खजुराको साक्षरता दिवस: पालिका–संस्थागत विद्यालयबीच दूरी

बुधवार ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस, देशविदेशमा विभिन्न तरिकाले सेप्टेम्बर ८ को दिनलाई मनाउने गरिन्छ । यसवर्ष साक्षरता दिवस खजुरामा अलि फरक ढंगले मनाइएको छ । बिगतमा स्थानीय निर्वाचन पछि बनेको स्थानीय सरकारको शिक्षा समितिले यो दिवस स्थानीय विद्यालयहरुको परिसरमा मनाउँदै आएको थियो । गतबर्ष कोभिड १९ को पहिलो लहर र यसले पारेको मनोवैज्ञानिक त्रासका कारण ५४ साक्षरता दिवसका कुनै कार्यक्रम हुन सकेनन् ।


यसबर्ष भने विद्यालय खोल्ने निर्णय भै सकेको र कोरोनाको त्रास पनि गतबर्ष भन्दा न्यून रहेको देखिएकोले यो कार्यक्रम खजुराको मिनिपार्कमा गर्ने तयारी गाउँ पालिकाले गरेको थियो । तर, गाउँ शिक्षा समितिले खजुराका निजी विद्यालयका कुनैपनि शिक्षक, कर्मचारी, व्यवस्थापन समितिलाई सम्मान गर्न चासो नदेखाएको भन्दै संस्थागत विद्यालयहरुले छुट्टै कार्यक्रम गरेका हुन् । कार्यक्रममा सामुदायिक विद्यालयको प्रतिनिधित्व थिएन । ‘पालिकाले सरकारी विद्यालयका लागि छुट्टै कार्यक्रम गरेकाले बोलाइएन,’ आयोजकको तर्क थियो ।

यसपटकको साक्षरता दिवसले खजुरामा सामुदायिक विद्यालय र संस्थागतलाई अलग बनाएको छ भने गाउँपालिका र संस्थागत विद्यालयका संगठनहरुबीचको घोंचपेच सार्वजनिक भएका छन् । कार्यक्रमका घोचपेचले गाउँपालिका र संस्थागत विद्यालयबीचको दूरी बढाएको आभाष सहभागीहरुले गरेको बताए । ‘बेलैमा सम्बोधन प्रयास भएन भने यसले द्वन्द्व बढाउँछ,’ संस्थागत विद्यालयले अटेरी गरेको भन्ने सरकारी भनाइ र हामी स्वतन्त्र हौं भन्ने संस्थागत विद्यालय सञ्चालकका प्रतिवादपूर्ण कार्यक्रमपछि स्थानीय प्याब्सन अध्यक्ष मित्रलाल सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘यसलाई राम्रो मान्न सकिन्न, गाउँपालिका जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ ।’


इलाका प्रहरी कार्यालय धनौलीबाट कपास विकास समितिसम्म विभिन्न निजी विद्यालयका व्यानर र आफ्नो विद्यालयको पोशाक सहित निस्किएको प्रभातफेरी कपास विकास समिति नजिक गोदावरी कटेजमा पुगेर सभामा परिणत भएको थियो ।


खजुरा क्षेत्रका निजी विद्यालयहरुको सहभागीतामा भएको कार्यक्रमका प्रमुख आतिथि खजुरा गाउँ पालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले संस्थागत विद्यालयलाई विभेदको निती आफुले नलिएको बताए । खजुरा क्षेत्रको शैक्षिक बिकासमा सबै लाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेका अध्यक्ष कक्षपतिले कोभिडका कारण शिक्षा क्षेत्रमा परेका अप्ठ्यारो र असहजता प्रति आफु चिन्तित र संबेदनशील रहेको बताए । उनले संस्थागत विद्यालयले स्थानीय सरकारलाई अटेर गरेर अगाडि नबढ्न ध्यानाकर्षण पनि गराए ।


इसाका अध्यक्ष डि बि तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा खजुरा प्याब्सन अध्यक्ष मित्रलाल सापकोटाले गाउँपालिकाले संस्थागत विद्यालयहरुप्रति विभेदको व्यवहार राखेको भन्दै आलोचना गरे ।
प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्यले संस्थागत विद्यालयलाई बाइपास गरेर गाउँपालिका हिंड्न खोजेको हो ?’ भन्ने प्रश्न राखेका थिए ।
गाउँपालिकाका शिक्षा अधिकृत खगेन्द्र मल्लले निजी विद्यालयलाई कानून र नियमको अटेरी भइरहेको भन्दै नियमनको चेतावनी दिए । प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिकेश जिसीले निजी विद्यालय कसैका अनुदानले नचलेको भन्दै धम्कीपूर्ण अभिव्यक्तिले आफुहरु नतर्सिने, निजी विद्यालयहरु पालिकाका दास नभएको टिप्पणीसहित प्रतिवाद गरे ।


प्याब्सन खजुराका सचिव कृष्ण बहादुर भण्डारीले सहजीकरण गरेको कार्यक्रम पछि सबै शिक्षक शिक्षिका र विद्यालय कर्मचारीहरुलाई प्याब्सन खजुरा, एनप्याब्सन खजुरा र इसाकाले सामुहिक दर खुवाएका थिए ।


कार्यक्रममा जिल्ला प्याब्सन कोषाध्यक्ष दिनेशराज शर्मा, सह सचिव उदय बहादुर आले, सदस्य सल्लाहुद्दिन खान, एनप्याब्सन जिल्ला कोषाध्यक्ष गोविन्द रावत लगायत इसाका पूर्व अध्यक्ष सतिश निरौला समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया