
अहिले जे जसरी यस अस्पतालको निम्ती संघीय सरकारका, प्रदेश सरकार र स्थानीय सरकारका साथै यस क्षेत्रमा क्रियाशील राजनीतिक दल, समाजसेवी, उद्योगी ब्यापारीका साथै बिभिन्न संघ संस्थाहरुबाट सहयोग प्रयाप्त भएको छ यसलाई आगामी दिनमा पनि निरन्तरता दिंदै आ.व.०७७/७८ का निम्ती विकास समितिकातर्फबाट तयार पारिएको तत्कालीन, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्ने भनि तयार गरिएको कार्य योजनालाई मूर्त रुप दिएर कार्यान्वयनमा लैजान सकियो भने भेरी अस्पतालको भविष्य सुनिश्चित गर्न सकिन्छ ।
अस्पताल विकास समितिमा पुगेपछि यो यो गरियो भन्ने के छ ?
मेरो नेतृत्वमा लिइएको मौलिक निर्णयहरु मध्य सबै भन्दा पहिले अस्पताल आउने सेवाग्राहीहरुलाई के कसरी सर्वसुलभ ढंगले गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ र त्यसरी प्रदान गरिएका सेवाहरुको अभिलेखीकरण र प्रतिवेदन गर्ने कार्य कमजोर देखे पछि त्यसलाई ब्यवस्थित गर्ने, अस्पतालका अचल सम्पत्तिहरुको खोजीगरि त्यसको संरक्षण गर्ने, अस्पताल परिसरको सरसफाईमा ध्यान दिने काम भएका छन् ।
यस अस्पताललाई नेपाल सरकारको आ.व.०७६÷७७को नीति तथा कार्यक्रमबाट बिशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालका रुपमा घोषणा गरिसकेको सन्दर्भमा सोका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार बिकासका लागि डि.पि.आर.सहितको इन्डोर, ओ.पि.डी., चिकित्सक र नर्सिङ्ग आवासका कार्य र जनशक्ति थप्नका लागि ओ.एन.एम.सर्भे गरि मन्त्रालय पठाउनुका साथै बर्षौे देखिकार्यरत बिकास समितिकाकर्मचारीहरुको वृत्तिविकास र बढुवाका निम्ती कर्मचारी नियमावली संशोधनको कार्य सम्पन्न गरिएका कार्यलाई आफ्नो कार्यकालको मौलिक निर्णयका रुपमा लिएको छु ।
खास गरी भेरीको उज्यालो भबिष्यको लागि बाधक के देखियो ?
क) समयानुकुल अस्पतालको दरबन्दी परिवर्तन नहुनु
ख) जनशक्ति अभाव (२०४८ सालमा स्वीकृत चिकित्सकको दरबन्दी अनुसारका आधा जनशक्ति समेत हालसम्म पनि मन्त्रालयबाट नपठाइनु ।)
ग) आवश्यक भौतिक पूर्वाधारहरुको बिकासमा ध्यान नदिनु ।
घ) कर्मचारीहरुको वृत्ति विकास तर्फ पर्याप्त मात्रामा ध्यान नपुग्नु ।
ङ) कर्मचारीहरुमा उच्च समर्पण भावका साथ सेवा प्रदान गर्नु पर्छ भन्ने भाव पैदा नहुनु ।
अस्पतालको नियमनका लागि विकास समितिको भुमिका पर्याप्त छ ? कि नीतिगत सुधार आवश्यक छ ?
अस्पतालको नियमनका लागि विकास समितिको भूमिका पर्याप्त छैन । त्यसैले सांच्चिकै अस्पताल विकासको क्षेत्रमा विकास समितिको भूमिका खोज्ने हो र चाहने हो भने ब्यापक रुपमा नीतिगत सुधार गर्न आवश्यक छ ।
विकास समितिका नाममा अस्पतालमा अझै राजनीतिक हस्तक्षेप भइरहेकै गुनासो सुनिन्छ । यो प्रणाली ठिक हो ?
अस्पताल विकास समितिमा मात्र होइन, कुनै पनि समितिहरुमा राजनीतिक हस्तक्षेप हुन्छ भने त्यो राम्रो होइन । जहांँसम्म भेरी अस्पताल विकास समितिका नाममा राजनीतिक हस्तक्षेप भयो की भन्ने जिज्ञासा हजुरको हो भने मेरो कार्यकाल भरी गरिएको पनि छैन त्यो गरिने पनि छैन ।
आफ्नो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?
हुनत मेरो कार्यकालको समीक्षा गर्ने बेला भइसकेको छैन । तथापी कोभिड १९ को महामारीका बिचमा अस्पताल विकास समितिको अगुवाईमा जे जसरी अस्पताल कर्मचारी परिवार, स्थानीय प्रशासन, सुरक्षा निकाय, निजी स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्न सकियो, निकै उत्साहप्रद रह्यो ।
देशभर क्रियाशील गैह्र सरकारी संघ संस्थामात्र नभई यस क्षेत्रमा क्रियाशील राजनीतिक दल, समाजसेवी, उद्योगी ब्यापारीहरु समेतको (संलग्नता) सहयोगमा कोभिड–१९ जस्तो महाब्याधी रोग संग जुधेर हजारौंको ज्यान बचाउन सफलमात्र भएनौं की त्यसै बिचमा निरन्तर रुपमा अन्य रोगका बिरामीहरुलाई समेत निरन्तर रुपमा सेवाप्रदान गर्न भेरी अस्पताल सफल भयो । यसैकारण देश भरमैं हामी सबै भन्दा उत्कृष्ट अस्पताल बन्न सफल भएबाट म निर्धक संग भन्न सक्छु की छोटै समयमा पनि मेरो कार्यकाल सफल नै रह्यो ।
अन्त्यमा,
देशमा स्वास्थ्य संग सम्बन्धी जटिलताहरु उत्पन्न हुंँदाको अवस्थामा होस् वा आर्थिक अभावले पिल्सिएका आमनागरिका लागी एक मात्र आशा र भरोसाको केन्द्रका रुपमा सरकारी अस्पताल नै हुने गरेको छ । त्यस कारणले १३१ बर्षको गर्विलो इतिहास बोकेको भेरी अस्पतालको बिकासका लागि यस क्षेत्रमा क्रियाशील राजनीतिक दल, सरकारी तथा गैह्र सरकारी संघ संस्था, नागरिक अगुवा, समाजसेवी, बुद्धिजिवी, पत्रकार, उद्योगी ब्यापारीहरु एकजुट भएर अस्पताल बिकास समितिका तर्फबाट तयार गरिएका योजनाहरुमा एकमतकासाथ अगाडी बढ्न अनुरोध छ ।