पर्यटन व्यवसायीहरुको छाता संस्थाका अध्यक्षहरुको विशेष बैठकले कोभिड महामारीले थलिएको पर्यटन व्यवसायलाई जोगाउन तत्काल नाका व्यवस्थित गरी खोल्न माग गरेको छ । बिहीबार भएको छाता संस्थाहरुको अध्यक्षहरुको विशेष बैठकले कोभिड १९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी ‘अनअराइभल भिसा’मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन माग गरेको हो । बैठकले भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने माग गरिएको बैठकमा सहभागी नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका छन् ।

सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा तत्कालै लागु गर्न माग गरेको बैठकले सीसीएमसीको सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई जिल्लाको कोभिड १९ परिस्थती अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
पर्यटन व्यवसायीहरुले कोभिड १९ महामारीले अरु क्षेत्रजस्तै पर्यटन क्षेत्रमा परेको प्रभाव र सरकारको वेवास्ताका कारण पर्यटन क्षेत्रको अस्तव्यस्त परिस्थितिबारे नाट्टाको आयोजनामा विशेष बैठक आयोजना गरेको हो । नाट्टा, टान, हान, नारा, सोट्टो, एनटीभीए, टिबान, पाटा, नाटो, एनएमए लगायत संस्थाहरुको अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता रहेको बैठकले सरकारले पर्यटन व्यवसायीहरुका मागहरु तत्काल सम्बोधन नगरे पत्रकार सम्मेलन गरि अर्को हप्ताबाट कडा रुपमा सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
अध्यक्ष सिग्देलका अनुसार, बैठकमा नाट्टा अध्यक्ष अच्युत गुरागाँइ, टान अध्यक्ष खुमबहादुर सुवेदी, एनएमए अध्यक्ष सन्तवीर लामा, हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह, नारा अध्यक्ष. गंगाप्रसाद नेपाल लगायत १४ जना संस्थागत प्रतिनिधि सहभागी थिए ।