नेछ । यही उत्पादन गरिने वस्तुका लागि हाम्रै नेपाली दाजुभाईलाई दक्ष बनाएर काममा लगाउनका लागि हाम्रो संगठनले कार्ययोजना बनाएर भूमिका खेल्नेछ ।

शिक्षा प्रभावित हुँदा हाम्रो व्यवसाय पनि प्रभावित

मीना डांगी, नगर उपाध्यक्ष
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन

हाम्रो संगठनमा अहिले ५ सय हाराहारीमा सदस्य रहेका छौं । दुई बर्ष यता कोभिडले हामी धेरै थलिएका छौं । उद्योग, व्यापार दुवैमा कोभिडले असर पार्यो । व्यवसायीलाई उकास्न हाम्रो संगठन र सरकारले गर्नुपर्ने धेरै कामहरु रहेका छन् । सरकारले विद्युत महसुल, कर छुट, ब्याज छुट भन्ने कुरा गर्यो । तर, केही पनि भएको हामीले महसुस गरेका छैनौं । साना व्यवसायीको हकहित सरकारले सोंच्दै सोचेको अवस्था छैन । अब हामीले साना, मझौला र ठूलो व्यवसायीहरुले सोचेर एउटा धारणा बनाउन आवश्यक छ । हाम्रो संगठनले अब त्यो गर्नेछ । र, हाम्रा धेरै सवाल छुटेका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको जिल्लाको सचिव छु, म । स्कुलको परिवेश हेर्दाहेर्दै दुई बर्ष कोभिडले प्रभावित गर्यो । त्यसको प्रत्यक्ष असर पुस्तक तथा स्टेशनरी व्यवसायीमा परेको छ । विद्यार्थी र पुस्तक तथा स्टेशनरी व्यवसाय जोडिएको छ । विद्यार्थीको शिक्षा प्रभावित हुँदा हाम्रो व्यवसाय पनि प्रभावित भएको छ । विद्यार्थीको भविष्य अन्योल हुँदा हाम्रो पनि भविष्य अन्योल हुन्छ । तर, विगतमा कोभिडका कारण भयो पनि । यसका विषयमा हाम्रो संगठनले धेरै मुद्दा उठाउने छ । र, कति गर्न सक्छौं हेर्दै जाउँ ।

व्यवसायिक मुद्दा उठान गर्न सकेका छैनन्

शेषकान्त शर्मा, केन्द्रीय सदस्य
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन

व्यवसायीका समस्याका बारेमा २०४४ सालदेखि लड्दै आएको छु । मैले २०४० बाट व्यापार गर्न थालेको हो । बर्दिया, कोहलपुरमा रहेका व्यवसायिक संगठनको कार्यसमितिमा रहँदै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेमा आइपुगेको छु ।
व्यवसायीका समस्या हल गर्न सकिन्छ भनेर लागि परेका छौं । केही न केही त सामान्य रुपमा गरेका पनि छौं । हामीले एउटा सोच्छौं, सरकारको पोलिसी अर्को हुन्छ, हामीले भनेकै जस्तो हुन सकेका छैनौं । तर, केही न कही विषय उठाउँदा केही न केही परिणाम भने आएको छ ।

अहिले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेको तेस्रो अधिवेशन हुँदैछ । यहाँ अन्य व्यवसायी आबद्ध धेरै संघ, संस्था छन्, व्यवसायिक हितका लागि । हामी केही गर्न सकिन्छ भनेर हामी जुर्मुराएका छौं ।म केन्द्रीय सदस्य भैसकेको मान्छे पछि जिल्लामा केही गर्नुपर्दछ, केन्द्रमा पुगेपछि जिल्लाको समस्या बुझ्न पनि जिल्लादेखि नगरसम्म हामीले कार्यसमितिमा प्रतिनिधित्व गरेका छौं । हाम्रा यहाँका समस्या बुझेर केन्द्र सम्म पुर्याउनका लागि हामी तलका मुद्दा बुझेर माथि पुर्याउने गरेका छौं । कोहलपुरका हकमा पनि जिल्ला प्रशासनमा संगठन दर्ता गरेर काम गरिरहेका छौं ।

कोहलपुरको अवस्था कस्तो छ यो बेला ?
कोहलपुर पनि कोरोनाको प्रभावबाट बच्न सकेन । दुई बर्ष कोरोनाले उद्योग, व्यवसायलाई नराम्ररी प्रभावित गर्यो । अहिले केही उठ्न सक्छ कि भन्ने कुरा हो । कोहलपुरमा नयाँ उद्गम व्यापारीहरु छन् । तिनीहरुलाई समेटेर जानुपर्छ, तिनका मुद्दा सम्बोधन गरेर, हल गरेर अगाडि बढ्नु पर्छ । त्यो भयो भने कोहलपुरको व्यवसायिक क्षेत्र उठ्न सक्छ ।
हाल ठोस रुपमा कसैले पनि व्यवसायिक मुद्दा उठान गर्न सकेका छैनन् । भनिन्छ, कोरोनाका बेला ब्याज घटाउने । तर, अहिले बैंकले ब्याज बढाइरहेको छ । कर छुट दिने भनिन्छ, कर छुट कस्ले पाउने, कस्ले नपाउने थाहा नै छैन सबै व्यवसायीलाई । सरकारले एउटा कुरा ल्याउँछ तर त्यो तल कार्यान्वयन नै हुँदैन । त्यसकारण बाँके जिल्लामा केही गर्नु पर्दछ भनेर आठ वटै स्थानीय तहमा व्यवसायीलाई संगठित गरेका छौं ।

अर्थमन्त्रीसँग पनि भेटेका छौं

टंक धामी
उपाध्यक्ष
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन

अहिले व्यवसायीहरुको निकै ठूलो समस्या रहेको छ । कोभिडले गर्दा थिलोथिलो भएको व्यवसाय उठ्न सकिरहेको छैनन् । ब्याजका समस्या छन् । हालै हामी नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको केन्द्रीय टिमले अर्थमन्त्रीसँग पनि भेटेका छौं । त्यसक्रममा सहुलियत ऋणका बारेमा बैंकले उपलब्ध नगराएको अवस्थाबारे हामीले अर्थमन्त्रीज्यूलाई जानकारी गराएका थियौं । कसमेकम आठ वटै पालिकाबाट तीन÷चार सय फाइल तयार गरेर यहाँ राष्ट्र बैंक तथा सिधै अर्थ मन्त्रालयलाई जानकारी गराउन अर्थमन्त्री ज्यूले भन्नु भएको छ । त्यसको सुनुवाई हुन्छ भन्ने आश्वासन पाएका छौं । ब्याज बढेको कुरामा अर्थ मन्त्रालय र राष्ट्र बैंकले ब्याज नबढाउन निर्देशन गरिसकेको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले व्यवसायीका समस्या सम्बोधन गराउन पश्चिमको नेतृत्व गर्ने बाँके जिल्लामा केही भए त्यो हावा अन्य जिल्लामा पनि पुग्छ । हाम्रो संगठनले पर्यटकीय क्षेत्र, उद्योग, वाणिज्य, व्यवसाय क्षेत्रका कुरा गर्दछ । त्यसका लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन एग्रेसिभ ढंगले लाग्नेछ ।

नयाँ नीति आउँदा व्यवसायीलाई प्रशिक्षण दिन आवश्यक

खलील अली
उप–महासचिव
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँके

नेपाल सरकारको नीति वास्तवमा भन्ने हो भने अचम्मको रहेको छ । कष्टमेटिक व्यवसायीको मुद्दा अहिलेसम्म राष्ट्रिय स्तरमा उठेको छैन । यद्यपि, कष्टमेटिक व्यवसायीले कर तिरेर ठूलो योगदान गरिरहेका छन् । सानो व्यवसाय भएर हो कि के भएर हो यो सरकारको नजरमा परेको छैन । नेपालमा कष्टमेटिकका ठूला उद्योगहरु पनि रहेका छन् । तर पनि सानै व्यवसायका रुपमा सरकारले बुझिरहेको छ ।

सरकारले साना तथा मझौला व्यवसायीहरुलाई अलिकति प्रोत्साहित गर्नुपर्दछ । तर, सरकारका नयाँ नीति नियमले व्यवसाय गर्न चुनौति हुने गरेको छ । व्यवसायीहरु पढेलेखेका नहुन पनि सक्छ । नयाँ नीतिहरुबारे जानकारी नहुुँदा समस्या हुने गर्दछन् । सरकारले भुगोल सुहाउँदो नीति नियम बनाउनु पर्दछ । नयाँ नीति आउँदा व्यवसायीलाई प्रशिक्षण दिन आवश्यक रहेको छ ।

अहिले कोरोनाका कारण साना तथा ठुला व्यवसाय संकटकालीन अवस्थामा छन् । यस अवस्थामा सरकारले केही नीति पनि ल्याएको छ, साना तथा मझौला व्यवसायीका लागि । तर, त्यो लक्षित वर्गसम्म पुगेको छैन । यहाँ जसको हालीमुहाली छ, उसैले मात्रै सहुलियत पाउने गरेका छन् । पहुँचवाला एकै व्यक्तिले परिवारका सदस्यका नाममा फर्म दर्ता गरेर पनि सहुलियत ऋण लिने गर्दछन् । तर, त्यो पाउनु पर्ने लक्षित वर्गसम्म पुग्दैन । ठूला व्यवसायीको हातमा मात्रै सरकारले दिने सहुलियत पुग्ने गरेको छ ।

त्यसैले साना तथा मझौला व्यवसायीको हितका लागि, उनीहरुको संरक्षण र सम्बद्र्धनका लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले जोडदार माग उठाइरहेको छ, उठाउने छ ।

खुला सिमाना ठुलो समस्या

चित्र बहादुर डांगी
वरिष्ठ सदस्य

व्यवस्था परिवर्तन भयो । तर, जनजीविकाको अवस्था परिवर्तन भएन । म व्यापार सेक्टरमा लागें । र, व्यापारीका पीर मर्का के छन् भन्ने मैले बुझेको छु । म व्यवसायीका समस्या समाधानका लागि अनवरत संघर्षरत् छु ।

ब्यवस्था परिवर्तन भएपछि दलाल, पूँजीपति वर्गबाट सञ्चालित व्यापार संगठनबाट नेपाली जनताको, नेपाली व्यापारीको स्वाधिनतामा आँच आउने भएकाले त्यसको प्रतिस्पर्धा गर्दै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्नका निमित्त र स्वाधिन अर्थतन्त्र निर्माणका निम्ति नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको निर्माण भएको हो । यो २०६४ सालमा सबैभन्दा कान्छो संगठनका रुपमा आएको हो । यसको विकास र बिस्तारका लागि हामी व्यवसायी साथीहरु अनवरत रुपमा लागिरहेको छ । र, यसको पक्षपोषण गर्ने कुनै पनि सरकारहरु देखेका छैनौं । किनकी उनीहरु कमिशन र दलालको पक्षपोषण गर्दैछन् । हामी के भन्छौं भने देशको मेरुदण्ड हो, व्यापार, व्यवसाय हो । त्यसका लागि हाम्रा कुरा सुन्न हामीले भनिरहेका छौं ।

नेपालगन्जको सन्दर्भमा व्यापार, व्यवसायको कुरा गर्ने हो भने दुई बर्ष मात्रै हो त्यो । खास त विधिको कुरा हो । नेपालगन्ज भारतसँग सिमा जोडिएको क्षेत्र हो । त्यसले गर्दा भारतले हाम्रा उद्योगी, व्यवसायीलाई धराशयी बनाउन हर प्रकारको रोल खेलेको हुन्छ । हाम्रो राज्यले पनि के गरेको छ भने त्यहाँबाट भन्सार छलेर ल्याउनेलाई अलिकति छलेर ल्याउन दिने, भन्सार महंगो गर्ने । यसले कर तिरेर व्यवसाय गर्ने नेपालगन्जका व्यवसायीलाई मर्का परेको छ भने अर्कोतिर नेपाललाई पनि राजश्व विहीन बनाएको छ ।

भन्सार छलिनै हाम्रा समस्या

दधिराम सापकोटा
कपडा व्यवसायी

खुला सिमानाबाट हुने भन्सार छलीको सबैभन्दा ठूलो समस्या कपडा व्यवसायीले नै भोग्नु परिरहेको छ । साडी, कुर्ता सुरुवाल भन्सार तिरेर ल्याउने २ सय ५० देखि ३ सय सम्म पर्दछ । क्यारिङमा जम्मा १ सय पर्दछ । त्यसैले भन्सार छलेर ल्याउने सँग भन्सार तिरेर कारोबार गर्ने व्यवसायीलाई गाह्रो रहेको छ ।

पहुँचका भरमा काम

कल्पना शर्मा
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँके

हामीले दुई नम्बरको गरेर बेच्न नसक्ने, एक नम्बरको बनाउँदा बजारमा प्रतिस्पर्धा गर्न नसक्ने । बोर्डर नजिक हुँदा यो समस्या भएको हो ।
संगठनको कुरा गर्दा, केन्द्रले गर्नुपर्ने काम गरिरहेको छ, नीति पनि बनाएको छ । ब्याज र करमा हामीले सरकारसँग सहुलियतको आशा गरेका छौं ।

नेपालगन्जका कुरा गर्दा व्यवसायीहरुको छाता संगठन भनेपनि नेपालगन्ज उद्योग वाणिज्य संघ आफुलाई सुरक्षित गर्न बनाइएको संगठन हो जस्तो लाग्छ । नेपालगन्ज उद्योग वाणिज्य संघले ठूला, साना व्यवसायीलाई समान रुपमा नहेरेको जस्तो लाग्छ । नेपालगन्जका ठूला व्यवसायीहरुको पहुँच भएकाले थुप्रै छुट पाउनु हुन्छ, हरेक ठाउँमा छिटो काम हुन्छ । नेपालगन्ज भन्सारमै पनि ठूला व्यवसायीले सामान ल्याउँदा बोलिदैन । क्यारिङ्ग गर्नेहरुको सामान तत्कालै भित्रिन्छ । तर, आम व्यवसायीहरु हप्तौ देखि लाइनमा बस्दा पनि भन्सार गर्न पाउँदैन । राज्यलाई कर तिरेर सामान ल्याउन पनि साना व्यवसायीले सास्ती ब्यहोर्नु परिरहेको अवस्था छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले साना, ठूला व्यवसायीलाई समेटेर अगाडि बढेको छ । व्यवसायी देशको राजनीतिक अवस्थाले पनि प्रभावित हुने गरेको छ । अब नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन साना, ठूला सबै व्यवसायीलाई समान रुपमा लिएर अगाडि बढ्नेछ ।

संगठनमा नेता बन्न मात्रै जाने ?

मन्दिरा पाण्डे
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँके

हरेक क्षेत्रमा संगठन बनाइरहेका हुन्छन् । संगठन के को लागि भन्ने स्पष्ट हुनुपर्छ । संगठनमा नेता बन्न मात्रै जाने गरेको देखिन्छ । म उद्योग वाणिज्य संघमा पनि प्रतिनिधित्व गरिरहेको छु । उद्योग वाणिज्य संघ देशभरी नै रहेको छ । हाम्रो संगठन पनि देशभरी छ । उद्योग वाणिज्य संघले साझा तथा मझौला उद्योगी, व्यवसायीको आवाज कहिल्यै पनि उठाएको देख्दिन ।

उद्योग, वाणिज्य संघको पदाधिकारी सम्म पुग्न करोडौं खर्च लाग्दो रहेछ । साना, मझौला व्यवसायी त्यहाँ कहिले पुग्ने ? साना, मझौला व्यवसायीको समस्या ठूला व्यवसायीले कसरी बुझ्छन् ? हामीले चाहीँ समग्रमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन देशभरी स्थापना गर्ने र साना, मझौला व्यापारीको हकहितको लागि र माथि उठाउनका लागि संगठित भएका हौं ।

कतिपय महिला अझै पनि घरबाट बाहिर ननिस्केको अवस्था छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले महिलाहरुलाई अगाडि ल्याएको अवस्था छ । हामीले महिलाहरुलाई तालिम दिएका छौं । तालिम पश्चात सिप सिकेर आत्मनिर्भर बनाउने प्रयास भैरहेको छ । उनीहरुका उत्पादनले बजार मूल्य उचित पाउन् भनेर हामी लागिरहेको अवस्था छ । उद्योग, वाणिज्य संघमा पनि यसबारेमा कुरा उठाइरहेका हुन्छौं । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले पनि त्यसमा पहल गर्नेछ, गरिरहेको छ ।

उद्योग वाणिज्य संघ व्यक्तिमूखि

तारा रोकाय
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन

व्यवसायीहरुको फर्म आफैले दर्ता गराएर चुनाव उठ्ने जित्ने प्रवृत्ति धेरै छ । त्यस्तो संस्थामा व्यापारीहरुलाई माया पनि हुँदैन । जबसम्म आफ्नो लगानी हुँदैन, तबसम्म त्यहाँ माया पनि हुँदैन । तीन बर्षसम्म रिन्यु समेत नगरी बस्नुहुन्छ । जब निर्वाचन आउँछ अर्काले दर्ता गराइदिने हुनाले उद्योग वाणिज्य संघ व्यक्तिमूखि भएको देखिन्छ । हाम्रो नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमा आफ्नै इच्छाले सांगठनिक हिसाबले लागेको देखिन्छ । संगठनमा साना व्यवसायीको पनि प्रतिनिधित्व रहेको छ ।संगठनमा ठूला भन्दा साना व्यापारी बढी छन् ।
उद्योग वाणिज्य संघमा साना व्यापारी हटाइएका छन् । ठूला व्यापारीमात्रै आबद्ध रहेका छन् । यसले गर्दा व्यापारीहरुका लागि सरोकारवाला निकायमा गएर आवाज उठाउने संगठनको अति आवश्यक देखिएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले अब त्यो भूमिका निर्वाह गर्नेछ । साना, ठूला दुवै व्यवसायीलाई समेटेर अगाडि बढ्नेछ ।

भन्सारमा कुनै नीति, नियम छैन, दादागिरी छ

मो. सरिफ बागवान
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन

सबै व्यवसाय जस्तो साइकल व्यवसाय क्षेत्रमा पनि समस्या छ । धराशयी छ, भन्सारका कारण । भन्सारमा कुनै नीति, नियम छैन, दादागिरी छ । मान्छेको मुख हेरेर काम गर्नु भएन । इमान्दारितापूर्वक काम गर्नुपर्छ सबैले । भन्सारमा सुरक्षाकर्मीको काम हो गलत सामान नआउन् भन्ने । भन्सार गर्ने सामानलाई भन्सार पठाउने । भन्सार प्रतिनिधिले भन्सार गर्ने हुन् । सञ्चारकर्मीले पनि भन्सारमा भइरहेको गलत काम निगरानी गर्नुपर्दछ ।

मानिस भारत घुम्न वा कुनै कामले गए फर्किंदा कुनै पनि सामान नलिई आउने कुरा हुँदैन । भन्सार गर्न व्यक्तिगत मानिससँग पनि स्थायी लेखा नम्बर मागिन्छ । भन्सार तिर्ने बेलामा लिन आनाकानी गरिन्छ । किन सजिलो तरिकाबाट भन्सार लिएर नछाड्ने ?
व्यवसायिक संगठन बनेर मात्रै राखिएको छ । हामी कोठाभित्र मात्रै छौं, बाहिर छैनौं । बाहिर देखाउनलाई जोश, जाँगर र इमान्दार मान्छे चाहिन्छ ।

महासंघलाई अब जवाफ दिने हो

विष्णु खनाल, महासचिव
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन
कोहलपुर नगर अध्यक्ष

हाम्रो संगठन अब महासंघ हुँदैछ । विधान महासंघका हिसाबले बनिसकेको छ । महासंघको केन्द्रीय अधिवेशन बाँकेमै हुने भन्ने निर्णय पनि भैसकेको छ । त्यसअघि यो जिल्ला अधिवेशन हुन्छ ।

बाँकेका आठ वटै स्थानीय तहमा संगठन बिस्तार त भैसकेको छ । यी गठित कमिटिको आवश्यकता र जिम्मेवारीको प्रश्न अहिलेको हो । ७ वटा जति व्यवसायिक संगठन बनिसकेका छन् । उद्योग वाणिज्य महासंघ बनेको ५४ बर्ष भैसक्यो । हाम्रो महासंघ अब यो बर्षबाट खुल्ने हो । त्यसको र यसको उद्देश्य फरक छ । उद्योग वाणिज्य महासंघले गर्न नसकेका काम अब हामी महासंघ भएपछि गर्ने हो ।
उद्योग, व्यवसायीको भावना कुल्चेर हिडेको त्यो महासंघलाई अब हामीले जवाफ दिने हो । र, हिजो महासंघमा कस्ता व्यक्तिले नेतृत्व गरे भन्ने छर्लङ्गै छ । हेर्नुस्, महासंघमा हिजोका दिनमा नेतृत्व गरेकाहरुको क्यारिअर के हो भन्ने दुनियाँलाई थाहा छ ।
महासंघमा पैसा तिरेर फर्म दर्ता गरेर भोट जम्मा गर्दै नेता बनेको पाइन्छ । जसले आफ्नो सदस्यता नविकरण गर्न सक्दैन त्यसले अधिकार खोज्न पनि आवश्यक छैन । हाम्रो संगठनमा त्यो हुँदैन । हाम्रो उद्देश्य भनेको राष्ट्रिय अर्थनीतिलाई अवलम्वन गर्नु हो । त्यहाँ विदेशी दलालहरुको पूँजी भएको मान्छेहरु जाने हो । यहाँ राष्ट्रिय पूँजी भएका मानिसहरु आउने हो । पूँजी सानो र ठूलो भन्ने केही हुँदैन, सबैलाई समेटिन्छ ।

हाम्रो विधान अनुसार जो कोही पनि हाम्रो सदस्यता लिन सक्छन् । हाम्रो विधानलाई मान्नु पर्यो । हाम्रो विधान मानेर सपथ खानेलाई हामी सदस्यता दिन्छौं । हाम्रो संगठन यही हो र अब यसलाई नै अगाडि बढाउने हो ।
साथीहरु खटेर आठ वटै स्थानीय तहमा व्यवसायी संगठित गर्नुभएको छ । यो संगठन निर्वाचन जिताउन मात्रै होइन, हाम्रो संगठनको उद्देश्य पूर्तिका लागि पनि हो । अब हरेक ठाउँमा भुगोल अनुसार आफ्नै विधान बनाएर दर्ता गर्ने र हाम्रो महासंघमा गएर आबद्ध हुनेछ । नाम पनि ठाउँ अनुसार फरक हुनसक्छ संगठनको ।

सुधार एक ठाउँमा गरेर हुँदैन

मुरलीधर शर्मा, वरिष्ठ व्यवसायी

वाणिज्य संघमा वाणिज्यका लागि र उद्योगका लागि उद्योगतर्फबाट उपाध्यक्ष चुनिएर गएका हुन्छन् । अध्यक्षले बोलेको कुरालाई सबैले सहयोग, सपोर्ट गर्नुपर्दछ । हामी नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमा छौं, उद्योग वाणिज्य संघमा पनि छौं । यताको उता, उताको यता जानुहुँदैन भन्नु हुँदैन । हामी व्यापारी हौं, सबैसँग सम्पर्क स्थापित गर्नुपर्दछ । पान पसलदेखि उद्योगसम्म हामीले सम्पर्क राख्नु पर्दछ ।
वाणिज्य संघमा उपाध्यक्षले किन काम नगर्ने ? १० वटा त समिति बनेको हुन्छ, संयोजक र सदस्य हुन्छ । यति धेरै संगठन छन् । सबै मिलेर लाग्यो भने व्यवसायीको समस्या नै बाँकी रहँदैन । तर, कसैलाई काम गर्न दिइएको छैन त कसैले काम गर्न चाहेको छैन । कोही नामका लागि मात्रै वाणिज्य संघमा गएका छन् ।
सुधार एक ठाउँमा गरेर हुँदैन । माथिदेखि तलसम्म गर्नुपर्दछ । पहिलो पनि थियो समस्या । तर, त्यतिखेर सानो र थोरै हुन्थ्यो । अहिले देखादेखि पैसा लिइन्छ ।

व्यवसायिक संगठनमा गुटबन्दी र राजनीति

दिपेन्द्र विष्ट
प्रदेश सदस्य
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन

वास्तवमा हाम्रा व्यवसायिक संगठनले आफ्नो समस्या उजागर गर्न सकेको छैन । सरकारले गरिरहेको छ, साना र मझौला व्यवसायीका लागि । बजेटको अवधारणाले पनि त्यो स्पष्ट हुन्छ । अहिले वाणिज्यमा जरिवानामा धेरै छुट दिएको छ । सरकारले गरेका काम, ल्याएका नीति तल्लो तहका व्यवसायीसम्म पुर्याउन संगठन भूमिका खेल्नुपर्दछ ।
सरकारले बजेट, नीति ल्याउँदा अध्ययन नै व्यवसायीहरुबाट हुँदैन । त्यसैले संगठनले त्यसको अध्ययन गरेर आम व्यवसायीलाई जानकारी दिनुपर्दछ । व्यवसायिक संगठनमा गुटबन्दी र राजनीति हाबी हुँदासम्म व्यवसायिक हितमा काम गर्न सक्दैनन् ।

यति धेरै कुरा उठे, संगठनले कसरी सम्बोधन प्रयास गर्ला त !
बसन्त लामिछाने –
केही विषयहरु हामीले संस्थागत रुपमा निर्णय गरेर आम व्यवसायीसम्म कम्युनिकेशन गर्न नसकेको होकि जस्तो पनि लाग्छ । व्यवसायीका लागि आउने छुट लगायतका विषयमा व्यक्तिगत रुपमा जानकारी दिएपनि संस्थागत रुपमा भने दिइएको छैन, त्यसमा कमीकमजोरी भएको छ । त्यसको कारण भने कोरोना लगायतका कारण केही ग्याप भयो । अर्को हामी डेढ महिनादेखि अधिवेशनमै व्यस्त रह्यौं । तर, व्यवसायिक मुद्दाका सवालमा हामी लागि रहेका छौं ।
हामी व्यवसायिक मुद्दाका सवालमा हामी व्यवसायीसँग एकाकार भएर जानेछौं । अब अधिवेशनपछि आउने नयाँ टिम व्यवसायिक हितमा लाग्नेछौं । संगठनमा आगामी दिनमा थप सक्रिय र क्रियाशिल बढाएर अगाडि लग्नेछु ।

प्रतिक्रिया

प्रतिक्रिया