प्रजिअले भने, ‘विद्यालय खोले कोचिदिन्छु’

विद्यालय सञ्चालनको वातावरण बनाउन भन्दै ज्ञापन पत्र बुझाउन गएका प्याब्सन, एन प्याब्सनका पदाधिकारीलाई प्रजिअ गेलालले भने, ‘विद्यालय खोले ल्याएर कोचिदिन्छु ।’ लामो समयदेखि विद्यालय बन्द हुँदा शैक्षिक क्षेत्र अस्तव्यस्त भएको भन्दै संस्थागत विद्यालयका सञ्चालकहरुले उच्च सतर्कताका साथ विद्यालय सञ्चालनका लागि पहल थालेका छन् । त्यसका लागि संस्थागत विद्यालयहरुका छाता संस्था प्याब्सन, एन प्याब्सन लगायतले औपचारिक रुपमै जिल्ला कोभिड व्यवस्थापन समितिलाई विद्यालय सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गर्दै विद्यालय सञ्चालनको पहल अगाडि बढाएका हुन् ।

‘सबै क्षेत्र सञ्चालनमा आइरहँदा उच्च सतर्कताका साथ विद्यालय सञ्चालन गर्छौ भन्दा राज्यले सहयोग गर्नुपर्दछ’, संस्थागत विद्यालयका सञ्चालकहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला शिक्षा समन्वय अधिकारी राम सुरेश यादवलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै भनेका छन्, ‘यस्तै अवस्था रह्यो भने शैक्षिक संस्था धराशयी हुन्छन्, विद्यार्थीको भविष्य जोखिममा पर्छ ।’

प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्य, एन प्याब्सन जिल्ला अध्यक्ष श्याम कुँवर, खजुरा प्याब्सन अध्यक्ष मित्रलाल सापकोटा, बैजनाथ, डुडुवा पालिकाका फोकल पर्सनहरु ज्ञापनपत्र बुझाउन प्रमुख जिल्ला अधिकारी समेत रहेका कोभिड व्यवस्थापन समितिका संयोजक गेलाल र शिक्षा समन्वय अधिकारी यादव समक्ष पुगेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गेलालले शैक्षिक संस्था सञ्चालनमा ल्याउने इजाजत आफुले नदिने प्रष्ट पारे । ‘म विद्यालय खोल्न दिन्न’, कोभिड व्यवस्थापन समितिका संयोजक समेत रहेको प्रजिअ गेलाललाई उद्धृत गर्दै एन प्याब्सन बाँकेका एक पदाधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘खोलेको थाहा पाएँ भने प्रहरी लगाएर कोच्छु ।’ प्रजिअ गेलालको आक्रोशपछि पदाधिकारीहरु निराश फर्किएको उनले बताए ।

विद्यालय सञ्चालनको विषयलाई लिएर स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै बाँकेका आठ वटै स्थानीय तहमा आज शुक्रबार ज्ञापन पत्र बुझाइने एन प्याब्सन बाँकेका उपाध्यक्ष चिरञ्जीवि चन्दले जानकारी दिए । उनका अनुसार, आवश्यक वातावरण बनाउन आजै पत्रकारहरुसँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम संस्थागत विद्यालयहरुले आयोजना गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया