विपन्न परिवारलाई स्थानीय सरकारले दियो घर

खजुरा गाउँपालिकाले जनतासंग स्थानीय सरकार अन्तरगत निर्मित एक घर शनिबार हस्तान्तरण गरिएको छ । अति विपन्न खजुरा ३ निवासी नेत्रबहादुर गुरुङलाई तीन कोठे भवन खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना प्रमुख दिलबहादुर पौडेलले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन ।

भवन हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना प्रमुख दिलबहादुर पौडेल ।

४ लाख ३६ हजार ८८१ रुपैयाँ ४७ पैसामा २ कोठा एक भान्सा कोठा र एउटा शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको हो । घर पाएपछि खुशीले गदगद हुँदै गुरुङले आफ्नो पीडा स्थानीय सरकारले बुझेर सम्बोधन गरेको बताए । खजुरा गाउँपालिका प्रमुख कक्षपतिले जनतासंग स्थानीय सरकार कार्यक्रम अन्तर्गत गत वर्ष खजुरा गाउँपालिकाका ८ वडाका १ हजार ५ सय बढी जेष्ठ नागरिकको निशुल्का आँखा जाँच र १ सय जनाको अप्रेसन गरिएको जानकारी दिए ।

उपाध्यक्ष एकमाया विकले गरीब, अतिविपन्न नागरिकलाई पालिकाले विभिन्न किसिमबाट सहयोग गर्दै आएको बताइन् । योजना प्रमुख पौडेलका अनुसार, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत खजुरा ३ क गाउँमा १६ वटा सामूहिक आवास निर्माण गरिएकोमा सम्झौता भएर असोज १ गतेदेखि बस्ने कार्यक्रम रहेकोे छ । यो वर्ष पनि सोही कार्यक्रम अन्तरगत ६ वटा आवास बनाउने योजना रहेको उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया