भावुक योगी

भारतमा कोरोना संक्रमणको जोखिमले उकालो चढिरहँदा त्यतै जाने नेपालीहरुको भिड बढिरहेको छ । खेतीपाती सकेर हरेक वर्ष झैँ यस वर्ष पनि जोखिमको बेवास्ता गर्दै रोजगारीका लागि भारत जाने क्रम बढेको हो ।
साउन तेस्रो सातादेखि शुरु भएको भारत जानेहरुको लर्काे नेपाल भारत सीमा क्षेत्रमा पर्ने बाँकेको नेपालगन्ज रुपैडिहा, कैलालीको गौरीफण्टा र कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी बनबासा नाकामा दिनहँु बढिरहेको देखिन्छ । सुदरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रबाट भारत जाने नेपालीको लर्को देखिएको हो ।
सीमा क्षेत्रमा खटिएका प्रहरीको तथ्याङ्क अनुसार, लुम्बिनी तथा सुदरपश्चिम प्रदेशका पहाडी र तराई जिल्लाका मानिसहरु कामका लागि भारत जाने क्रम हिजोआज दिनहुँ वृद्धि भएको छ । असार र साउन महिनामा किसानहरुलाई विशेष गरी खेतीपातीको चटारोले भ्याई नभ्याइ हुने गर्छ । खेतीपाती सकेर गाउँमा केही काम नहुने भएकाले आफ्नो घरयासी खर्चको जोहो गर्न यस क्षेत्रका नेपालीहरु हरेक वर्ष झैँ यस वर्ष पनि भारत तर्फ जान थालेको उनीहरु बताउँछन् ।
भारतको सिमला जान लागेका कैलाली लम्कीका कृष्ण थारुले मकै छर्ने र धान रोपाई गरेर सकिएकाले दशैँ, तिहार, माघी जस्ता चाडपर्वको खर्च जुटाउन रोजगारीका लागि जान लागेको बताए । कृष्ण थारुजस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसहरु साउन महिनाको तेस्रो साताबाट नेपालगन्जको रुपैडिहा, कैलालीको गौरीफण्टा र महेन्द्रनगरको गड्डाचौकी बनबासा नाका हुँदै भारत तर्फ मजदुरी गर्न जाने नेपालीहरु दिनप्रतिदिन बढ्दै गएका छन् ।
नेपाल भारत सीमास्थित नेपालगन्जको जमुनाह प्रहरी चौकीका अनुसार, रुपैडिहा नाका हुँदै दैनिक झण्डै २ देखि ३ हजार नेपाली भारत तर्फ मजदुरीका लागि जाने गरेका छन् । बालबच्चा लिएर सपरिवार भारत तर्फ जाने गरेको पनि पाइन्छ । कैलालीको गौरीफण्टा नाकामा खटिएका सशस्त्र प्रहरीले दैनिक २ देखि ४ हजारसम्म नेपाली नागरिक भारत तर्फ मजदुरी गर्न जाने गरेको जानकारी दिएको छ ।
कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी बनबासा नाका भएर भारत तर्फ जाने नेपालीको संख्या भने यस वर्ष कम रहेको प्रहरीले जनाएको छ । गड्डाचौकी बनबासा सीमा क्षेत्रमा रहेका भारतिय प्रहरीले पिसिआर परिक्षण रिपोर्ट माग्ने, खोप लगाएको कार्ड माग्ने लगायतका अनेकन दुःख दिन थालेका कारण पनि त्यो नाकाबाट नगई नेपाली नागरिकहरु गौरीफण्टा नाकाबाट जान थालेका हुन् ।
बाँकेको नेपालगन्ज रुपैडिहा नाका भएर भारत मजदुरी गर्न जानेहरुमा लुम्बिनी र कर्णाली प्रदेशका दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, सल्यान, रुकुम, रोल्पा, कालीकोट, जुम्ला जिल्लाबाट बढी मात्रामा रहेको जमुनाह प्रहरीले जनाएको छ । कैलालीको धनगढी गौरीफण्टा नाका भएर बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, बैतडी, डडेलधुरा लगायतका जिल्लाबाट भारत जाने गरेका प्रहरीले जनाएको छ ।
नेपाली नागरिकहरु मजदुरीका लागि भारतको गढवाल, सिमला, चण्डीगढ, दिल्ली, बेगंलोर, मुम्बइ लगायतका स्थानमा जाने गरेका छन् । कोरोना महामारीको त्रास हुँदाहुँदै पनि बालबालिकाको पढाइको चिन्तासँगै, चाडपर्वमा खर्चको जोहो गर्नका लागि भारत जानु परेको नाकामा भेटिएका दिलिप विष्टले बताए ।
परदेश जानुको पीडा

खेतीपाती सकेर सुदुरपश्चिम प्रदेशको कैलाली धनगढीस्थिीत गौरीफन्टा नाकाबाट भारत तर्फ मजदुरी गर्न हिँडेका नेपालीहरुको लर्को । नाकामा रहेका नेपाल प्रहरीका अनुसार, यस नाकाबाट मात्रै दैनिक २ देखि ४ हजार जनासम्म नेपाली नागरिक भारत तर्फ जाने गर्छन् । तस्विर ः भावुक योगी, दैनिक नेपालगन्ज