पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेशको सरकारले कुनै काम गर्न नसक्ने धारणा व्यक्त गरेका छन् ।
नेकपा एमाले बाँकेले बुधबार नेपालगन्जमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले गठबन्धन सरकारले जनपक्षीय निर्णय गर्न नसक्ने ठोकुवा गर्दै भ्यागुताको कथा सनाए । उनको तर्क थियो, मन्त्री परिषद्लाई पूर्णत दिन नसक्नु एउटामात्रै उदाहरण हेरे पुग्छ ।

पूर्व प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको पवित्र भू–भाग भएकाले फिर्ता ल्याउनुपर्ने धारणालाई जोड दिंदै वर्तमान सरकारले यो भू–भागलाई समस्या मात्र भनेर देशको स्वाभिमान जोगाउने कुराबाट पन्छिन खोजेको आरोप लगाए ।
बर्दियामा अगुवा कार्यकर्तालाई सम्बोधन गरेर बाँके आइपुगेका वरिष्ठ नेता ओलीले अधिकाँश समय आफुविरुद्धको गठबन्धनलाई आलोचना गर्नमैं खर्चिए । माधव नेपाल र प्रचण्डको कडा आलोचना गरेको पूर्वप्रधानमन्त्री ओलेले भने, ‘यो सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो भू–भाग हो, हामी फिर्ता लिन्छौ भन्दैन । यसलाई समस्या हो भन्छ ।’ ओलीले भने, ‘हाम्रो भू–भाग समस्या हो र ? त्यो त हाम्रो देशको पवित्र भू–भाग हो । यो फिर्ता ल्याउनुपर्छ ।’

कम्युनिष्ट सरकारलाई ढालेर काँग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउनेलाई कम्युनिष्ट पार्टीका भन्न नसुहाउने भन्दै एमाले अध्यक्ष ओलीले माधव नेपाल र प्रचण्ड दुबै अलिकति चोइटिएर गएको टिप्पणी गरे । ‘उनीहरुले पार्टीका पछाडी एकीकृत लेख्नुभन्दा शेरबहादुर लेखे हुन्छ,’ ओलीले कडा टिप्पणी दोहोर्याउँदै भने, ‘प्रचण्ड पनि अलिकति आफ्नो हिस्सा लिएर बाहिर गए । माधव पनि सानो चोइटो लिएर बाहिर गए । यसले पार्टी कमजोर भयो कि भन्ने कुनै चिन्ता लिनु पर्दैन । भ्रममा पर्नु पर्दैन । अन्यौलमा पर्नु पर्दैन ।’

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा भएको भेलामा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले सरकारलाई एमालेविरुद्धको आरिशेहरुको गठबन्धनका रुपमा चित्रित गरेका थिए । उनले एमाले नेतृत्वको सरकारले प्रदेश देखि केन्द्रसम्म गरेका फेहरिस्त प्रस्तुत गर्दै फेरिपनि एमालेलाई जनताले विश्वास गर्ने बताए ।

