घटनाको प्रभावकारी अनुसन्धान अधिकारकर्मीको माग
बाँकेका दुई महिलाको अवस्थालाई लिएर नेपालगन्जबाट राजधानी काठमाडौंस्थित सिंहदरवार यात्रामा पैदल मार्चको विषयमा अधिकारकर्मीहरुको सामुहिक धारणा सार्वजनिक भएको छ । अधिकारकर्मीहरुले विहीवार संयुक्त प्रेस बिज्ञप्ती जारी गरि नन्कुनी धोवीको मृत्यु प्रकरण र निर्मला कुर्मीको स्थिति अज्ञात सम्बन्धी दुई घटनाको प्रभावकारी अनुसन्धान र पीडितको न्यायका प्रहरी प्रशासनसंग माग गरेका हुन् ।
जानकी गाउँपालिका निवासी बर्ष २७ की नन्कुनी धोवीको मृत्यु भएको घटना र बाँके परसपुर निवासी निर्मला कुर्मी बेपत्ता घटनाका सम्बन्धमा घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको न्यायका लागी सार्थक पहल गर्न अधिकारकर्मीहरूले माग गरेका हुन् ।
नेपाल बार एशोसिएसन, इन्सेक, एडभोकेसी फोरम लगायत विभिन्न सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले विज्ञप्ती मार्फत ०७८ साउन ५ गते बाँके, जानकी गाउँपालिका निवासी बर्ष २७ की नन्कुनी धोवीको मृत्यु भएको घटना र बाँके परशपुर निवासी निर्मला कुर्मी बेपत्ता घटनाका सम्बन्धमा महिला अधिकार मञ्चको नेतृत्वमा काठमाण्डौसम्मको पैदल यात्रा प्रति हामी मानव अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, मानव अधिकारका लागी महिला एकल महिला समुहका केन्द्रिय उपाध्यक्ष शोभा बिसी, एडभोकेसी फोरम प्रदेश संयोजक वसन्त गौतम, फातिमा फाउण्डेसन नेपाल अध्यक्ष मैमुना सिद्धिकी, द्घन्द्घ पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती केसी, मानव अधिकार एलायन्स बाँके अध्यक्ष प्रभात कुमार ठकुरी हस्ताक्षरित विज्ञप्ति जारी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ , ‘घटनाको प्रभावकारी अनुसन्धान र पीडितको न्यायका लागी जिल्ला प्रशासन कार्यालय बाँकेमा २०७८ भाद्र १७ र असोज ४ गते जन प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको उपस्थितिमा छलफल भएको र नेपालगन्ज स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा २०७८ भाद्र २९ र ३१ गते दुवै घटनाका सम्बन्धमा छलफल गरिएको थियो । साथै पीडितपक्षहरुसंग राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जमा भेटघाट तथा छलफल गरि घटनाको बारेमा थप जानकारी लिने कार्य समेत भएको, मानव अधिकार संघ,संस्था र पीडित पक्षको दवावपछि नन्कुनी धोवीको मृत्युको घटनाका सन्दर्भमा कर्तब्यज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरि घटनाका आरोपितहरुलाई प्रहरीद्वारा पक्राउ गरि कर्तब्यज्यान मुद्धामा अपराध अनुसन्धान प्रक्रिया अगाडी बढिरहेको छ ।
प्रहरीद्वारा जाहेरी दर्ता भएपनि पीडित पक्षले आन्दोलन जारी राखेको सन्दर्भ समेतलाई मध्यनजर गर्दै घटनाको प्रभावकारी अनुसन्धानका लागी प्रहरी प्रशासनसंग हामी अनुरोध गर्दछौ ।’
‘साथै निर्मला कुर्मीको अवस्था हालसम्म पनि अज्ञात रहेको र निजको नाममा रहेको सम्पत्ति अर्कैको नाममा स्थानान्तरण भैसकेको कुरा सुन्नमा आएकाले बेपत्ता निर्मला कुर्मीको खोजबिन र सम्पत्तिका बारेमा घटनाको प्रभावकारी अनुसन्धान र पीडितको न्यायका लागी सार्थक पहल गर्न सम्बन्धित पक्षलाई अपील गर्दछौ,’अधिकारर्मीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।