नेपालगन्ज उच्च अदालतले गर्यो सेवा बिस्तार

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सबै प्रकारका पुनरावेदन, निवेदन तथा रिट निवेदन दर्ता गर्ने

वसन्त गौतम

कोरोनाका कारण सेवा प्रवाहमा संकुचन गरेको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले संक्रमण घटेर निषेधाज्ञा खुकुलो भएसंगै सेवा प्रवाह बिस्तार गर्दै लगेको छ । यस क्रममा गत बैशाख ८ गतेबाट संकुचन गरिएको सेवामा यस अघि गरिएको विस्तार र सो को व्यवस्थापनलाई निरन्तरता दिने भएको छ । प्रशासनद्धारा जारी निषेधाज्ञा खुकुलो भए संगै बारसंगको छफलबाट सेवा बिस्तार गरेको अदालतले आगामी श्रावण १७ गतेबाट स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सबै प्रकारका पुनरावेदन, निवेदन तथा रिट निवेदन दर्ता गर्ने निर्णय अदालतले गरेको अदालतका सुचना अधिकारी बल बहादुर बिष्टले जानकारी दिए ।

बिहिवार अदालतको पुर्ण बैठक बसी सेवा प्रवाह बिस्तार गर्ने निर्णय भएको सुचना अधिकारी बल बहादुर बिष्टले जानकारी दिए । कानून ब्यवसायीले गर्ने भर्चुअल बहशलाई पनि स्वेच्छिक बनाईएको छ । अब इच्छुक कानून ब्यवसायीले अदालतमा भौतिक रुपमै उपस्थित भई बहश गर्न पाउने भएका छन् ।

यस जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालनमा आइसकेको सन्दर्भमा यस जिल्ला भित्र रहनु भएका हदम्याद, म्याद तथा तारेखमा यस अदालतमा उपस्थित हुनु पर्ने अवस्थाका सेवाग्राहीहरु मिति २०७८ असार २७ गतेबाट ३०(तीस) दिन भित्र यस अदालतमा उपस्थित हुनु पर्ने अदालतद्धारा जारी सुचनामा भनिएको छ । अदालतको सहजताका लागि मुद्दाका पक्षहरुले सम्भव भएसम्म जुन बारको तारेख तोकिएको छ सोही बारमा उपस्थित भई दिए सहज हुने भनेको छ । जिल्ला बाहिर रहनु भएका यस अदालतमा हदम्याद, म्याद तथा तारेखमा उपस्थति हुनु पर्ने अवस्थाका सेवाग्राहीहरु सार्वजनिक यातायात सञ्चाालनमा आए पछि ३० (तीस) दिनभित्र उपस्थित हुन पर्ने तर त्यस्तो सुविधा पाउने अवस्थाका सेवाग्राहीले सो भन्दा अगावै सेवा लिन आएमा स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी कानून बमोजिमको न्यायिक सेवा प्रदान गर्न सकिने अदालतले जनाएको छ । पेशी तथा सुनुवाई व्यवस्थापन सम्बन्धमा संक्रमणको अवस्था समेतलाई मध्येनजर गरी उपयुक्त व्यवस्था गर्दै जाने नीति अवलम्बन गर्ने गराउने अदालतले भनेको छ । इजलासमा बहस पैरवी गर्ने क्रममा कानून व्यवसायीले आफ्नो पालोमा उपस्थित भई बहस पैरवी गर्ने र इजलासमा हुन सक्ने भिंडभाडलाई सकेसम्म न्यूनिकरण गर्ने कुरा अदालतद्धारा जारी सुचनामा भनिएको छ ।

यसै गरि बाँके जिल्ला अदालतले पनि बाँकेमा जारी निषेधाज्ञा खुकुलो भएसंगै संकुचित सेवा बिस्तार गरि सबै प्रकारका सेवा सुचारु गरेको छ । हाल अदालतका सबै सेवा सुचारु भएको अदालतका श्रेस्तोदार तिर्थराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया