नेपालगन्जमा पर्यटन विकासको बहस

बाँकेको नेपालगन्जमा कोरोना कहरबीच पनि पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि गर्नुपर्ने सम्भावित कदमबारे अन्तक्र्रियात्मक बहस गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जले बाँके पर्यटन मञ्च, नाट्टा लगायतसंगको सहकार्यमा पर्यापर्यटनसँग सरोकारवालाहरुको सहभागिताका लागि शनिवार नेपालगन्जमा बृहत बहस आयोजना गरेको हो ।


स्थानीय सरकारका प्रमुखहरु, मध्यवर्ती क्षेत्रका पदाधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, नाट्टाका अध्यक्ष, स्थानीय प्रशासनका अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको सहभागितामा गरिएको बहसमा अधिकांशले पर्यटनप्रतिको राज्यतहको दृष्टिकोणमैं परिवर्तन आवश्यक भएको बताए । नेपालको पर्यटन प्रवद्र्धनमा नेपालीनै दुस्मन भएको अधिकाँश वक्ताको थियो ।
भारतीय पर्यटकलाई सहजै नेपाल प्रवेश गर्ने बातावरण मिलाउनु पर्ने धारणा राखेका वक्ताहरुले रातपरेपछि प्रहरीले सिट्ठी फुक्दै होटल तथा रेष्टुरेन्ट बन्द गराउने, बाटोमा पर्यटकलाई असुल्ले र आतंकित बनाउने हर्कत बन्द गर्न सम्बद्धहरुको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सीमा नाकामा एकीकृत चेकपोष्टको आवश्यकता औंल्याए ।


नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल शम्शेर राणाले नेपालगन्जलाई ‘क्यासिनो सिटी’का रुपमा विकास गर्न लागिएको जानकारी दिंदै त्यसअघि सीमा नाकामा पर्यटकहरुप्रति गरिने व्यवहारमा व्यापक परिवर्तनको आवश्यकता औंल्याए । नेपालगन्ज क्षेत्रमा ६÷७ वटा क्यासिनो तयार भइसकेको जानकारी दिंदै नगरप्रमुख डा. राणाले १०\१२ वटा क्यासिनो सञ्चालनमा आउने योजना सुनाए । त्यसो हुन सके एक रातमा झण्डै २ करोडसम्मको कारोबार हुन्छ, नगरप्रमुख डा. राणाले भने , यो कारोबारबाट सबैतिर फाइदा पुग्छ ।
गोरा छाला भएकालाई मात्र पर्यटक देख्ने नेपालीको बानीलाई परिवर्तन गर्नुपर्ने सुझाव नगरप्रमुख डा. राणाको छ ।


नाट्टाका अध्यक्ष अच्युत गुरागाइले निकुञ्जको ‘ब्राण्डिङ’ र पर्यटकको सुविधामा ध्यान दिनुपर्ने सुझाव दिंदै पर्यटनको विकासका लागि निजी क्षेत्रले लगानी गर्ने भएकाले सरकारले यसमा सहजिकरण गर्नुपर्ने बताए ।
अन्तक्र्रियात्मक बहमा सहभागीहरुले बाँके राष्ट्रिय निकुञ्ज हेर्न आउने पर्यटकको संख्या बढ्न नसकेकोमा चिन्ता गरे । निकुञ्ज घुम्न आउनेहरुले प्रशस्त बन्यजन्तु, प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जिप सफारी तथा ¥याफ्टिङ गर्न सकिने ब्यवस्था भए पनि प्रचार हुन नसक्दा निकुञ्ज ओझेलमा परेको उनीहरुको भनाइ थियो ।


बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ, घोरल, हात्ती, चितुवा, हरिण लगायतका बन्यजन्तु निकुञ्जमा हेर्न र देख्न सकिने अवस्थामा पनि अपेक्षित रुपमा पर्यटक पुग्न नसकेको बतनाए । बाँके निकुञ्जका बन्यजन्तु हेर्नका लागि हात्ती र जीप सफारीका साथै निकुञ्ज भित्र मचान बनाइएको जानकारी दिंदै शाहले पूर्वाधार तयार भएकाले अब पर्यटक आउनुपर्ने बताए । हात्ती सफारीका लागि बाँके राष्ट्रिय निकुञ्जले ६ वटा हात्ती ब्यवस्था गरेको प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिंदै भने, जीप सफारी र हाईकिङको समेत गर्न सकिने व्यवस्था छ भने हात्ती सफारी र जीप सफारीबाट बाघ, चित्तल, हरिण, हात्ती लगायतका बन्यजन्तु हेर्न र देख्न पाइन्छ ।’

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले राप्ती नदीमा ¥याफ्टिङ गर्ने तयारी गरिएको जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोषको बर्दिया संरक्षण कार्यालयका प्रमुख डा.रविन कडरियाले कोरोनाका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ संरक्षणमा चुनौती देखिएको औंल्याए ।


नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पर्यटकीय क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने बतनाए । उनले नेपाल भारत सीमामा पर्यटक सूचना केन्द्रको स्थापना, पर्यटकका लागि रात्रीकालिन जीवनको सुविधा र सुरक्षा सुनिश्चितता औंल्याए ।
पर्यटन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष भाष्कर काफ्ले, पर्यटन व्यवसायी देवानन्द अर्याल लगायतले कोरोना कहरमा राज्यले सुविधा दिने साटो झनै समस्या सिर्जना गरिरहेको भन्दै अब प्रोटोकल पालना गर्दै व्यवसाय सञ्चालनको वाताबरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले भने कोरोनामा बाँचेपछि सबै व्यवसायिक क्षेत्रको विकास सम्भव हुने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया