साढे चार महिना पछि बाँकेका विद्यालय सञ्चालनमा आउने सम्भावना देखिएको छ । कोरोना संक्रमणको जोखिमका कारण बैशाख ९ देखि नेपालगन्ज र बैशाख १३ गतेदेखि प्रशासनले जारी निषेधाज्ञाका कारण विद्यालयमा भौतिक रुपमा अध्यापन बन्द भएको थियो । जिल्लामा कोराना संक्रमण घटेपछि अन्य क्षेत्र खुले पनि विद्यालयमा विद्यार्थीको भौतिक रुपमा उपस्थिति गराएर कक्षा सञ्चालनको अनुमति दिइएको थिएन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बुधबार आदेश जारी गर्दै विद्यालय सञ्चालन निर्णयको जिम्मा स्थानीय तहलाई दिएका छन् । प्रमुख जिल्ला अधिकारी गेलालले शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्नैपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीइ तहहरुले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर विद्यालय सञ्चालनको निर्णय गर्नुपर्ने जानकारी दिएका छन् । यद्यपि, अब विद्यालय सञ्चालनका लागि स्थानीय तह आफैले जोखिमको मूल्यांकन गरि निर्णय लिनुपर्नेछ ।
प्रशासनले कोभिडको जोखिम रहेकाले भिडभाड, सभा, जुलुस, महोत्सवमा भने रोक लगाएको छ । साथै प्रशासनले यसअघि रोक लगाएको व्यवसायिक क्षेत्र सबै खुला गर्न पाउने भएका छन् । प्रशासनले सुरक्षा मापदण्ड पालना गरेर व्यवसाथिक क्षेत्र सञ्चालन गर्ने निर्णय गरेको हो ।