७० जनाको क्षमता भएको बाल सुधार गृहमा हाल १४४ जना बालक
अपराधिक कार्यमा बालकहरुको संलग्नता बढ्दै गएको छ । आफु भन्दा ठूलोको लहैलहैमा लागेर तथा गलत संगतका कारण बालकहरु अपराध कर्ममा संलग्न हुने गरेका हुन् । पछिल्लो समय बिभिन्न अपराधिक क्रियाकलाप बालकहरुको संलग्नता बढ्दै गएको पाइएको छ । बाँकेमा पनि चोरी जवरजस्ती करणी, लागु औषध लगायतका मुद्दामा बालकहरु पक्राउ पर्ने गरेका छन् । कानूनी बिवादमा आएका बालबालिकालाई उनीहरुले गरेको गल्तीको महसुस गराई सुधार गर्ने लक्ष्य बालन्यायले राखेको भएता पनि सो अनुसारका न्यायिक संरचना नहुँदा बालअपराध दिनानुदिन बढ्दै गएको पाइएको छ ।
बाँके डुडुवा स्थित आसमानपुरमा रहेको बालसुधार गृहमा क्षमता भन्दा बढी बालकहरु रहेको पाइएको छ । ७० जनाको क्षमता भएको बाल सुधार गृहमा हाल १४४ जना बालकहरु रहेका छन् । जस मध्ये १४३ जना नेपाली बालक छन् भने एक भारतीय नागरिक रहेको सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले जानकारी दिइन् ।
क्षमता भन्दा बढी हुँदा कोरोना कहरमा बालकहरु सुधार गृहमा कोचाकोच रुपमा बस्न बाध्य भएका छन् । पानीका कारण केही बालकहरुलाई छाला रोग र भाइरल ज्वरो आएको पाइएको अनुगमनमा पुगेका अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए । बिरामी पर्ने कुरालाई मध्यनजर राखी बालसुधार गृहको समन्वयमा कारागार कार्यालय बाँकेबाट स्वास्थ्यकर्मी गई बालकहरुलाई चेक जाँच हुने गरेको छ । एकै कोठामा ४०/५० जना बालकहरु बस्नु पर्दा दाद जस्ता छाला रोगको संक्रमणले बालकहरुलाई सताउने गरेको पाइएको छ । सरुवा रोग भएका कारण केहि दिन निको भए जस्तो भए पनि फेरी एकबाट अर्कोलाई सर्दै बालकहरुमा दाद रोग नियमित समस्या जस्तै रहेको अधिवक्ता गौतमले बताए ।
बाँकेको बालसुधार गृह युसेफ नामक सामाजिक सस्थाले संचालन गर्दै आएको छ । नयाँ आर्थिक बर्ष देखि नेपाल सरकार आफैले संचालन गर्ने भनेता पनि त्यसको कायान्वयन हुन भएको छैन । नयाँ भवनका लागि २ करोड रुपैयाँ बजेट बिनियोजन भई निर्माणको कार्य थालनी भएको सुधार गृहकी इन्चार्ज मगरले जानकारी दिइन् ।
सरकारले संचालन गर्ने भनेता पनि अहिलेसम्म युसेफले नै संचालन गरीरहेको र कहिले देखि सरकारले संचालन गर्दछ भन्ने कुराको टुङ्गो नभएको मगरले बताइन् । मनोसामाजिक परामर्श समेत रहेकी मगरले बालकहरु बिभिन्न कारणले कानूनको बिवाद आउने भएकाले उनीहरुलाई मनोसामाजिक परामर्शका साथै उनीहरुको अपराधिक मनोबृत्तिमा सुधार ल्याई समाजमा पुनस्थापना गराउन सबै लाग्नु पर्नेमा जोड दिइन् ।

वालबालिकालाई दण्ड गर्नु भन्दा सुधार गर्नु पर्छ भन्ने मान्यता बालन्यायले राख्दछ तर ब्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बालन्यायको क्षेत्रमा कार्यरत अधिवक्ता वसन्त गौतम बताउँछन् । गौतम भन्छन्, ‘बालकहरु किन अपराधिक क्रियाकलाप लागेको हुन्छन् भन्ने कुराको अनुसन्धान गरि उनीहरुलाई गल्तीको महसुस गराई समाजमा पुनस्थापना गराउन पट्टी लाग्नु पर्नेमा कारण नखोतली अपराधीको रुपमा मात्र हेर्ने प्रवृत्तिका कारण बालन्यायले अपेक्षित सफलता पाउन नसकेको हो ।’
‘बालबालिकाले गल्ती गर्छन्, अपराध गर्दैनन् । वालवालिकाले गरेको कामको प्रकृति र परीणाम थाहा पाउँदैनन्, अपराध मानिएको कार्य वालवालिकावाट भएको अवस्थामा पनि उनीहरुको मनसाय तत्व सवल र पूर्ण हुँदैन त्यसैले बालकलाई सजाय गर्न सकिन्न, सच्याउन सकिन्छ भनिएको हो,’ अधिवक्ता गौतमले भने ।
बालबालिकाहरु बिभिन्न कारणले अपराधिक क्रियाकलापमा लागेका हुन्छन् । अपराधको परिणाम थाहा नपाई देखासिकि र परिस्थितिका कारणले पनि बालबालिकाहरु अपराधिक कार्यमा लाग्ने गर्दछन् । घर परिवार र सामाजिक परिवेसको नकारात्मक असर पर्नु, आमाबाबुले उचित हेरचाह र संरक्षकत्व प्रदान नगर्नु, गरिवी, वारिवारिक बेमेल, झै झगडा लगायतका कारण बालबालिकाहरु अपराधिक कार्य तर्फ लाग्ने गरेको पाईएको यस्ता कुराका सम्बन्धित पक्षको समुचित ध्यान जानु पर्ने अधिवक्ता गौतमको भनाई छ ।
‘बालन्यायको मुख्य उदेश्य भनेको कानूनको बिवादमा आएका बालबालिकाहरुलाई अपराधीको रुपमा हेर्ने भन्दा पनि उनीहरुको आचरणमा सुधार ल्याउनु हो । उनीहरुलाई असर नागरिक बनाई समाजमा पुनस्र्थापित गराउनु हो । बालन्यायलाई भिन्न दृष्टिले हेर्नु पर्ने मुख्य कारणहरुमा हरेक बालक व्यक्तिमा कुनै न कुनै मात्रामा विज्याई गर्ने र दुराचारी प्रवृत्ति रहन्छ । बालकले गर्ने कानूनको उल्लंघन सोची विचारी गरेको हुँदैन । बाल दुराचारबाट बालक स्वंयम पीडित हुन्छ । बालन्याय प्रशासनको उद्देश्य विज्याईकर्तालाई सुधार्नु हो न कि दण्ड गर्नु,’ गौतमले भने ।
जबरजस्ती करणीका धेरै
बालसुधार गृहमा ८७ जना बालक जवरजस्ती करणी मुद्दाका
समाचारदाता
दैनिक नेपालगन्ज
१४४ जना बालक रहेको बाँकेको बालसुधार गृहमा ८७ जना बालक जवरजस्ती करणी मुद्दाका रहेका छन् । जसमा १४ बर्ष मुनीका २ जना, १४ देखि १५ बर्षका १५ जना, १६ देखि १८ बर्षसम्म ५० र १८ बर्ष नाघेका २० जना बालक रहेको बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले जानकारी दिइन् । जवरजस्ती करणी मुद्दाका ८७ मध्ये ५१ जना मुद्दाको पुर्पक्षको क्रममा रहेका छन् भने ३६ जना फैसला पश्चात सुधार गृहमा रहेका छन् ।
यसैगरि बाँके स्थित बालसुधार गृहमा चोरीका २१ जना, कर्तब्य ज्यान मुद्दाका १४ जना, लागु औषधमा ६, सवारी ज्यानमा ५ जना, कर्तब्य ज्यान उद्योग ३, अप्राकृतिक मैथुनमा ३, जबरजस्ती करणी उद्योगमा २, बालबिवाहका २, आत्म हत्या दुरुत्साहनमा १ जना रहेका छन् ।