
हिमाल गैरे
पछिल्लो समय नेपालमा आत्महत्याको क्रम बढ्दो रहे पनि सचेतनाका अभावले गर्दा यसको रोकथाममा उल्लेख्य प्रगति हुन नसकेको पाइएको छ । लुम्बिनी प्रदेशको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने पनि प्रत्येक वर्ष आत्महत्याका घटनाहरु बढ्दै गएको देखाउनुले पनि सरोकारवाला निकायहरुले समेत यस बारे सचेत हुन विज्ञहरुले सुझाएका छन् ।
‘कार्य मार्फत आशाको श्रृजना’ भन्ने मुल नाराका साथ यस वर्ष समेत विश्व आत्महत्या रोकथाम दिवश मनाइदै गर्दा यो दिन दिवश मनाउनमा नै सिमित हुनुले पनि स्थानीय तहमा यस बारे गम्भिरता नभएको संकेत गर्दछ ।
लुम्बिनी प्रदेश प्रहरीबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो ३ वर्षमा ३ हजार ७ सय ७० जनाले आत्महत्या गरेका छन् । जस मध्ये २०७५/७६ मा १ हजार १ सय २९, २०७६/०७७ मा १ हजार २ सय ३३ र २०७७/०७८ मा १ हजार ४ सय ८ ले आत्महत्या गरेका छन् ।
नेपालको तथ्याङ्क विश्लेषण गर्ने हो भने समेत २०७७ र २०७८ मा ७ हजार १ सय १७ जना व्यक्तिहरुको ज्यान आत्महत्याको कारणले गएको छ । जुन आँकडाले वर्षेनी १४.०४ प्रतिशतले वृद्धि भएको देखाउँछ ।
विश्वमा वार्षिक झण्डै ७ लाख आत्महत्याका कारण मर्ने गरेको छन् भने मृत्यु हुने प्रमुख कारण मध्ये आत्महत्या १५ औं स्थानमा रहेको छ ।
‘आत्महत्या जनस्वास्थ्यको एक प्रमुख समस्याका रुपमा विकसित भैराख्दा समेत सरोकारवाला निकायको यसमा अझै ध्यान नदिनु दुखद हो,’ भेरी अस्पतालमा कार्यरत मनोसामाजिक परामर्शकर्ता कमला डाँगीको भनाई छ ।

आत्महत्या रोकथाम गर्नका निम्ती स्थानीय सरकारले नीतिगत रुपमा नै व्यवस्था गरी २०७७ मंसिर १४ गते नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरिय राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना अनुरुप प्रत्येक स्थानिय तहमा मानसिक स्वास्थ्य रणनीति तयार गर्ने कुरालाई सुनिश्चितता गरेको भए पनि सो बारे यस क्षेत्रमा स्थानीय तहको चासो गएको पाइदैन ।
खजुरा गाँउपालिकाका प्रमुख किस्मत कुमार कक्षपति आफ्नो स्थानीय तहमा त्यस्तो आत्महत्याको घटनाहरु उल्लेख्य नगरहेको बताए । हाम्रो स्थानिय तहमा स्वास्थ्य नीति भएको भए पनि मानसिक स्वास्थ्य र आत्महत्याको कुरा नपरेको बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, अहिले पछिल्लो समयमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याले जटिल रुप लिदै गएको बताइन् । पुरुषहरुमा व्यापार, व्यवसाय वा विभिन्न मानसिक स्वास्थ्य समस्याका कारण डिप्रेशन भई आत्महत्याका घटनाहरु बढ्ने गरेको भएता महिलाहरु घरेलु हिंसाको सिकार भई आफुले आफैलाई सिध्याएको उनको अनुभव छ । त्यसैगरी माग पुरा नभए पछि किशोरकिशोरीहरु बालबालिकाहरु एक्कासी आवेगमा आई आत्महत्या गर्ने गरेको समेत उनले बताइन् ।
‘स्वास्थ्य जाँच गर्दा केही देखिदैन तर विभिन्न खालका मनोभावनाले विकास गरी आफुलाई हानी पुर्याउने समेत कार्य गर्ने गरेको पाइन्छ । यसको रोकथामका निम्ती मनोसामाजिक परामर्शलाई प्राथमिकता दिएर स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ महाशाखा प्रमुख शाहको कथन छ ।

सचेतनाका क्रियाकलापहरुमा वृद्धि गर्नुका साथै प्रत्येक स्थानीय तहमा तालिम प्राप्त मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरी सो बारेमा विभिन्न खालका काम गर्नुपर्ने वरिष्ठ सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहको भनाई छ ।
‘मानिसका मनमा विभिन्न खालका मनोभावनाहरु, नकरात्मक सोचहरु आउनका साथै आफुले आफैलाई हानी गर्ने वा अरुलाई हानी पुर्याउने सोंच सम्म पनि आउन सक्छ । यस्तो अवस्थामा खुलेर आफ्नो मनमा आएका भावना वा सोचाईकाबारे आफ्ना प्रियजन वा मनपर्ने व्यक्ति वा मनोसामाजिक परामर्शकर्तासंग कुराकानी गर्ने र आत्महत्या वा आत्महानीका बारेमा खुलेर कुराकानी गर्ने हो भने पनि यस्ता घटनामा कमी ल्याउन सकिन्छ,’ मनोसामाजिक परामर्शकर्ता डाँगीको भनाई छ । मनोपरामर्शकर्ता उपलब्ध नभएको अवस्थामा भने विभिन्न हटलाइन वा टोलफ्री नम्बरबाट सहयोग लिन हिचकिच्याउन नहुने उनको सुझाव छ ।
मनोविद् दिपक शर्मा मानसिक स्वास्थ्य समस्याका कारणले गर्दा आत्महत्या हुने गरेको भएता पनि यस बारेमा सर्वसाधरणमा सचेतना फैलाउनुपर्ने बताउँछन् । मनोविद् शर्माले स्थानीय तह र राज्य तहबाट यस सम्बन्धमा नीतिगत व्यवस्था भए पनि कार्यन्वयन तहमा प्राथमिकता नगर्दा आत्महत्याले जटिल रुप लिने चेतावनी समेत दिए ।
‘वर्षेनी आँकडाले पनि आत्महत्या दर बढ्दै गएको छ । तर अझै पनि स्थानीय सरकारको मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका निम्ती अब पनि नसोच्ने हो भने अवस्था जटिल हुन्छ । आत्महत्या त रोक्न सकिन्छ तर हामीले सर्वसाधरणलाई सोबारे हामी सरोकारवाला निकायले बुझाउन सक्नुपर्दछ ।’ मनोविद् शर्माको कथन छ । भेरी अस्पतालका मानसिक रोग विशेषज्ञ, मनोचिकित्सक डा. सुमन अर्याल प्राथमिक रुपमा आत्महत्या मानसिक रोगका कारण, डिप्रेशनका कारणले नै हुने हो भन्ने कुरा हामीले बुझाउनु पर्ने देखिन्छ ।
चिकित्सक मात्रै नभएर मानसिक स्वास्थ्य समस्या र आत्महत्याका विषयमा घरपरिवारमा समेत खुलेर कुराकानी गर्ने माहोल बनाउनुका साथै आत्महत्याको कुनै संकेत पाउने बित्तिकै सोबारे कुराकानी गर्नुपर्ने डा. अर्यालले बताए ।
मानसिक स्वास्थ्य नेपाल सरकारको अहिले प्राथमिक क्षेत्रमा परेको र अन्तरंग सेवा विस्तारका निम्ती भेरी अस्पताल समेत छनौट हुनु सुखद रहेता पनि आवश्यक जनशक्ति (चिकित्सा मनोविद्, साइक्राटिष्ट नर्स, मनोसामाजिक परामर्शकर्ता), पूर्वाधारमा लाग्नुपर्ने हुन्छ । तर केन्द्र, प्रदेश र स्थानिय तह स्तरबाट मानसिक स्वास्थ्य पनि महत्वपुर्ण पाटो हो भनेर सबै तहले सक्रिय भई लाग्नुपर्ने हुन्छ,–डा. अर्यालको जोड छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आत्महत्या हुनका लागि बढ्दो अपेक्षा, सामाजिक संजालका साथै अनुवांशिकी कारण (परिवारका कुनै सदस्यले यस अगाडी आत्महत्या गरेको भएमा परिवारका अन्य सदस्यले समेत गर्न सक्ने) यस्ता घटना वृद्धि भएको बताए ।
लुम्बिनी प्रदेश प्रहरी श्रोतका अनुसार आत्महत्या गर्दा सबै भन्दा बढी २ हजार ८ सय ७६ झुण्डिएर, ८ सय ३४ विष सेवन गरी, २६ भिर वा पानीमा हाम फाँलेर र ३४ विविध (आगो लगाई, औजारको प्रयोग आदी) बाट आफ्नो मृत्युवरण गर्ने गरेको पाइएको छ ।
अधिक मात्रमा आत्महत्या रोकथाम गर्न सकिने भएता पनि सरकारका सबै तहले समयमा नै मानसिक स्वास्थ्य समस्या र आत्महत्या रोकथामका निम्ती ठोस रणनीति, कार्यक्रम र सचेतनामुलक क्रियाकलाप गर्न अब ढिलाई गर्न नहुने कुरामा विज्ञहरुको सुझाव छ ।