नेपालगन्जलाई साइकलको सहरका रुपमा विकास गर्न साइकल संस्कृतिको प्रवद्र्धनका लागि आइतवार नेपालगन्जमा मेयर कप साइकल दौड प्रतियोगिता आयोजनाको तेस्रो संस्करण आयोजना गरिएको छ । संविधान दिवसको अवसर पारेर नेपालगन्जको हजरत सामुदायिक बन झोरा ट्रेलमा नेपालगन्ज साइक्लिङ्ग क्लब प्रतियोगिता आयोजना गरेको हो ।

क्लब सदस्य सतिश निरौलाका अनुसार, प्रतियोगितामा एमटीबी इलाइट महिला / पुरुष र एमटीबी मास्टर पुरुष र साधारण साइकल महिला / पुरुष गरि ५ क्याटोगरी मा प्रतियोगिता भएको थियो । एमटिबी मास्टरमा ४५ बर्ष माथी उमेर समूहका पुरुषहरु सहभागी थिए, जसमा कृष्ण बिक प्रथम, प्रदीप सापकोटा दोस्रो र राजेन्द्र श्रेष्ठ तेस्रो भएका छन् ।
साधारण साइकल महिला तर्फ अनिता सत्याल प्रथम कल्पना सार्की दोश्रो र सरिता थारु तेस्रो भए भने एमटीबी इलाइट पुरुष तर्फ जङ्गु थारु प्रथम, बाबुराम बिश्वकर्मा दोश्रो र सन्जय कुमार कुर्मी तेस्रो भए । यस्तै महिला तर्फ रितु शाह प्रथम साया थापा दोस्रो र रुपा थारुले तृतीय स्थान प्राप्त गरेको आयोजक संस्था नेपालगन्ज साइक्लिङ्ग क्लबका सदस्य सतिश निरौलाले जानकारी दिए ।

महिला तर्फ रितु शाह प्रथम, साया थापा दोस्रो र रुपा थारुले तृतीय
त्यसअघि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समसेर राणाले प्रतियोगिता शुभारम्भ गरेका थिए । उनले नेपालगन्ज शहर चिनाउन यसखालका आयोजनाले मद्दत पुग्ने बताउँदै साइकल स्वास्थ्य, पर्यावरण र पर्यटनका लागी समेत महत्त्वपूर्ण भएको बताए ।
क्लबका सचिव सुरेन्द्र कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सतिश निरौलाले राखेका थिए भने अध्यक्ष गगन सिह थापाले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

प्रतियोगिता कोभिडका कारण पछिल्लो दुई संस्करण हुन नसकेको अध्यक्ष थापाले जानकारी दिए । पछिल्लो दुई शृंखला सुर्खेत रोडमा हुँदै आएको मेयर कप उक्त सडकमा हुने घना ट्राफिकका कारण र माउन्टेन बाइकका न्युनतम मापदण्डको रुपमा प्रयोग हुने साइकल ट्रेलमा गरिएको अध्यक्ष थापाले जानकारी दिए ।