लटरीको नाममा ठगी, प्रहरीकै लागि च्यालेन्ज

विदेशमा बसेर खाता मार्फत करोडौको ठगी धन्दा चलिरहेको प्रहरी अनुमान

विनय दीक्षित

म फलानो बोल्दै छु, तपाईको लटरी परेको छ, २० लाख रुपैयाँ प्राप्त गर्नका लागि निम्न बैंकमा सम्पर्क गर्नु होला, खातामा यति रकम पठाउनु होस, भनेर तपाईलाई ह्वाट्सएप, म्यासेन्जर, भाइबर लगायतमा कहीं फोन आएको छ र तपाईले निर्देशानुसार काम गर्नु भएको छ भने तपाई ठगीमा पर्दै हुनुहुन्छ ।

भाद्र १० गते बाँके नरैनापुर गाउँपालिका वडा नं.६ बस्ने दिलीप मौर्यलाई यस्तै फोन ह्वाट्सएपमा आयो । उनले २० लाख रुपैयाँ प्राप्त गर्ने तरिका फोनकर्ता संग सोधे । फोनकर्ताले उनलाई मैले भनेको खाता नं. मा ४० हजार रुपैयाँ जम्मा भने र तरिका सिकाए । मौर्यले रकम ट्रान्सफर गर्न नसकेपछि फोनकर्ताले उनको मोबाइल बैंकिङको विवरणहरु लियो र आफै रकम ट्रान्सफर गर्यो । रकम ट्रान्सफर भएको ३ दिन भित्र पनि २० लाख रुपैया प्राप्त नभएपछि खोजी सुरु भयो ।

मौर्य आइतबार आफ्नो खाता भएको बैंक सनराईज बैंक लिमिटेड नरैनापुर शाखामा सम्पर्क गरि म्यानेजर खडग प्रसाद देवकोटालाई पूरै घटना विवरण जानकारी दिएपछि उनले तत्कालै मोबाइल बैंकिंग ब्लक गरेर पिन नम्बरहरु परिवर्तन गरे । तर, फोनकर्ताले आफै मोबाइल बैंकिंग प्रयोग गरेर रकम स्थानान्तर गरेका कारण सिटिजन बैंकको कुन ब्यक्तिको खातामा रकम गएको हो सो बारे विवरणहरु प्राप्त हुन सकेको छैन ।

मौर्य पहिलो ब्यक्ति होइनन्, नरैनापुर ५ बस्ने सद्दाम शेषले पछि एक महिना अघि १० हजार रुपैयाँ यस्तै अपरिचित ब्यक्तिको खातमा पठाएका थिए । उनले पनि हाल सम्म २० लाख रुपैया प्राप्त गर्न सकेका छैनन् ।

घटना बारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय भगवानपुरले सिटिजन बैंकमा रहेको रकम प्राप्त गर्ने ब्यक्तिको खाता लगायत विवरण बुझ्ने प्रयास गरिरहेको जानकारी दिएको छ ।

‘प्रहरीले समेत पटक पटक नागरिकहरुलाई सचेत गराउँदै आएपनि आफ्नै गल्तीका कारण नेपालीहरु ठगीमा पर्दै आएको पाइयो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले भने, ‘कसैले विना कारण २० लाख रुपैया किन दिन खोजेको छ, यति त बुझ्नु पर्छ ।’

‘हामीले बैंकिंग प्रणाली एकदम सुरक्षित बनाएका छौं, उपभोक्तालाई पनि अनलाईन वा मोबाईल बैंकिंग प्रयोग गर्नु अघि हामीले सुरक्षाका सबै नियमहरु बुझाउँछौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै सनराईज बैंक नरैनापुर शाखाका प्रमुख म्यानेजर खडग प्रसाद देवकोटाले भने, ‘रकम पठाउनु अघि नै सबै विवरणहरु पूर्ण रुपमा चेकजाँच गर्नु पर्छ, पठाएपछि खासै अर्थ हुँदैन ।’

‘यो कारोबार त करोडौमा भएको अनुमान छ, तर सबैले उजुरी गर्दैनन्,’ बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले भने, ‘हामी कहाँ उजुरी आएपछि काठमाडौमा रहेको साइबर सेलबाट नै थप अनुसन्धान गर्नुपर्ने अवस्था छ ।’ ‘सामान्य प्रहरी युनिटबाट त यी विदेशी र खासगरि इन्टरनेटका माध्यमबाट हुने ठगी नियन्त्रण गर्ने विषय असम्भव जस्तै छ’, एसपी अधिकारीले भने, ‘यो गिरोहले प्रहरी समेतलाई च्यालेन्ज गर्ने अवस्था आइलागेछ ।’

‘यसरी ठगिमा परेका मध्ये बाँकेमा हालसम्म ३ जनाले मात्रै उजुरी दर्ता गरेका छन्’, एसपी अधिकारीले भने, ‘मोरंग जिल्लामा खातामा भएका ब्यक्तिको नाममा रकम ट्रान्सफर भएको विषयमा अनुसन्धान गर्दै जाँदा निज ब्यक्ति विदेशमा रहेको र दोस्रो दिन खाता नै बन्द अवस्थामा फेला परेको थियो ।’

‘नागरिक आफै सचेत नभएसम्म यो ठगीको जरो भाँच्न सकिन्न’, अधिकारीले भने, ‘हामी एक स्तरमा प्रयास गर्छौं, साइबर अपराधीको जालो अर्कै तिर मोडिन्छ ।’ उनले भने, ‘खाता प्रयोग गर्दा सुरक्षाका सबै र अधिकतम मापदण्ड प्रयोग गर्नु नै उचित हो ।’

मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको मानहानी गर्ने घटना बढेर गएको हो । ‘अपराधिक प्रवृत्ति तथा अञ्जानमा साइबर अपराध सम्बन्धी घटना हुने गरेको छ,’ प्रहरी अधिकारीहरुले भन्छन्, ‘यसलाई निरुत्साहित गर्न कारवाहीको पाटो निकै चुनौतिपूर्ण रहेको छ ।’ प्रहरी अधिकारीहरु आम नागरिकलाई साइबर अपराध बारे जानकारी दिनु, नागरिक आफैले पनि प्रविधिको प्रयोग गर्दा सचेत हुनु नै ठगी तथा अपराधिक गतिविधिबाट जोगिने भरपर्दो उपाय भएको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया