बालबालिकाको प्रयोग गरी चोरी !, तीन बर्षमा ३ सय ५४ चोरीका मुद्दा

भारतबाट समूह नै आएको आशंका

भारतबाट आएको एउटा समूहले बालबालिकालाई चोरीमा संलग्न गराएको आशंका गरिएका छन् । मंगलबार कोहलपुरका विभिन्न ठाउँमा पाल टाँगेर बसेको भारतीय एउटा समूहमा रहेका बालबालिकाले बसमा चोरी गरेको फेला परेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरले बालबालिकाबाट एक लाख बढी रकम र सुनका गरगहना समेत बरामद गरेको छ ।

पछिल्ला दिन मजदुरी गर्ने, विभिन्न खालका सामान बेच्ने तथा मागेर खाने मानिसहरुको समूह नेपालगन्ज तथा कोहलपुरका चोकमा देख्न सकिन्छ । कोहलपुरमा एउटा समूह पाल नै टाँगेर बसेको छ । उनीहरुको समूहमा रहेका बालबालिकाले बसमा यात्रा गर्ने र यात्रुहरुको पैसा तथा गरगहना चोरी गर्ने गरेको प्रहरीले फेला पारेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले बाल बिज्याई भएकाले सोही कानुनी व्यवस्था अनुसार अनुसन्धान भैरहेको जानकारी दिएका छन् । ‘हामीले भारतबाट पाल टाँगेर बसेका व्यक्तिहरुमाथि निगरानी गरिरहेका छौं’, उनले भने ।

कोहलपुरमा पाल टाँगेर बसेको समूहले जथाभावी फोहोर गरेको भनेर स्थानीयले उनीहरुलाई त्यहाँबाट हटाउन माग पनि गरिरहेका छन् । स्थानीयले चोरीको घटना बाहिर आएपनि उनीहरुबाट असुुरक्षाको महसुस पनि गरेका छन् ।

बालबालिकालाई अपराधमा संलग्न गराउने अभिभावकलाई कारवाहीको दायरामा ल्याउनु पर्ने स्थानीय बताउँछन् । बालबालिकालाई कानुनले सजाय दिंदैन । बरु बालविज्याई अन्तर्गत सुधारका कार्य गर्ने भएकाले अभिभावकले नै बालबालिकालाई चोरी जस्तो अपराधमा प्रयोग गरेको आशंका गरिएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले हिन्दु महिलाहरुको पर्व हरितालिका तिज आइरहेकाले गरगहना चोरीका घटना हुनसक्ने भन्दै प्रहरी चनाखो रहेको बताएका छन् । ‘पर्वका बेला सार्वजनिक स्थलमा गहना लगाएर जाँदा तथा घरमै गरगहना राख्दा त्यसको सुरक्षामा नागरिक पनि होशियार हुनु पर्दछ’, उनले भने ।

तीन बर्षमा ३ सय ५४ चोरीका मुद्दा

लकडाउनले घटनामा कमी !

गत तीन आर्थिक बर्षमा चोरीका मुद्दा घट्दै गएको बाँके प्रहरीको तथ्यांकले देखाएको छ । गत दुई बर्ष कोरोनाका कारण भएको निषेधाज्ञा र लकडाउनका कारण पनि चोरीका मुद्दामा कमी आएको हुनसक्ने बताइन्छ । गत तीन आ.व.मा बाँकेमा विभिन्न खालका चोरीका ३ सय ५४ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, आ.व. ०७५÷०७६ मा साधारण चोरीका ८०, डाँका चोरीका ५, नकबजनी चोरीका ४, जबर्जस्ती चोरीको १, चौपाया चोरी १ र सवारी चोरीको १५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै आ.व. ०७६/०७७ मा साधारण चोरीका ५७, नकबजनी चोरीका १४, जबर्जस्ती चोरीको २ र सवारी चोरीको ११ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, आ.व. ०७७/०७८ मा साधारण चोरीका ३१, डाँका चोरीका ३, चौपाया चोरीको ५ र सवारी चोरीको १२ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया