नेपालगन्जमा मासु पसलको अनुगमन
नेपालगंज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको अगुवाईमा नेपालगन्जका मासु पसलको अनुगमन थालिएको छ ।
यस क्रममा सोमबार नेपालगन्जको रामलिलामन्दिर नजिकै रहेको मासु पसलको अनुगमन गरिएको थियो । अनुगमनमा क्रममा केही मासु पसलमा जिउँदो बाख्री राखेको पाइएपछि अनुगमन टोलीले उपभोक्तालाई ठगी खसीको भनी बाख्रीको मासु नबेच्न निर्देशन दिएको उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव एवं उपमहानगरपालिका अधिकृत प्रबिन कुमार रानाले जानकारी दिए । पहिलो पटकलाई सचेत गराइएको थप स्पटिकरणका लागि मासु ब्यवसायीलाई कार्यालयमा बोलाइएको रानाले बताए ।
खसीको मासु भनी बाख्रीको भनी उपभोक्ता झुक्याई ठगि गर्ने जो सुकैलाई कानूनी कारवाही गरिनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले बताए ।
अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्चका अधिवक्ता वसन्त गौतम, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, नेपालगन्ज उपमहानगरपालिका अधिकृत प्रबिन कुमार राना, पशु शाखाका प्रतिनिधि र प्रहरी प्रतिनिधिको सहभागिता रहेको थियो ।
९ वटा मासु पसलको अनुगमनका क्रममा सरसफाईमा ध्यान दिन, दर्ता गरेर मात्र ब्यवसाय संचालन गर्न, गुणस्तरिय मासु मात्र बिक्री बितरण गर्न उपभोक्ता नझुक्याउन निर्देशन दिएको अनुगमन समितिले जनाएको छ ।