बाँकेका पछिल्ला दुई वटा घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगले गम्भीर चासो देखाएका छन् । आयोगका आयुक्तहरुको एउटा टोलीले जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र नेपालगन्ज साइगाउँकी निर्मला कुर्मीको अज्ञात अवस्थाबारे गम्भीर चासो लिएको हो ।

दुवै घटनालाई लिएर महिला अधिकार मञ्चले १८ दिनदेखि कारवाहीको माग गर्दै स्थानीय प्रशासनले धर्ना दिएपछि आयोगले घटनाबारे ध्यानाकर्षण भएको भन्दै चासो लिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त लीली थापा र महिला आयोगकी आयुक्त विद्या कुमारी सिन्हा सहितको अधिकारकर्मीहरुको एउटा टोलीले दुवै घटनालाई लिएर मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेसँग जानकारी माग गरेको छ । प्रहरी अधिकारीहरुसँगको लामो छलफलपछि आयुक्तहरुको टोलीले जिल्लाका मानवअधिकारकर्मीहरुसँग छलफल, अन्तरक्रिया गरी घटनाबारे आफ्नो चासो प्रष्ट पारेको थियो ।

‘दुवै घटनालाई आयोगले गम्भीर ढंगले लिएको छ’, आयुक्त थापा र सिन्हाको भनाइ थियो, ‘यी घटनाको वास्तविकता बाहिर ल्याउन, दोषीलाई कारवाहीको दायरामा ल्याउने तर्फ कुनै एक अधिकारकर्मी, संस्था वा समूह भन्दा जिल्लाका सबै मानवअधिकारकर्मीहरु एकजुट हुन जरुरी छ ।’
आयुक्त थापाले नन्कुन्नीको घटनालाई प्रहरीले पुनः अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएको जानकारी दिंदै निर्मला कुर्मीको घटनाबारे गम्भीर अनुसन्धानको आवश्यकता औंल्याएकी थिइन् । कार्यक्रममा अधिकारकर्मी महिलाहरुले जिल्लामा बढ्दो महिला हिंसाका घटनामा राज्यका जिम्मेवार निकायबाट ‘गैर जिम्मेवार भूमिका’ हुँदा घटना न्यूनीकरण हुन नसकेको गुनासो गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेकै भूमिकामा प्रश्न उठाएका अधिकारकर्मीहरुले हिंसा विरुद्ध आवाज उठाउँदा आफ्नो जिउ, ज्यानकै सुरक्षा जोखिममा परेको गुनासो गरे । ‘अपराधीलाई कानुनको दायरामा ल्याउ भनेर आवाज उठाउने अधिकारकर्मीलाई नै मुद्दा लगाउने काम गरेर हतोत्साही पारिएको छ’, अधिकारकर्मी महिलाहरुको गुनासो थियो, ‘आयोगले त्यसतर्फ गम्भीर चासो राखोस् ।’ आयुक्त थापा र सिन्हाले मानवअधिकारकर्मीको सुरक्षा चासोमा आयोग किन्चित पनि पछि नपर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

राष्ट्रिय मानवअधिकार आयोग उपप्रादेशिक कार्यालय नेपालगन्जमा पीडित नन्कुन्नी धोबीका बाबु, दाजुभाई र आफन्तहरु पुगेर हत्या घटना भएकाले सोही अनुसार कारवाहीको आफ्नो मागमा अधिकारकर्मीहरुले सहयोग गर्न आग्रह गरेका थिए ।
यो पनि पढ्नुस्
हत्या आरोपमा डेढ महिनापछि समातिए श्रीमान