राजधानीको एउटा पाँच तारे होटलको लाईब्रेरीमा मेरा नजरहरु यात्रा गरिरहेका थिएँ । त्यस भित्रका पुस्तकहरुमा नजर दौडिए । एउटा किताबमा मेरा नजरहरु गएर रोकिए–टक्क । समय विहानको थियो क्यारे । मेरो हातमा ब्रेक फास्ट पछिको पहिलो कफीको कप थियो, त्यो किताब नजिक पुग्न मेरा पाइला अगाडी बढे तर किताब उठाउन अवरोधक कफीको कप र प्लेट थिए । किताब प्रेम बढेर गयो , कफीत्यागेर किताब उठाएँ । अलि अलि धुलोले छोपिएकाले उठाएर पुछ्न थाले, थोरै च्यातियो पनि । मन चसस्क गर्यो पुस्तक च्यातिंदा । विस्तारै किताबलाई खोलेर पढने प्रयासमा जाँदा पृष्ठ ३० पल्टियो डा. खगेन्द्र प्रसाद लुँइटेलको नाम शीर्षस्थानमा पढे । पाना आफै पल्टिगयो डा.लुइटेलको कुनै कृति रहेछ झैं लाग्या थियो । फेरि उहि पृष्ठ ३० पल्टाएँ सनत रेग्मीको कथा शिल्प लेखिएको तर्फ मेरो ध्यान केन्द्रित रहयो । व्यक्ति परिचय पढ्दा लाग्यो–म त नेपालगन्जको त्रिभुवन चौकमा उभिएको छु ।

बरु मन च्यातिए फेरि मनाउँला भन्ने हुन्छ, पुस्तक च्यातिनु हुँदैन । आज प्रसङ्ग कथाकार सनत रेग्मीको जन्मोत्सवको रहनेछ, सामिप्यता उहाँकै रहने छन्,यद्यपी सन्दर्भहरु अरु पनि जोडिएलान् ।

शहरको मुटु त्रिभुवन चौकबाट सनत रेग्मीलाई हेर्दा,अवध र अवधी भाषाको उहाँको लवज कसरी विर्सनु है । चौक बजारमा होचो कदका पावरदार चस्मामा भेटिन एक जना सदावहार पात्र अर्थात सनत रेग्मी ।

‘दिनान्त’ कथा संग्रह पढेपछि उनले भनेका छन– ‘ नेपाली साहित्यको कथाकाशमा अर्को तारा पनि चम्किन लागेको महशुस हुन्छ ।’

कथाकार सनत रेग्मीका बारेमा यसो भन्ने अरु कोही नभएर साहित्यकार दैवज्ञराज न्यौपाने हुन ।

एउटा कुनै पनि व्यक्ति पूर्ण हुनै सक्दैन तर पूर्णताको नजिक रहेका व्यक्तिहरुको सामिप्यतामा रहन चाहनु मानवीय स्वभाव नै हो ।

मानिस अरुका विषयमा धेरै बोल्न सक्छ चाहे त्यो आलोचना होस् या फेरि प्रशंसा तर मैले जब सनत दाजुको ‘ऐनासामु’ पढें तब मलाई लाग्यो आफनो तस्वीर हेर्न र आफनो बारे बोल्न कति कठिन हुँदो रहेछ । यदि तपाई साहित्यलाई माया गर्नु हुन्छ भने अनि साहित्यअनुरागी हुनुहुन्छ भने सनत रेग्मी कुनै नौलो नाम भने हुँदै होइन । धेरैले ’लछमनियाको गौना’ भनेपछि चिन्ने गर्दछन उनलाई तर २० को दशकका साहित्यकारहरु मातृत्वको चीत्कार (२०२४) बाटै सनत रेग्मीलाई जान्दछन, चिन्दछन अनि उहिल्यैबाट पढ्दै आइरहेका छन् ।

राजधानी देखि निकै पश्चिममा रहेको नेपालगन्ज (बाँके जिल्ला) आफैमा यात्राका हिसाबले लामो यात्रा छ त्यसरी नै कथा लेखनको हिसाबमा सनत रेग्मीको यात्रा यस्तै लामो रहेको छ । नेपालगन्ज–राजधानी, कथा–सनत रेग्मी यो नै वास्तविकता हो । रेग्मी ती सौभाग्यप्राप्त ब्यक्ति हुन जो समाजवादी आन्दोलनका प्रणेता बि पी कोइरालाका साथ काम गर्ने अवसर पाए, साहित्यका बात मार्न पाए । ७५ बर्षको उनको ब्यक्तिगत, राजनीतिक र साहित्यिक यात्रालाई जस्ताको त्यस्तै उतार्न त नसकुँला तर उनको जीवनको गोरेटोका केही पाइला केलाउँदैछु यहाँ ।

मानवीय संवेदनालाई मूल आधार मानेर अनि मानवीय अस्तित्वलाई बिर्सिएर कथाकार रेग्मीलाई पढ्न नसकिने मेरो अनुभव छ । एउटा व्यक्ति सबैका नजरमा कस्तो होला ? एउटा गम्भीर प्रश्न हो । अझ सार्वजनिक र नीजि दुबै जिन्दगी बिताउने व्यक्ति कसका नजरमा कस्तो हुन्छ सवैका लागि फरक नै होला–मेरो अनुमान मात्रै हो ।

तपाईलाई लाग्ला यसले लेख्न के खोजेको भन्ने ? स्वभाविकै हुनेछ यदी त्यो सोचाई तपाईमा हावी भयो भने तर यथार्थमा त्यो व्यक्ति जो समाजलाई केही दिइरहेको छ उसलाई क–कसले कसरी चिनेका छन त ? एउटा जिज्ञासा म भित्र जन्मियो त्यो भन्दा पहिले नै म स्वयं सनत दाजुका बारेमा अन्योलमा थिएँ– उहाँ राजनीतिज्ञ हो की, साहित्यकार हो की, समाजसेवी या त अरु केही …?

म नेपालगन्ज शहरको कुनै एउटा घरको छतमूनि रहेको चार भित्ताको कोठाबाट नभएर शहरको मुटु त्रिभुवन चौकबाट बुझ्न खोज्दै छु, सनत रेग्मी के हुन् ?

मलाई थाहा छैन म गलत छु या सही छु । ३४ वर्षको युवक ७ दशक पार गरेकालाई चिन्न खोज्दैछ । मात्र यति हो, यदि तपाई मेरो र सनत रेग्मी विचको सम्बन्ध बुझन चाहनु हुन्छ भने, उहाँ कथाकार अनि म उहाँको पार्ट टाइम पाठक हुँ । यही हो हाम्रो साइनो भनौं वा नाता ।

मलाई थाह छैन उहाँ मलाई राम्रोसँग चिन्नु हन्छ वा चिन्नु हुन्न । र यो कुनै महत्वको विषय पनि होइन । तर म पनि नेपालगन्जवासी उहाँपनि नेपालगन्जवासी म त उहाँलाई त्रिभुवन चौकका ’माली’ भन्न रुचाउछु । उहाँका पीताजीले स्थापना गर्नु भएको ’विद्या कुटिर’ नेपालगन्जको एउटा नमुना थियो ।

मोफसलमा क्रियाशीलहरु राजधानीबाट उपेक्षित हुन्छन भन्ने सोचाईलाई चिर्दै कथाकार रेग्मी राष्ट्रिय प्रतिभा पुरस्कार (२०५५) बाट सम्मानित भइसकेका कथा जगतका ती नक्षत्र हुन् जो मोसफललाई छाड्नै सक्दैनन् । प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको कार्यभार सम्पन्न गरिसकेका सनत रेग्मी एकेडेमीबाट फेरी नेपालगन्ज फर्किंदा मलाई मनमा लाग्यो अबको उहाँको यात्रा राजनीति तर्फ अघि बढ्ला वा साहित्य तर्फ ?

तपाई चिन्नु हुन्छ ? कथा पढ्नु हन्छु ? नेपालगन्ज आउनु भएको छ ? कतै भेटाउनु भएको छ की ? उनै सनत रेग्मीका कुरा गरिरहेको छु । आखिर कसले के भन्दा…!

प्रतिक्रिया

प्रतिक्रिया