
पृष्ठभूमि
हुन त यो महिला विशेष स्तम्भ हो र आज हामी बुर्काभित्र÷बुर्काबाहिर स्तम्भमा एउटा यस्तो विषयमा चर्चा गर्नेछौं । जसले गर्दा हरेक व्यक्ति (महिला, पुरुष र बालबालिकाहरुमा) र परिवारमाथि प्रत्यक्ष र अप्रत्यक्ष असर पार्दैछ । यो विशेष गरी समाज महिला र पुरुष मिलेर बनेको छ जहां कुनै पनि घटना वा कार्यको प्रभाव र असर महिलालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सकारात्मक र नकारात्मक ढंगले पारिरहेको हुन्छ । बच्चाहरुको पालनपोषण शिक्षादिक्षा, नैतिकता सिकाउने जिम्मेवारी सबभन्दा बढी आमामाथि हुन्छ । बच्चा बिग्रयो भने सब भन्दा बढी तनाव र चिन्ता पनि आमालाई नै हुन्छ । किनकि भावनात्मक रुपले बच्चासंग बढी नजिक हुने पनि आमा नै हुन् । यसकारण आमाको चिन्ता र बच्चाहरुको भविष्यलाई मध्येनजर गरी यो लेख लेखिएको हो ।हो स्मार्टफोन आजको समयमा वास्तवमै धेरै शक्तिशाली उपकरण हो र बच्चाहरूले यसबाट धेरै सिक्न सक्छन्। तर चीजहरूको प्रयोगको साथ संयम कायम राख्दा बच्चाहरूको भलाई र राम्रो बानी सुनिश्चित गर्दछ जुन उनीहरूको पछि जीवनमा उपयोगी हुनेछ । शीर्षकमा त ‘स्मार्टफोन मैत्री समाज’ लेखिए तापनि वास्तवमा भन्ने हो भने हाल स्मार्टफोनको दास भइसकेको समाज हो । यस कारण आज हामी एन्ड्रा‘यड मोबाईल फोन र यसले पार्ने प्रभाव बारे चर्चा गर्नेछौं । यो चर्चा गर्नुको मुख्य आशय समाजमा जागृति ल्याउन समाजलाई यसको आवश्यक प्रयोग र दासता बीच फरक बुझाउनु हो । अहिले अवस्था यो छ कि मानिस खाना बिना त केही समय बाँचिहाल्छन् तर मोबाईल र इन्टरनेट बिना बस्न गाह्रो भइसकेछ । वृद्ध वृद्धा, वयस्क, युवा यहाँसम्म कि बालबालिकाहरुमा पनि मोबाईल मोह निकै पाईन्छ । उमेर, पेशा, कर्म र आवश्यकता अनुसार सबै मोबाईल प्रयोग गर्दैछन् । कोही कुराकानी हाल खबर लिन दिन, कोही मनोरंजन गर्न, कोही आय आर्जन गर्न, कोही पढ्नका लागि । जहां स्मार्ट फोनका फाइदाहरु छन् त्यही यसका बेफाईदाहरु धेरै छन् । इन्टरनेट सहितको मोबाईल बढी चलाउनेहरुमा स्वास्थ्य समस्यामा आंखा कमजोर हुने, मोटाउने, डाईबिटिज र हार्टअटैक जस्ता रोगका साथै मानसिक तनाव त हुन्छन् नै त्यसका साथै यसले बच्चाहरुमा बढी असर पार्दैछ । त्यसको नकारात्मक प्रभावबाट बालबालिकाहरुलाई जोगाउन सचेतना फैलाउने उद्देश्यले यो लेख लेखिएको हो ।
मोबाइल फोनको आविष्कार
मोबाइल फोनको आविष्कार हुनुपुर्व रेडियोको आविष्कार भयो जसबाट समाचारहरु प्रशारण गरिन्थ्यो । त्यसैलाई आधार बनाई पछि मोबाइल फोन बनाइयो । यहां यो पनि जानकारी गराऔं कि मोबाइल फोन भन्दा पहिला टेलीफोनको आविष्कार गरियो जसका आविष्कारक महान वैज्ञानिक ग्राहमबेल थिए । टेलीफोनमा तार र रिसिवरको माध्यमले नजिक र टाढा कुराकानी गरिन्थ्यो हालखबर लिने र दिने गरिन्थ्यो । समयको गतिसाथ मोबाइलको आविष्कार सर्वप्रथम ई.स. १९७३ सालमा मोटोरोला कम्पनीले गर्यो । जसका आविष्कारक मार्टिन कूपर र जान मिशेल थिए यिनैले संयुक्त रुपमा यसको अविष्कार गरेका थिए मार्टिन कूपरलाई मोबाइलका पिता भनिन्छ । जुन मोबाइलका विभिन्न ब्रान्ड आज हात हातमा छ । त्यही मोबाइल सन् १९०८ सालमा केन्टकीमा पहिलो बिनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको थियो । सन् १९८३ सालमा मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको थियो । सन् १९८५ सालमा बेलायतमा पहिलो पटक मोबाइलमा कुराकानी भयो । सन् १९८७ सालमा बेलायतमा मोबाइल फोन बिक्री शुरु गरियो । सन् १९८६ सालमा पहिलोपल्ट मोबाइल फोनमा भ्वाईसमेलको सुविधा थपियो । सन् १९९२ सालमा विश्वको पहिलो हैण्डसेट मोबाइल फोन आयो । जुनकि मोटोरोला कम्पनीकै थियो । सन् १९९३ सालमा आइबीएमको ‘साईमन’ सार्वजनिक भयो । यो नै विश्वको पहिलो स्मार्ट फोन (क्mबचत एजयलभ) थियो । क्यामरा युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति फिलिप्पे काह्नन जो फ्रान्सका थिए । पहिलो न्यूज मोबाइल फिन्लैण्डमा सन् २००० सालमा सार्वजनिक भयो । मोबाईलमा एमएमएस सेवाको शुरूवात सन् २००१ सालबाट भयो । सुरुमा मोबाइललाई शुन्यजी भनिन्थ्यो । पछि वनजीको पूर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरुआत सन् १९८० सालको मध्यतिर भयो । टूजी मोबाइलको शुरूवात सन् १९९३ सालमा फिनल्यान्डबाट भयो । मोबाइलमा टेक्स्ट मेसेज र डाटा सर्विसको शुरुआत सन् १९९३ सालमा फिनल्यान्डबाट भयो । थ्रीजी मोबाइल फोनको शुरूवात सन् २००१, फोरजी मोबाइल फोनको आरम्भ सन् २०१२ को उत्तरार्ध बेलायतबाट भयो । हाल अर्थात २०२१ सालमा फाईभजीको लागि विभिन्न ठाउँमा परिक्षण गरिदैंछ ।
नेपालमा मोबाइलको प्रयोग
नेपालमा मोबाइलको प्रयोगको कुरा गर्ने हो भने नेपालमा जीएसएम मोबाइल फोनको परीक्षण वि सं २०५६ बैशाख ०१ भयो । जिएसएम मोबाइल फोन बितरण प्रारम्भ २०५६ बैशाख ३० भयो । नेपालमा त्यसबेला भित्र्याइएको मोबाइल फोन नर्टेल कम्पनीको थियो वनजीको फोन । नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा वि सं २०६१ सालतिर परिवर्तन भयो । नेपाल दुरसञ्चार संस्थानलाई जीएसएम मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति २०५६ बैशाख २९ गते प्रदान गरियो । वि सं २०६० अघिसम्म पोस्टपेड(एयकत–उबष्म) मोबाइल फोन सेवा मात्र प्रदान गरिएको थियो । वर्ष २०६० भदौ ०६ प्रिपेड मोबाइल सेवा बितरण शुरु भयो । २०६२ जेठ २३ गते मोबाइल फोनमा इनकमिंग कल निशुल्क गरियो ।
वर्ष २०६१ कार्तिक ०१ गते नेपाल टेलिका‘मले डीसीएमए प्रविधिको मोबाइल सञ्चालनमा ल्यायो । वर्ष २०६२ साल निजी क्षेत्रको कम्पनी हालको एनसेलले जीएसएम मोबाइल फोन बितरणको लागि स्वीकृति पायो । जीएसएम मोबाइलको नम्बर ०९ अंकबाट १० अंकको वर्ष २०६१ बैशाख ०१ बनाइयो । वि सं २०६५ सालमा ७५ वटै जिल्लामा मोबाइलको कभरेज पुग्यो । नेपाल टेलिकमले २०६४ जेठ ०३ गते थ्री जी सेवा परीक्षण गरी सञ्चालनमा ल्याइयो । पछि नेपाल टेलिकामका साथै युटीएल, एनसेल, स्काई, स्मार्ट जस्ता सिमका सुविधा पनि उप्लब्ध भए । (मोबाइल सम्बन्धी विस्तृत जानकारीको स्रोतः गुगल)
सामाजिक परिवेश
शायद अहिले कुनै यस्तो मानिस भेटाउंदैन् जसले मोबाइल देखेको वा प्रयोग नगरेको होस् । ठीक छ कदम कदाचित कोही यस्तो व्यक्ति भेटाइहाल्यो जोसंग मोबाइल न होला तर उसले मोबाइल देखेको नहोस् भन्ने व्यक्ति पटक्कै भेटाउदैनन् । दैनिक आवश्यक कामका लागि निर्धारित समय मात्र प्रयोग गर्नु त टेक्नोलोजीको सदुपयोग गर्नु हो । तर कुरो तब बिग्रियो जब मानिस टेक्नोलोजीको गुलाम भइहाले यहाँसम्म कि यो एउटा लत सरह लागिसकेछ । सर्वविदित नै छ लत त सबैका लागि सधैं नराम्रो र हानिकारक नै साबित भएकोछ अब चाहे त्यो मोबाइल किन न होस् ।
अहिले अवस्था यो छ कि बच्चा रोयो भने उसलाई मोबाइल दिएर चुप गराइन्छ, आफु काम गर्न लागे बच्चाले आमालाई नखोजोस् भनी उसलाई आफुतिरबाट ध्यान हटाउन बच्चाको हातमा मोबाइल दिइन्छ, कतै जानुपर्यो भने बच्चालाई छाडेर जाँदा उसलाई व्यस्त राख्न मोबाइल दिइन्छ, साथै आनलाइन कक्षामा पढ्नका लागि त मोबाइल दिइन्छ नै । जसको असर स्वरूप बच्चाहरुलाई पनि मोबाइलमा नानाथरीका कार्टुन र गेमका कारण यति लत लागिसकेछ । खाना खाँदा पनि मोबाइल हातमै हुन्छ, ट्वाईलेट जाँदा पनि मोबाइल हातमै हुन्छ, सडकमा हिडिरहँदा मोबाइल हातमा हुन्छ , सामान किन्न जाँदा मोबाइल हातमा हुन्छ, अनि आनलाइन कक्षा पढ्नलाई त हुन्छ नै यहाँ सम्मकी हरेक समय मोबाइल हातमै हुन्छ ।
मोबाइलले यति बानी बिग्रादिएछ कि कुनै कुरा सिक्नका लागि पहिला घर छिमेकका ठुलाबडासंग सोधिन्थ्यो सिकिन्थ्यो । जसले गर्दा एक अर्का बीच सम्मान र अपनत्व कायम थियो । सानातिना हिसाब त हातले नै जोडिन्थे अहम् व्यक्तिहरुको सम्पर्क नम्बर त मौखिक याद हुन्थ्यो जसले स्मरण शक्ति बलियो हुन्थ्यो । पहिला बिजुली जादां टुकी बाल्न माचिस खोज्न त उठ्थे तर अहिले मोबाईलको टर्चले अल्छी बनाईदियो । अब हरेक काममा मोबाईल नै खोजिन्छ जस्तैः खाना पकाउन युट्यूब, कपडा सिलाउन डिजाइन हेर्न युट्यूब, बुनाई गर्न युट्यूब, आनलाईन पढाई गर्न जूम र गुगल, सानातिना हिसाब जोड्न पनि मोबाईलको क्यालकुलेटर, कसैको फोन नम्बर चाहिए फोन जाइरेक्टरी, विवाह वर्तबन्धको तयारी गर्न परिवार नातागोता छरछिमेकको सरसल्लाह लिईन्थ्यो आधुनिकताका नाममा अहिले सब आनलाईन गरिन्छ जसले गर्दा आफन्त बीच दूरी बढ्दैछ ।
कार्टूनले बच्चाहरुलाई रचनात्मक कार्यबाट टाढा त गरैकैछ । मोबाइलको पब्जी गेमले धेरैको ज्यानै लिईसकेछ कतिलाई हार्टअटैक भएछ अनि कतिलाई त यसरी असर पारेछ कि सुतिरहँदा पनि पब्जी गेम खेले झैं हात र मुख चलाउने गर्छन् । कार्टुनले त बच्चाहरुको आनीबानी बोल्ने तरिका र हाउभाउ नै फेरिदिएछ । जहाँ मोबाइलले जनजीवन सहज बनाएको छ त्यहीं यसका केही नकारात्मक असर र प्रभाव पनि छन् जस्तैः घरेलुहिंसा, कुटपिट, तलाक, घर निकाला, हत्या, अपहरण, बलात्कार, यौनिक हिंसा, ब्लैकमेलिंग जस्ता अपराध र शारारिक मानसिक समस्याको कारण पनि यही मोबाइल नै बन्न पुगेछ । तसर्थ आवश्यक लागेर हामी आज यिनै विषयमा केन्द्रीत रही चर्चा गर्नेछौं ।
मोबाइलले पार्ने नकारात्मक असर
मोबाइल फोनको बढी प्रयोगका कारण एउटा नयाँ रोगको रूपमा देखिएको छ यसलाई नामोफोबिया भनिन्छ । नामोफोबिया भएका मानिसहरु मोबाईल फोनबाट छुट्टिन डराउंछन् । नामोफोबिया जस्तो रोगबाट बचाउन सकभर १६ बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई मोबाइल फोन दिनुहँुदैन । साना बच्चाहरूको खप्पडका हाडहरूले आवश्यक घनत्व र सुरक्षात्मक विकास गरेको हुँदैन यसको विकिरणको प्रभावले उनीहरूलाई कमजोर बनाउँछ । यदि बच्चा फोनमा कुरा गर्दछ भने उसलाई डाइरेक्ट कानमै फोन राख्नुको सट्टा तार सहितको हेडसेट प्रयोग गर्न भन्नुपर्छ र आफुले पनि हेटफोनको प्रयोग गर्नुपर्छ । यात्राको क्रममा बच्चाहरूलाई लगातार मोबाइल फोन दिनुहुँदैन गाडीको मेटल कवचले यसको शक्ति बढाउँछ जुनकी बच्चाहरूको लागि धेरै हानिकारक हो । आफ्ना बच्चाहरूलाई सिग्नल कमजोर भएको ठाउँमा मोबाइल फोनहरू प्रयोग दिनु हँुदैन । यस्तो अवस्थामा मोबाइलहरूले राम्रो सिगनल्स प्राप्त गर्न आफ्नै विकिरणलाई विस्तार गर्दछ जुन बच्चाको लागि हानिकारक हुन सक्छ । आपतकालीन स्थितिका लागि स्कुललाई तपाईको नम्बर र स्कुलको बच्चालाई दिनुस् तर मोबाइल नै हातमा नदिनुस् ।
किनभने विश्वको हरेक टेक्नोलोजी वा उपकरण जस्तै मोबाइल फोनको पनि आफ्नै लाभ र हानी छ । दैनिक ५० मिनेट सम्म मोबाईलको लगातार प्रयोगले मगजलाई हानी गर्दछ । मोबाईल फोनको विकिरणबाट पनि क्यान्सर हुन सक्छ । प्रायः यस्तो समाचार आएको हुन्छ कि मोबाईलले क्यान्सर वा ब्रेन ट्युमर इत्यादि जस्ता गम्भीर रोगहरू निम्त्याउन सक्छ । क्यान्सर मोबाईल फोन विकिरणद्वारा उत्पन्न खतराहरू मध्ये सबैभन्दा ठूलो खतरा हो । मोबाईल फोन खल्तीमा राख्दा वा शरीरमा दिनभरी जोडेर राख्दा सम्बन्धित स्थानमा ट्यूमर हुने सम्भावना बढ्छ र सजिलै क्यान्सरको शिकार हुन सकिन्छ । अधिकांश व्यक्तिहरुमा मोबाईल फोनलाई शरीरको नजिकै राखेर सुत्ने वा रातमा छातीमा राख्ने बानी हुन्छ यो बानी धेरै खतरनाक र घातक हुन सक्छ। यस बाहेक यसको विकिरणको असरले मष्तिष्क माथि पनि नकारात्मक छ । मोबाईल फोनको इलेक्ट्रोमेगनेटिक विकिरणका प्रभाव हाडमाथि नि पर्छ जसले गर्दा हाडजोर्नीमा रहने मिनरल लिक्विड समाप्त हुन सक्छ । पुरुषहरूमा कमरको नजिक मोबाईल फोन राख्नु अझ् खतरनाक हुन सक्छ यसको विकिरणको नकरात्मक प्रभाव शुक्राणु कमीको रूपमा देख्न सक्छ । विश्व स्वास्थ्य संगठनको एक अनुसन्धान अनुसार मोबाइल फोनको अत्याधिक प्रयोग मष्तिष्कको क्यान्सरलाई निम्त्याउंछ । यसका साथै तनाव र डिप्रेशनको मुख्य कारण मध्ये एक मोबाईल फोनबाट निस्किने विकिरणको खतरनाक प्रभाव हो । यसले मस्तिष्कको सेलहरू सीमित गर्दछ जसले गर्दा अक्सिजनको सही मात्रा मस्तिष्कमा नपुग्न सक्छ । गर्भवती महिलाले मोबाईल फोनको अत्याधिक प्रयोग गरेमा गर्भमा रहेको बच्चालाई असर गर्न सक्छ यसले शिशुको मस्तिष्क माथि नकारात्मक असर पार्न सक्छ । मोबाईल फोनको हानिकारक विकिरणले न केवल क्यान्सर जस्ता रोगहरू निम्त्याउंछ यसले मधुमेह मुटुको रोग मोटोपना पनि धेरै गुणा बढाउँदोरैछ ।
बालबालिकाहरुमा पार्ने नकारात्मक असर
हुन त माथि हामीले बालबालिकाहरुमा मोबाइल फोनले पार्न सक्ने नकारात्मक प्रभाव बारे छिटपुट जानकारी गराएकाछौं । तर यस बारे बिस्तृत जानकारी हुन पनि आवश्यक छ । यस कारण यस बारेमा बिस्तृत जानकारी तल हेर्न सक्नु हुन्छ ।
१. मानसिक असर
सोसल मिडियामा बच्चाहरूलाई साइबर बुलीहरूद्वारा जोखिम हुन्छ उनीहरुमाथि इन्टरनेटमार्फत दुव्र्यवहार हुन सक्छ । साइबरबुलीहरुको सिकार भएका बच्चाहरूको मानसिक क्षति भैसकेको हुन सक्छ । जसले गर्दा सोसल मिडियाको दुस्प्रभावले बच्चामा डिप्रेसन, डर, त्रास र चिन्ता बढ्न सक्छ ।
२. शारारिक असर
जुन बच्चाहरु हर समय मोबाइल फोनसंगै टांसिएर बसिरहेका हुन्छन् कुनै शारीरिक गतिविधि गर्दैनन् । चाहिने जति हिलडुल गर्दैनन् प्राकृतिक ताजा हावा लिदैनन् ,शारारिक व्यायाम गर्दैनन् । तिनीहरूमा मोटोपना, आंखा कमजोर र अन्य रोगहरूको जोखिम बढी हुन्छ । जुनकि केही समयपछि ठुलो रोगहरू जस्तैः मधुमेह, रक्तचाप र आंखा नदेख्नु आदिका रुपमा परिणत हुन सक्छन् ।
३. शैक्षिक असर
स्मार्टफोनले बच्चाहरूको अध्ययनबाट ध्यान भंग गर्दछ उनीहरु पढ्नुभन्दा मोबाइलका अन्य फंगशन चलाउनतिर लाग्छन् जस्तैः क्यामरामा फोटो खिच्न, भीडियो बनाउन, युट्यूबमा भिडियोहरु देख्न, टिकटक बनाउन, व्हाट्सएपमा च्याटिंग गर्न, फेसबुकमा फोटो भीडियो स्टयाट्स पोस्ट गर्न , फोनमा साथीहरुसंग कुरा गर्न आदि । जसको फलस्वरूप उनीहरुको पढाइ कमजोर हुदैं जान्छ र यसले गर्दा परीक्षामा राम्रो नतिजा ल्याउन उनीहरु गलत तरिकामा प्रयोग गर्न तिर लाग्छन् । परीक्षामा क्यालकुलेटर प्रयोग गर्ने अनुमति नहुदां उनीहरुको क्यालकुलेटरबाट हिसाब किताब गर्ने बानी बसेकोले त्यहां पनि नतिजा शुन्य हुन आउंछ । यसले उनीहरुको व्यक्तित्वलाई पनि असर गर्छ डिग्री भए पनि उनीहरुसंग गुणस्तरीय शैक्षिक योग्यता चाहीँ हुँदैन ।
४. स्मरण शक्ति कमजोर
अचेल बच्चाहरु हरेक काममा मोबाईल प्रयोग गर्ने हुँदा उनीहरुको स्मरण शक्ति निकै कमजोर भइसकेछ । आनलाइन कक्षामा पढ्दा र कक्षाकोठामा पढ्दाको बुझाई र स्मरणशक्ति फरक हुन्छ । कक्षाकोठामा किताब कापी कलमको प्रयोग गरी पढ्दा शिक्षकले पाठहरु घोकाउदां , इमला बोल्न लगाउदां, रट्टा लगाएर याद गर्नले एक अर्कासंग सिक्न लगाउँदा उनीहरु बीच बढी सिक्ने प्रतिस्पर्धा, इच्छाशक्ति र स्मरणशक्ति बढ्ने गर्छ । तर अहिले मोबाईलबाट पढ्ने क्रममा स्मरणशक्ति कमजोर हँुदै गइरहेछ ।
५. असन्तुलित मस्तिष्क
मोबाइल फोनहरू मुख्यतयाः सबै प्रकारको संचारका लागि विद्युत चुम्बकीय तरंगहरूमा सञ्चालन हुन्छन् । मस्तिष्कको आफ्नै इलेक्ट्रिक आवेग हुन्छ र सञ्चार माध्यमका नेटवर्कहरूमा आफ्नो आवेग र गति हुन्छ । बच्चाहरूको छाला निकै पातलो र कोमल रहेकोले उनीहरुमा फोनले छालाबाट मस्तिष्कको आन्तरिक भागहरू सजिलै छिर्न सक्छन् । जसले मस्तिष्कमा गडबडी भइ पुरै मस्तिष्क नै असन्तुलित हुन सक्ने स्मरणशक्ति कमजोर हुनुका साथै अर्धसिल्ली वा पुर्णसिल्ली हुन सक्ने जोखिम रहेको हुन्छ ।
६. आंखा सम्बन्धी समस्या
बच्चाहरुले मोबाइलको प्रयोग बढी गर्नाले उनीहरुको आंखा कमजोर हुदैं जानेछ । आंखा सम्बन्धी विभिन्न रोग र समस्याहरु देखा पर्ने जोखिम बढ्छ । सानै उमेरमा चश्मा लगाउनु पर्ने बाध्यता सृजना हुन सक्छ ।
७. छाला सम्बन्धी समस्या
मोबाईलको बढी प्रयोग गर्ने बच्चाहरुमा हात चिलाउने, छालाको रंग फरक हुने, हात तातिने जस्ता छाला सम्बन्धी समस्या देखा पर्ने सम्भावना र जोखिम बढी हुन सक्छ ।
८. ट्यूमरको जोखिम
बच्चाहरूमा स्मार्टफोन रेडिएसनको प्रभावहरू बुझ्न अनुसन्धान पनि गरिएको छ । जसले थाहा भयो कि जुन बेला बच्चाहरू यस्तो चरणमा हुन्छन् जहां उनीहरूको शरीर परिवर्तन हुँदै र बढ्दै गर्छ । तब उनीहरूमा किरणको प्रभाव वयस्कहरूको भन्दा फरक र बढी हुन्छ । विशेष गरी कान र मस्तिष्क जस्तो संवेदन भाग प्रभावित हुने सम्भावना बढी हुन्छ । जुन बच्चाहरु अधिक मोबाईल प्रयोग गर्छन् मोबाईललाई कान नजिक बढी राख्छन् । यस्ता बच्चाहरुका विशेष रुपले कान र मस्तिष्क क्षेत्रमा गैर–घातक (गैर–मेलिग्नंट) ट्यूमर हुने सम्भावना बढी हुन्छ । बच्चाहरुका हाडजोर्नी, मष्तिष्क आदिको सुरक्षाका लागि रहेको तह एकदमै पातलो हुन्छ । यसकारण यी अंग ६०% भन्दा अधिक विकिरण अवशोषित गर्छन् जुनकि मोबाईलबाट निस्किन्छ मानव शरीरमाथि विकिरणको फरक फरक प्रभाव पर्न सक्छ । कहिले यो कोष र कहिले स्नायु प्रणालीलाई प्रभाव पार्छ । यसलाई विश्व स्वास्थ्य संगठन द्वारा सम्भावित कार्सिनोजेनको रूपमा वर्गीकृत गरिएकोछ र क्यान्सरको संभावित जोखिमको कारण मानिन्छ ।
९. अनुचित मिडिया
स्मार्टफोन चलाउनु बच्चाहरुका लागि नयाँ अनुभव हुन्छ यसकारण उनीहरुमा बढी लालसा हुन्छ हरेक कुरा हेर्न, सेयर गर्न र प्रयोग गर्न । उनीहरु अनुप्युक्त र अनुचित सन्देश, फोटो वा भिडियो हेर्छन् र अरूलाई फर्वार्ड गर्छन् कलिलो उमेरमा अश्लील सामग्री सहजै फेला पार्ने र पहुंचमा रहने हुदां उनीहरूको धारणा, विचार , प्रक्रिया, आनीबानी सब बदलिहाल्छ साथै उनीहरुलाई त्यसको बानी परिहाल्छ । जुनकि उनीहरूको जीवन र व्यक्तित्वमा लामो समयसम्म असर गर्दछ ।
१०. झर्किने स्वाभाव
मोबाईलको बढी प्रयोग गर्नेहरुमा एउटा यो नकारात्मक प्रभाव पनि देखा परेछ कि तिनी साना साना कुरामा रिसाउने र झर्किने स्वाभावका भइहाल्छन् ।
११. परिवारबाट टाढा
जुन बच्चाहरु आवश्यकता भन्दा बढी मोबाईल प्रयोग गर्ने गर्छन् । तिनीहरु अधिकतर कसैले दखल नदेओस् भनी एक कुनामा हेडफोन लगाएर एक्लै बस्न रुचाउंछन् । यही बानीका कारण उनीहरु समयको गतिसाथ परिवारसंग टाढा र शोशल मीडियासंग नजिक हुदैं जान्छन् ।
गर्नु पर्ने आवश्यक पहल
मोबाइल फोनको प्रयोग सीमित समय सम्म गर्नु दिनुपर्छ । मोबाईल फोनको आवश्यक र सीमित प्रयोगले इलेक्ट्रोमैग्नेटिक रेडिएसनको खराब प्रभावहरूलाई कम गर्न सक्छ । यस बाहेक यसलाई शरीर नजिक नराखेर पर्स वा अन्य ठाउँमा राख्दा बेस हुनेछ । १६ बर्ष भन्दा कम उमेरका बच्चाहरूलाई सेल फोन नदिनुहोस् । कानले फोन राख्नुको सट्टा एक तार सहितको हेडसेट प्रयोग गर्न भन्नुहोस् ।
चुनौती
मोबाईल घर–घरमा व्यक्ति–व्यक्ति संग उपलब्ध हुने उपकरण हुने भएकोले यो बच्चाहरुको सहज पहुंचमा हुन्छ । यसकारण बच्चाहरुलाई मोबाईल र यसले पार्न सक्ने नकारात्मक प्रभावबाट टाढा राख्न सक्नु एउटा ठुलो समस्या र चुनौतीको रुपमा देखा परिरहेछ ।
सिकाइ
जबकी मोबाइलबाट टाढा रहन नसक्ने भएकोले विश्व स्वास्थ्य संगठनले हाल सालै एउटा सार्वजनिक गरेको प्रतिवेदनमा ५ बर्ष भन्दा कम उमेरका बच्चाहरूको स्क्रिन हेर्न समय तय गरेको छ । डब्लुएचओको रिपोर्ट अनुसार ५ बर्ष भन्दा कम उमेरका बच्चाहरूको निर्धारित समय भन्दा बढी समय मोबाईल चलाउँदा त्यसको सीधा असर उनीहरूको शारीरिक र मानसिक विकासमा हुन्छ । यस कारण एक बर्ष भन्दा कम उमेरका बच्चाहरुका लागि शून्य स्क्रीन समय निर्धारित गरिएको छ । तिनीहरु भुइंमा बिभिन्न प्रकारका खेलहरू खेल्नु शारीरिक विकासको लागि राम्रो हो यस उमेरका बच्चाहरुलाई दिनकै कम्तीमा आधा घण्टा पेट तल राखि भुईंमा सुताउनुपर्छ । १ देखि २ बर्षका बच्चाहरूको लागि स्क्रिन समय एक दिनमा १ घण्टा भन्दा बढी हुनुहुँदैन् । यस उमेरका बच्चाहरूलाई कथा सुनाउनुपर्छ कथा सुनाउंदा तिनीहरूको मानसिक विकासको लागि लाभदायक हुने हो । ३ देखि ४ बर्ष भन्दा कम उमेरका बच्चाहरुका लागि दिनमा बढीमा १ घण्टा समय तोकिएको छ । तिनीहरूलाई २ देखि ३ वर्षका बच्चाहरूलाई भन्दा बढी शारीरिक कृयाकलाप गराउनुपर्छ । आफु पनि आवश्यकता भन्दा बढी मोबाईल चलाउनुबाट बच्नुपर्छ ।
परिकल्पना
बच्चाहरुमा स्वास्थ्य समस्या सृजना हुन नदिनका लागि सबैले विश्व स्वास्थ्य संगठन द्वारा जारी गरिएको सल्लाह मानेर त्यसलाई जीवनमा लागु गर्नेछन् । स्मार्ट मोबाईल फोनले पार्ने सक्ने मानसिक, शारारिक, सामाजिक, पारिवारिक समस्यालाई मध्येनजर गरी बच्चाहरुलाई स्मार्ट फोनको अनावश्यक प्रयोगबाट रोक्नेछन् । बच्चाहरुको शारारिक विकास, बौद्धिक विकास, परिवार बीच अपनत्वको विकास, भावनात्मक संवेदनशीलताको विकास, रचनात्मक कार्यकुशलताका लागि अतिरिक्त कृयाकलाप संग जोड्नेछन् ।