देशको सुरक्षामा आँच आउने कुनै सम्झौता गर्दैनौं–अध्यक्ष माधव कुमार नेपाल

सिराज खान
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो–हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्ट संग भनेका छौं कि यो परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्विकार गरिने छैन ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल । तस्विर: सिराज खान )


शनिवार नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो दल र आफुहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताउनु भयो । नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धी सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उहाँले कुर्सि र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफुहरुबाट नहुने विश्वास दिलाउनुभयो ।


संविधान, व्यवस्था र संघियता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने पुर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले बताउनुभयो । उहाँले अहिले देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थि गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै दक्षिणपन्थीहरु विस्तारै विलाएर जाने बताउनुभयो । उहाँले केपी ओलीले विदेशीसंग लम्पसार भएर आफु सत्तामा टाँसीरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघियता समेत समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।
नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफुहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको जनाउँदै अध्यक्ष नेपालले यो पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको बताउनुभयो ।

बाँकेको खजुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल (तस्विरः दैनिक नेपालगन्ज)


केपी ओली र उनका भरौटेहरुले संसद र सभामुखको मानमर्दन गरेको जनाउँदै उहाँले त्यति मात्र नभई ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोग र संवैधानिक निकायहरुको समेत मानमर्दन गरेको बताउनुभयो ।
सो कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष नरेश कुमार साही, पुर्व मन्त्री दल बहादुर सुनार, संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा लगायत केन्द्रिय सदस्यहरुले पनि एकिकृत समाजवादी पार्टी देशकै ठुलो पार्टी बन्ने बताउनु भएको थियो ।
पार्टी गठन गरेपछि पहिलो पटक नेपालगञ्जको भ्रमणमा आउनु भएका नेता नेपालले बाँकेमा पार्टीको जिल्ला कार्यालयको उदघाटनसंगै कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न वर्गिय संगठनका अगुवाहरु तथा पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्नु भएको छ ।

बाँकेको खजुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपाल (तस्विरः दैनिक नेपालगन्ज)

प्रतिक्रिया

प्रतिक्रिया