गद्दी बाहिर र भित्रको साहु बुढाको जीवनचर्या फरक थियोे । हरेक विहानी २,३ घण्टा पुजामा बिताउने उनी २४ क्यारेटका धार्मिक, पूर्ण शाकाहारी मात्रै हैन पान, सुपारी र खैनी चुरोटसम्म लिँदैनँथे । उनीलाई लहड लागेपछि सहरका नामुद सायरहरुलाई निम्त्याएर मुसायरा सुन्ने गर्थे । आफ्ना नाममा कयांै गजलपनि लेखाएका थिए । उनी दानी थिए, दानको चर्चा गराउने तरिका पनि गज्जबकै थियो ।
निख्खर सेतो धोती, कुर्ता, कालो जुहारकोट, बिर्के टोपी, दुवै हातका औंलाभरी औठीँ,त्यसमा पनि देब्रेहातको साहिंली र माइली औंलामा चम्किरहेका हिराका । अरु औँलामा भने ज्योतिषी सल्लाह, ग्रह र नक्षत्र अनुसारको विभिन्न धातुमा महंगा पथ्थर जडिएका ।

उनको पारिवारिक संस्कारमैं ब्यापार नसा नसामा बगेको थियो । हरेक व्यापारीको मूल धर्म भनेकै ‘नाफा’ कमाउनुहुन्छ । नाफा नै सपना, विपना, धर्म, कर्म र नैतिकता । अन्य सबै सम्बन्ध पाल्सी । नाटकीय र कुटनीतिक । व्यापारीले समाजलाई पनि नाफा र घाटाको रुपमा लिन्छ, व्यवहार गर्छ । आफनै आमाबाबा र आफन्तसंग पनि नाफा खाएन भने एउटा असल व्यापारी पनि जात फाला ठहरिन्छ ।
हरेक दिन उनी पुगेपछि गद्दीको रौनकनै फेरिन्थ्यो । मगमग आउने वास्नाले गद्दी वरीपरी नै सुगन्ध फैलिन्थ्यो । गुमस्तासंग असुलीको हिसाव किताव ४ जना मुन्सीले सम्हालेका बही खातामा मुडियामा (महाजनी भाषा) लेखिरहन्थे । समस्या परेपछिको सल्लाहका लागी गुमस्ता अगाडि निहुरिएका हुन्थे । एउटा अलग संसार थियो, उनको । जंगी पठानहरुले सुरक्षा दिइरहेको गद्दी बैठक कुनै नवावको दरवार भन्दा कम थिएन ।

गद्दीमा बसे पछि उनी तिन तेह्रको कुनै अर्थ राख्दैनथे । व्यापारी धर्ममा उम्दा थिए । सुनदेखि नुनसंम्म कारोवारमा व्यस्त हुन्थे । व्याजे साहुको जमिन र घरमाथी आँखा गड्थ्यो । सहरका अधिकांस घर पनि धरौटी राखेर गर्जो टार्दिँदै कालान्तरमा उनकै हुन्थे । भनिन्थ्योः सहरमा बन्धिकी उतार्न नसकेका ऋणीका ३ सय ३७ घर कालान्तरमा उनका परिवारका नाममा फेरियो । तराईदेखि हिमालसम्मका तमसुकका कथाले सन्दुस भरिएका हुन्थे । सावाँव्याज उठाउन क्षेत्रैभरका हाकिम,पुलिस,न्यायाधिश सेवामा समर्पित हुन्थे । सबैको पेटको क्षेत्रफल र औकात र हैसियतको तराजु मस्तिकमा राखेर बोली र ब्यबहार गर्ने भएकाले जिल्ला जिल्लामा उनले खासखास ठूलावडा, हैकमीहरु इष्ट बनाएर राख्या हुन्थे । तीनैैमार्फत उनको आर्थिक साम्राज्य चलेको हुन्थ्यो । वर्षमा एकपटक उनका गुमस्ता पाहाड उक्लिँदा उधारो खाएर गाउँमा व्यापार गर्ने ‘साहुजीहरुमा’ हाहाकार हुन्थ्यो । अलप हुन्थे । पुँजी र व्यवसायको सम्राज्य पश्चिम नेपालमा फैलिएको थियो । सामाजिक सेवाको आवरणमा एकातर्फ दानी, धर्मात्मा, समाजसेवी कहलिन्थे, अर्कातर्फ दाताको दानका खजान्ची बनेर अर्थलाभ चम्किरहेकै हुन्थ्यो ।

समयले कोल्टे फेर्दै गयो । व्यापारको रुप फेरिंदै गए, नयाँ व्यापारी सहर पसे । बाटो खुल्यो । राजर्माग हुँदै चेतनापनि पुरानो सहरमा पस्यो । शरीर बुढाउँदै जाँदा सन्तान उनीजस्तै चंखचतुर भएनन् । व्यापारको सम्राज्यमा सेँध लागेपछि कूलमा संशय पढन थाले । जो, जहाँ, जस्ल,े जेजे पाउँछ त्यो आफनो बनाउन थाल्यो । बुढा साहुजी लालपुर्जा र तमसुकको खात र्हेदै पुराना दिन गम्न थाले । मुन्सी र गुमस्ताको छटनी हुँन थाल्यो । बुढा गल्दै जाँदै थिए, तर गद्दीका पुरानो सान भने धिकिर धिकिर हुँदा पनि चम्किला हिराका औँठीले तुजुगका कथा कहिरहन्थ्यो ।

आशीर्वादमा .लक्ष्मीको वरदान पाएका कुवेर रुपी साहु बुढाजस्तै पौरखी र धनपति भएस् भन्ने एकाथरी थिए भने घरवार लुटिएकाहरु भने सुस्तरी उनकोे उछितो परोस् भनेर गाली पनि गर्थे । समय फेरियो । देशमा माओवादी विद्रोहले उनको कारोवारमा असर पर्यो । पैसाका चांग बनेका तमसुकका बिटा फोस्रा कागज बने । ठूलाबडा इस्ट पनि गाउँ, जिल्लामा टिकेनन्, गुमस्ता गाउँ, पहाड चहार्न नसक्ने भो ।
रंगीन स्वभावका साहु बुढाका आफ्नै हकिम र वैद्य थिए । उमेरदेखिनै शक्ति वर्धक गोलीका पारखी तन्नेरी झिल्केका कथा चोक बजारमा खुसुरफुसुर हास्यरस नबनेका हैनन् । । तर, उमेर र शक्ति, रुपको साइनो गजबै हुन्छ । ढल्दो उमेर, खस्कँदो व्यापार सम्राज्य, सम्पति मोहले बढेको पारिवारिक कलह, कागजका खोष्टा बनेका तमसुक, टेर्न छोडेका आसामीले गर्दा साहु बुढा क्रमशःगल्दै गएर विस्तरा पक्रिए ।
थला परेका साहु बुढाको शरीर सुनिँदै गयो । डाक्टर, हकिम वैद्यले रोग खुट्याउनै सकेनन् । तब लखनउ मेडिकल कलेजमा लगियो । उपचार किन्नमा कुनै कसर राखिएन । सन्तानलाई व्यावसायको पिरामिड, सम्पत्ति, तमसुक, लालपुर्जा अन्तिम घिड्किसो रहिरहँदासम्म सबै सम्झाए । उपचार गर्न सके पनि काल टार्न नामुद डक्टरले पनि सकेनन ।
ंंंंंंंंंं…
यसै पनि सहरका धनाढ्यहरुको सद्गतका लागी अयोध्यानै लैजाने चलन छ । अझ साहु बुढा रामभक्त, पूर्ण धार्मिक । गंगा किनार अयोध्यानै लगियो । अर्थी सजाउने देखी मलामीका ताँती चर्चामा रहे । कुनै दिनका धनशक्तिका साम्राज्यपति साहु बुढाको भब्य चीता र असंख्य मलामी देख्दा कुनै महाराजको भन्दा अन्तिम संस्कारमा कमी झल्कदैनथ्यो । चन्दन चीतामा ढलिरहेका बृद्धको सुन्निएको शरीरले अनुहार नचन्निे भइसक्ता पनि औँलामा चम्किरहेका हिराको औठीँले लासको हैसियत जनाउथ्यो ।

दागाग्नीको विधी विधान पण्डितजी पाठ गर्दै, निर्देशन दिँदै गए । औंठी फुकाल्ने कोशिस सफल भएन । तब खलबली मच्चियो । एकथरी भन्न थालेः ज्यान त गयो, भने जाबो औठीँको के कुरा ! अर्कोथरी भन्दैथेः त्यस्तो कुरा कहाँ हुन्छ ! लास जलिसकेपछि पनि हिरा र सुन जल्दैन, अस्तुबाट निकाले भैहाल्छ । तेस्रोथरीले भनेः यसै पनि लास जलेर खरानी हुँने, उसै पनि । खरानीमा परेको हिरा सुरक्षित नै होला भन्ने ठेगान हुँदैन । त्यसैले निकाल्न नसके औला नै काटेर भएपनि निकाले हुन्छ । एकाध छोडेर मलामीबीचमा औलै काटेर औठी निकाल्ने सहमतभयो । औठी अन्तिमकृया गर्ने ‘जल्लाद’वा सर्जन कोही त्यहाँ थिएन, धर्मात्मा साहु बुढाको चीता पनि अन्य जातिले छुने कुरै भएन । मुखाग्नी दिएर स्वर्गधाम त छोरा नै हो, उसैले सम्पत्ति खाने र कृयाकर्म गर्ने भएकाले औठीँकृया पनि उसैले गर्न विधीसम्मत हुँने मलामी समाजको निर्णयले धर्म पनि जोगियो, हिराको औठी पनि ।

प्रतिक्रिया

प्रतिक्रिया