सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालगन्जमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको भएको हो । पर्वको अवसर पारेर आगामी असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा ४३ स्थानमा सञ्चालन गर्ने जनाएको हो ।
सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिएकी छन् ।
कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।
कम्पनीले पश्चिमतर्फ भैरहवा, बुटवल, नेपालगन्ज, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण गर्ने जनाएको छ ।