सन्दर्भ : बलपूर्वक ब्यक्ति बेपत्ता पार्ने कार्य बिरुद्धको दिवस

बाँके कोहलपुकी देउसरा बिक बेपत्ता पारिएका श्रीमान धनसिंह कामीलाई नसम्झेको दिनै हँुदैन । साँझमा कुकुर भुकेको बेला होस वा टाढाबाट घरतर्फ कोही आईरहेको अवस्थामा श्रीमानको सम्झनाले उनलाई सताउने गर्दछ ।

बेपत्ता पारिएका श्रीमानको खोजखवरका लागी कहिले मानव अधिकारका कार्यालय त कहिले द्वन्द्व पीडितका आन्दोलनमा धाईरहने देउसराको न दिनको भोक छ न त रातको निन्द्रानै । आफन्तको खोजीमा १९ बर्ष अनवरत हिडेका उनका बृद्ध खुट्टाहरु पनि अव थाक्न थालिसके, जिउदै आउछन् भन्ने उनको आस पनि अव हराउदै जान थालेको छ । भन्छिन “ श्रीमानलाई खोज्न म कहाँ गईन, सुरक्षा निकाय र प्रशासनमा कयौ पटक धाए । खोजी गरिदिनुको साटो उल्टै हकारेर पठाए । राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरे, सरकारले गठन गरेको बेपत्ता आयोग उजुरी गरे तर श्रीमानको मर्दो जिउदोको कुनै खवर पाउन सकिन’ ।

देउँसराका श्रीमान धनसिंह कामीलाई २०५९ साल बैशाख १३ गते, रातीको ११ बजे आफ्नै घरबाट सुरक्षाकर्मीले गैर कानूनी रुपमा पक्राउ गरि वल पुर्वक बेपत्ता पारेको हो । बलपुर्वक बेपत्ता पारेका १९ बर्ष बिते तर बेपत्ता श्रीमानको अझै कुनै अत्तोपत्तो लाग्न सकेको छैन ।
सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिई पारेका धन सिंह कामी फर्निचर बनाउने मिस्त्री थिए । सुरक्षाकर्मीले पक्राउ गर्दाको समयमा उनी ४६ बर्षका थिए । ज्याला मजदुरी गरेर खाने निम्न आर्थिक अवस्था भएको कामीको परिवारमा सुरक्षाकर्मीले धन सिह कामीलाई वेपत्ता पारिदिए पछि ठुलो बज्रपात आईप¥यो ।

घटना पश्चात सुरक्षाकर्मीहरु ३ पटसम्म घरमा आएर छोराहरु नर बहादुर बिक दिपक बिक, चन्द्र बहादुर बिकलाई धम्क्याउने कार्य मंसिर महिनासम्म गरिरहे । देवीसरालाई गाली गलौज र दुब्र्यवहार गरे । रातीको ११÷१२ बजे घरमा आउने तेरो बुवालाई भेट्न जान्छौ कि कि ज्यानको माया छ भन्दै २ पटक छोराहरु दिपक बिक, चन्द्र बहादुर बिकलाई कोहलपुर बजारसम्म लगेका थिए । छाड्ने बेला पछाडी फर्केमा मारी दिने धम्की दिन्थे । देउसराको जेठो नर बहादुर बिकलाई सेनाले रामजानकी स्कूलमा पढईरहेका बेला मिति २०५९ मंसिर १३ गते पक्राउ ग¥यो । लगेर चिसापानी स्थित भिमकाली गुल्ममा लगेर एक हप्तासम्म सैनिक हिरासतमा राख्यो । एक हप्ता पछि तारेखमा छाडे पनि महिनादिनसम्म हप्ता हप्ताको तारेख लगाए । पीडित परिवार अहिले पनि द्वन्द्वकालमा भोगेका सबै कुरा खुलस्त बताउन सक्दैन । बिगतको त्यो त्रासदीपुर्ण घटनाले उनीहरुलाई झस्काईरहन्छ । बेपत्ता आफन्तको सम्झनाले सताईहन्छ ।

बेपत्ता श्रीमानको खोजी र न्यायका लागी बर्षौ देखि भौतारिता मानसिक पीडा त छदै थियो घरब्यवहार चलाउनमा देउसरालाई समस्या धौ धौ परेको छ । घरको मुली श्रीमानलाई बेपत्ता पारि दिदा आर्थिक, सामाजिक सास्कृतिक असर परेको छ । बिरामी परीरहने देउसरालाई औषधोउपचारमा समस्या छ । त्यस माथी श्रीमानको मर्दो जिउँसोका यथार्थ अवस्था थाहा नपाई मरिने हो कि चिन्ता छ । आफ्नो जिवनकालमै कागक्रिया गर्न नपाईने हो कि भन्ने भय पनि छ ।

२०५९ साल बैशाख १३ गते दिउसो सुरक्षाकर्मीले कोहलपुर कालिकानगरका हसिया बनाउने मजदुर टेक बहादुर बिक (काले) (१९ बर्ष) लाई कोहलपुर बजारबाट पक्राउ गरेका थिए । निज समेतलाई लिई मिति २०५९ साल बैशाख १३ गते राती धन सिंह कामीसगै एकै दिन पक्राउ परेका कोहलपुर कालिकानगरकै युवाहरु दुग्ध बिकाश सस्था कोहलपुरमा काम गर्ने मजदुर राम मिलन बाल्मीकी (२५ बर्ष), खुद्रा ब्यापार गर्ने हिक्मत बिष्ट( २१बर्ष), फलामको जिपमा खलासीको काम गर्ने (बर्ष १६) गोपाल बिकलाई गैर कानूनी रुपमा पक्राउ गरि इलाका प्रहरी कार्यालय कोलहपुरमा लगियो । संगै एकै दिन पक्राउ परेकी छिमेकी गोमा शाहीले पीडितरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा हिरासतमा बिहान ४ बजेसम्म प्रहरीको कुटाईबाट ऐया ऐया भनी चिच्याएको आवाज सुनेकी थिईन । बिहानको ४ बजेतिर गाडी स्टार्ट गरेको आवाज सुनियो । गाडीमा चढाएर लगेको आवाज पनि सुनियोे । गाडी हिडे पछि थुनुवाको आवाज आउन पनि छाड्यो । संगै पक्राउ गरि इलाका प्रहरी कार्यालय कोहलपुरमा संगै राखिएकी नेपाल मजदुर किसान पाटीकी नेतृ समेत रहेकी गोमा शाही ५ दिन पछि रिहा भईन तर धन बहादुर कामी सहितका ४ युवाहरु अझै बेपत्ताको स्थितिमा छन् । पक्राउ परेको भोली पल्ट सरकारी संचार माध्याम रेडियो नेपालबाट सिमराको जंगलमा सुरक्षाकर्मी संगको दोहोरो भिडन्तमा आतंककारीको मृत्यु भनी समाचार सम्प्रेषण भएको थियो । तर सो क्षेत्रमा भिडन्त नभएको पीडित परिवार बताउछन् ।

आफन्तहरु बैशाख १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा जाँदा पक्राउ नगरिएको, आर्मिले कता लगेको भन्ने थाहा नभएको भनी गेट बाहिरैबाट हकारेर पठाए । खोज खवरका लागी पीडित परिवारहरु सशस्त्र प्रहरी तालिम केन्द्र सम्शेरगंज, भिमकाली गूल्म चिसापानी ब्यारेक लगायतका सुरक्षा स्थानमा गए, प्रशासन धाए तर ति निकालये सहि सुचना दिएनन । उल्टै हकारेर धपाई दिए ।

देवीसरा पहिले जस्तो घरायसी काम गर्न पनि सक्दीनन । उमेरले ६० कटेकी उनी रोग र शोकले कुनै काम मन लगाएर गर्न नसक्ने बताउछिन । भन्छिर्न श्रीमानलाई बेपत्ता पारिएको यतिका बर्ष भयो । समाजको सामु मैले आफुलाई एकल भन्ने कि दोकल ? आफै अन्योलमा छु । धर्ममा आस्था छ । मारेको भए काजक्रिया नगर्दा मृतआत्मा भड्किरहन्छ भन्छन् । स्वर्ग जादैनन भन्छन् । कम्तीमा बेपत्ता श्रीमानको मर्दो जिउदो अवस्था बताई दिए मर्ने बेलामा ढुक्कले सास त जान्थ्यो’ ।

बाँके कोहलपुरका भोजराज ढकाल भिन्न पाटीमा आस्था राख्ने भएकै कारण तत्कालिन माओवादीको निराशामा परे । बाबुको श्राद्ध गर्दै गरेको अवस्थामा २५ भाद्र २०६० का दिन माओवादीका कार्यकर्ताले उनलाई जवरजस्ती घरबाट उठाएर लगे । बृद्ध आमा बिष्णुमाया रोईकराई गरिन, हारगुहार मागिन । तर उनको पुकार माओवादीले त सुनेन नै डरत्रासका कारण गाउँले समेतले उनलाई सहयोग गर्न सकेनन । एक्छो छोरालाई माओवादीले जवरजस्ती अपहरण गरे पछि मर्न भनी खोलामा पसेकी बिष्णुमाया कलिला नाती नातीना सम्झेर रुदै घर फर्किन । यतिका बर्षसम्म छोराको जिउदो मर्दोको वास्तविक अवस्था थाहा नपाएकी बिष्णुमाया आशा र निराशाको दोसाधमा छिन् । भन्छिन ‘छोराको जिउँदो मर्दोको अवस्था थाहा नपाई मरिने भो’ ।

धनसिंह कामी र भोजराज ढकालको घटना त प्रतिनिधिमुलक घटना मात्रै हुन । नेपालमा सशस्त्र द्वन्द्वका क्रममा सयौ ब्यक्तिलाई द्वन्द्वरत पक्षले बेपत्ता पारिए पनि उनीहरको अवस्था सार्वजनिक हुन सकेको छैन । तत्कालिन नेपाल सरकार र बिद्रोही माओवादीका बिचमा २०६३ साल मंसिर ५ गते बिस्तृत शान्ति सम्झौता हुदा दुवै पक्षबाट बेपत्ता पारिएका ब्यक्तिहरुलाई ६० दिन भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाईयो । अन्तरिम संबिधान २०६३ मा संक्रमणकालिन न्यायका संयन्त्र मार्फत द्वन्द्व पीडितलाई न्याय दिलाउने भनियो । सो बमोजिम बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग पनि गठन गरियो तर यी सव भन्ने कुरा भएका छन् । बेपत्ता पारिनेहरु बेपत्ताकै स्थितिमा छन् । आयोगमा पदाधिकारीहरु ६÷६ बर्षसम्म आयोगमा जागिर खाएका छन् । तर एउटै पीडित परिवारलाई न्याय दिलाउन सकेका छैनन । एउटै बेपत्ता ब्यक्तिलाई सार्वजनिक गराउन सकेका छैनन । पीडित, अधिकारकर्मी, सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय समुदायले संक्रमणकालिन न्याय सम्बन्धी कानूनमा आवश्यक सशोधन गर्न र पीडित मैत्री संक्रमणकालिन न्याय प्रक्रिया थाल्दा भनेका छन् तर सरकार ति काम गर्न र पीडितलाई न्याय दिलाउन होईन आयोग पदाधिकारीको म्याद थप्नमै सिमित छ ।
बेपत्ता ब्यक्तिहरुको सम्झना गर्ने र उनीहरुको सार्वजनिकरण र न्यायको पक्षमा वकालत गर्ने उदेश्यका साथ प्रत्येक बर्ष ३० अगष्टका दिन जवरजस्ती बेपत्ता पार्ने कार्य बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ । तर अन्तराष्ट्रिय स्तरमा वेपत्ता दिवस मनाई रहँदा नेपालका बेपत्ता पीडितहरुको अवस्था भने झन झन दर्दनाक बन्दै गईरहेको छ । जिउदै छन् कि मरीसके भन्ने आशा र निराशाको दोसाधमा रहेका बेपत्ता पीडितहरु रातदिनको मानसिक पीडा भोग्न बाध्य भैरहेका छन् ।

दशक लामो सशस्त्र द्वन्द्व सकिएको पनि १५ बर्ष भै सकेको छ । जनताका मुत्तिका लागी युद्ध लडेका भन्नेहरु पनि पटक पटक सरकार र शक्तिमा पुगेका छन् । भाषणमा चर्का कुरा गरे पनि द्वन्द्व पीडितहरुको चहराईरहेको घाउमा मलम पट्टी लगाउन र उनीहरुलाई न्याय दिलाउन उनीहरुले पनि ठोस पहल गरेको देखिएको छैन । बेपत्ता परिवारहरु अहिले भन्दैछन् । “दश बर्षे द्वन्द्वले हामीलाई आखिर के दियो ? केही पाउनु भन्दा पनि हामीले ज्यादा गुमायौ । गरिवी अभावसंगै निरन्तरको पीडा, बेदना, दुख र कष्ट पायौ । न हाम्रा मान्छेले गरेको बलिदानीको उचित सम्मान र कदर हुन सक्यो । न त हाम्रो पीडा नै सम्बोधन हुन सक्यो ।

अन्तमा देशमा दिगो शान्ति स्थापना, दण्डहिनताको अन्त्य, कानूनी शासनको स्थापनाका लागी र बेपत्ता लगायतका समग्र पीडितको सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चितताको लागी सरकार र प्रमुख राजनैतिक दलहरु गंभिर एवं बन्न जरुरी छ । पीडितको पीडामा राज्यसंयन्त्र संबेदनसिल बन्न पनि उत्तिकै जरुरी छ । अव बेपत्ता पारिएकाहरुलाई बेपत्ताको स्थितिमा राखिराख्ने होईन कि उनीहरुको अवस्था तुरुन्त सार्वजनिक गर्न पट्टी तुरुन्त लाग्नु पर्दछ । यसका लागी सरकारले संक्रमणकालिन न्याय सम्बन्धी कानूनमा आवश्यक संशोधन, स्वतन्त्र, पारदर्शि र पीडितमैत्री बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पुनरगठनको तत्काल पहल थाल्न जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया