नेकपा एकिकृत समाजवादीको लुम्बिनी अध्यक्षमा मेटमणि

नेकपा एकिकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणी चौधरी चयन भएका छन् । प्रदेश कमिटिको सचिवमा रुपन्देहीका राजु गुरुङ तथा १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु पनि पदेन सदस्य तथा जिल्लाबाट सिफारिस भए अनुसार थप सदस्य रहने गरि प्रदेश कमिटी गठन गरेको हो ।

एकिकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीको बैठकमा बोल्दै नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एकिकृत समाजवादी एमाले विभाजन भएर निर्माण भएको नभई एमालेबाट बिद्रोह गरेर निर्माण भएको स्पष्ट पार्दै सलाईको काँटीको झिल्को जस्तै बनेर प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन कार्यकर्ताहरुलाई आग्रह गरिन् । उनले सहकर्मी घनश्याम भुसाल सहितका पूर्व नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै अरूले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गरिन् । उनले भनिन्, ‘आफैले बनाएको दरबारमा बस्न आफुहरूले कठिन यात्रा तय गरेका छौं ।’

एमालेका केही नेताहरुले आफुलाई चुनौती रहित नेता बताउने गरेको बताउँदै नेतृ भाँक्रीले त्यस्तो सपना नदेख्न ती नेताहरुलाई चुनौती दिइन् । एकिकृत समाजवादीले ४० प्रतिशत युवाहरू अनिवार्य केन्द्रीय कमिटीमा राख्ने व्यवस्था गरेर पार्टीलाई नवजवानहरूको पार्टी बनाउन खोजिएको जिकिर गरिन् । उनले नेपालमा अग्रगामी बनाउने अभियान शुरू भएको उल्लेख गर्दै गलत प्रबृत्तिका बिरूद्ध बिद्रोह भएकाले एकिकृत समाजवादी पार्टीको भविष्य सुनिश्चित रहेको दाबी गरिन् । एमालेका नेताहरुले बिद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक भविष्य र ब्यक्तिगत भविष्यको ग्यारेन्टी बाँड्दै हिँडेको आरोप लगाउँदै भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरिन् । क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरुले चिन्ह होइन बिचार रोज्ने उनको बिश्वास छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै स्माजवादीका अर्का नेता मेटमणी चौधरीले अहिले पार्टीको आकार सानो जस्तो देखिएपनि ५/६ महिना भित्र पार्टीको वास्तविक आकार देख्न सकिने बताए । उनले जनप्रतिनिधिहरु आवरणमा आफुहरुतिर नदेखिएपनि जनताको अपार समर्थन एकिकृत समाजवादीलाई रहेको दाबी गरे ।

प्रतिक्रिया

प्रतिक्रिया