नेपालगन्जमा चौथो विश्व संस्कृत दिवस

नेपालगन्जमा पहिलो पटक विश्व संस्कृत दिवस मनाइएको छ । बाँके जिल्लामा रहेका वैदिक सनातन ओमकार परिवार भित्रका बिभिन्न संघसंस्थाहरुको सहभागितामा चौथो विश्व संस्कृत दिवस भव्य रुपमा मनाइएको हो ।
प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको पूर्वी पार्कमा रहेको सभाकक्षमा ललितकुमार रौनियारले अध्यक्षता भएको कार्यक्रममा राधाकृष्ण संस्कृत गुरुकुल कोहलपुरका बटुकहरुको स्वस्ति वाचन र दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।


कार्यक्रमबारे जरोकिलो प्रतिष्ठान नेपालका आजीवन सदस्य मित्रलाल सापकोटाले संस्कृत नेपाली भाषामात्रैको नभएर समस्त हिमवतखण्डका भाषाहरु लगायत देवनागरी लिपिमा लेखिने, यी क्षेत्रमाबोलिने मौलिकभाषाहरुको समेत जननीभाषा रहेको बताए । त्यसैले संस्कृत भाषाको उत्पत्तिको भूमि नेपालमा संस्कृत भाषालाई प्रचारप्रसार संरक्षण र संवद्र्धन गर्नुपर्ने सापकोटाको भनाइ छ । कार्यक्रमको सहजीकरण गरिरहेका सापकोटाले नेपालको भाषामाथिमात्रै नभएर समाजका हरेक कुरा देखि भान्सासम्म विदेशी संस्कृति र भाषाको आक्रमण भएको कुरा औंल्याए ।


कार्यक्रममा राजन कँडेलले संस्कृतको विज्ञानसँग तादम्यता रहेको धारणा राखे । गुरुद्धारा समिति तथा पतञ्जली योग समिति बाँकेका हरपालसिंह सरदारले संस्कृतको संरक्षण नभए देशको अस्तित्व नरहने भन्दै सबै ओमकार परिवारले यसलाई नेपालको पाठ्क्रममा अनिवार्य गराउनु पर्ने धारणा राखेका थिए ।

अर्का वक्ता कृष्णा पाठकले संस्कृतको महत्वलाई ध्यानमा राखेर नीजि विद्यालयमा समेत आफुले संस्कृत पढाउन थालेको जानकारी दिइन् ।
राधाकृष्ण गुरुकुल कोहलपुरका प्राचार्य तिलक दहालले संस्कृत संभाषण कक्षा सञ्चालन गर्न लागेको र सबैले अर्को पटक पाँचौं विश्व संस्कृत दिवस मनाउँन आउँदा संस्कृतमा सम्बोधन गर्न सक्ने हुनुपर्ने अपेक्षा गरे ।


संस्कृतको महत्व र संस्कृत दिवस माथि प्रकाश पार्दै वक्ता सुदर्शन देवकोटा, आशा विष्ट, श्यामराज शर्मालगायतले वैदिक सनातन माथि सयौं बर्ष देखि भैरहेको आततायीहरुको आक्रमणका कारण संस्कृत र सँस्कृति मासिँदै गएकोले यसकालागि सबै सनातनीहरुले आफ्नो धर्मसंस्कृति र संस्कृतको रक्षा गर्न जुनसुकै आततायीहरुको डटेर सामना गर्नुपर्ने बताए ।


मुख्यवक्ता डा. ढकनाथ सापकोटाले नेपालका राज्य सञ्चालकहरु र शिक्षा नीति निर्माताहरु नै संस्कृत मास्न उद्दत रहेको बताएका थिए ।
कार्यक्रममा विश्व हिन्दू परिषद् बाँकेका अध्यक्ष बृजेश बहादुर सिंह सनातन धर्म महासंघका सदस्य खुमा ओली, नेपाल शिवसेनाका राजकुमार रौनियार, सिद्धि विनायक गणेशधामका संरक्षक गंगाधर कंडेल, सनातनी मञ्च बाँकेका गौरव जैसवाल, ब्राम्हण समाज बाँकेका सचिव हरिबाबु घिमिरे, जरोकिलो महाअभियानका प्रमोद सोनी लगायत पनि सहभागी थिए ।


कार्यक्रममा खुमा ओलीले आफु सनातन धर्म रक्षाका लागि लागेको र सबैले लाग्नुपर्ने बताइन् । कार्यक्रमका अध्यक्ष ललितकुमार रौनियारले यस्ता कार्यक्रमले सबै सनातनीहरु साझा मोर्चामा आउन सहयोग पुग्ने भन्दै संस्कृत दिवस बाँकेमा पनि मनाउन पाएकोमा गौरवान्वित भएको बताए । कार्यक्रममा जनै वितरण पनि गरिएको थियो । सिद्धि विनायक गणेशधामका तर्फबाट तागा बन्धन तथा जनै वितरण गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया