नेपाली अस्मिता विरुद्धका तीन एजेण्डा

नेपालको स्वतन्त्रता र सार्वभौमिकता धेरैलाई नपचेको बिषय हो । विदेशीहरुलाई सबैभन्दा अझै कष्टकर लागेको बिषय हो नेपालमा रहेको विविधता, यसभित्रको आफ्नै दह्रोसँग स्थापित भएको मौलिकता र समाजिक सौहार्दता । यसको जरो नहल्लाएसम्म धेरैका इच्छा र आकांक्षाहरु पुरा हुन सक्दैनन् । यसैले पनि नेपालको अस्मिताका विरुद्ध बेलाबेला अनेक एजेन्सीहरु मार्फत एजेण्डाहरु लागू गरिन्छ । नेपालको विगत झण्डै अढाइसय बर्ष यताको इतिहासमा यस्ता प्रयासहरु पटकपटक भएका छन् । यसमा थप एजेण्डा सहित आएको भने ७० बर्ष भएको छ । नेपाली अस्मिताका विरुद्धमा विशेष गरेर तीनवटा एजेण्डाहरु विदेशीहरुले आजपर्यन्त आफ्ना एजेन्सीहरु मार्फत चलाइरहेका छन् भने उनीहरुको स्वार्थ नपुगेसम्म चलाइरहने छन् । ती तीनवटा एजेण्डा के के हुन त ? यसबारे चर्चा गरौं ।

नेपाली अस्मिता बिरुद्धको पहिलो एजेण्डा हो इसाइकरणको एजेण्डा । यो एजेण्डा नेपाली अस्मिता बिरुद्धको सबैभन्दा पुरानो एजेण्डा हो । नेपालको एकिकरणताका बडामहाराज पृथ्बीनारायण शाहलाई कान्तिपुर बिजय गर्नबाट रोक्नका लागि अँग्रेजहरु बिशेष गरेर इसाइ पादरीहरुलाई आमन्त्रण गरिएको थियो । राजा महेन्द्र मल्लले नेपाल खाल्डोको साँस्कृतिक विरासत माथि नै जाइलाग्ने गरी नेवारका गुठी नै मासेर चर्च बनाउन दिएका थिए । सोवापत अँग्रेजी हतियारको सहयोग पाउने राजा महेन्द्र मल्लको योजनाबाट सुरु भएको नेपाली अस्मिता विरुद्धको एजेण्डा आजसम्म आइपुग्दा अझ सशक्त भएको छ । अँग्रेजहरुको त्यो बेलाको लक्ष्य नेपाललाई मात्रै जित्नु थियो । एकिकृत नेपाल बन्नबाट रोक्नु थियो । तर निकै प्रयास गर्दापनि सकेनन् । अहिले त्यो अवस्था रहेन । अहिले एकिकृत र शक्तिशाली बनिरहेको चीनतिर लक्ष्य राखेका छन् । त्यसका लागि नेपाललाई आधार बनाएर तिब्बतमा मार्चपास गर्ने योजना देखिन्छ । यो योजना थपिँदा नेपाली अस्मिता झन भन्दाझन धरापमा परिरहेको छ । कान्तिपुरको बिजय पछि देशनिकालामा परेका ती पादरीहरुको योजनामा पृथ्बीनारायण शाहले पानी फेरिदिएको घटनाको बदला आजसम्म लिन खोजिँदै छ । उ बेला पृथ्बीनारायण शाहलाई नेवारबिरोधी चित्रण गर्न खोजियो । तर उपत्यकाको साँस्कृतिक बिरासतलाई अक्षुण राख्दै कुमारीसँग खड्ग साटेर त्यहाँको सँस्कृतिलाई मूल सँस्कृति मानेका पृथ्बीनारायण शाहलाई पादरीहरुको एजेण्डाले छोएन ।

आज त्यसको बदला स्वरुप नेपालको राजनीतिलाई तरलतामा राख्दै आफ्नो लक्ष्य पुरा गर्न इसाइ मशीनरी बिभिन्न माध्यमबाट लागि रहेको छ । नेपाली अस्मिताको गाडिएको जरो उखाल्न उनीहरुले आँकलन गरेजस्तो कमजोर भै दिएको भए यतिलामो समय लाग्ने नै थिएन । तर यहाँको समाजिक संरचना, यहाँको साँस्कृतिक विरासत, यहाँको धर्म पद्धतिलाई बुझ्नै उनीहरुलाई धेरै समय लाग्यो । नेपालमा बेलाबेलामा रहेका कडा कानूनहरु र कुसल शासकहरुका कारण पनि उनीहरुको गति तीव्र हुन सकिरहेको थिएन । उनीहरुको एजेण्डामा सके सर्मथन गर्ने नभए मौन बसिदिने आन्तरिक र बाह्य शासनको आवश्यकताको पर्खाइ थियो । त्यस्तो अवस्था २०४६ सालपछि अझ बिशेष गरेर २०५१ सालपछि आयो । आजका उनीहरु अनुकुलका शासक र शासनको आडमा त्यो अवसरलाई प्रयोग गर्दै नेपाललाई एउटा इसाइ राष्ट्रतिरको मिसनमा उनीहरु निर्धक लागेका छन् ।

दोस्रो एजेण्डा हो नेपालीलाई नेपालीसँग नै लडाउने पश्चिमा आइएनजिओको एजेण्डा । उसो त यो छुट्टै एजेण्डा होइन । यो एजेण्डा पहिलो एजेण्डालाई स्थापित गर्न ल्याएइको रणनैतिक एजेण्डा मात्रै हो । यस अन्तर्गत नेपालमा भएको धार्मिक, भाषिक, समाजिक सद्भावलाई खलबलाउने, यहाँको शिक्षातन्त्र, अर्थतन्त्र, शासनप्रशासनतन्त्रमा भाँडभैलो र अराजकता ल्याउने, त्यस्तो अवस्था ल्याएर बेथिति मात्रै सृजना गर्ने र यसलाई सुधारका नाममा यहाँभित्र पसेर राज्यका हरेक नीतिनिर्माण तहबाटै आफु अनुकुल कानून बनाउने । अन्तमा त्यहि कानूनको जगमा टेकेर यहाँको समाजिक संरचना नै बिथोलिदिने । जातपातको नाममा, अधिकारका नाममा, स्वतन्त्रताका नाममा, विकासका नाममा, स्वास्थ्य सुधारका नाममा, समानताका नाममा, लिंगभेदका नाममा, समाजसुधार सिभिलाइजेसनको नाममा हरेक क्षेत्रमा अराजकता नै अराजकता ल्याउने । यसका लागि स्थानीय एजेण्टहरुका रुपमा यहाँका नीति निर्माता देखि कर्मचारीतन्त्र भित्रसम्म समाजका हरेक वर्गभित्रसम्म बिभिन्न एजेण्टरु तयार गरेर उनीहरुका हरेक कदममा पहरेदारी गराउने । त्यसपछि अर्को गन्तव्य भनेको नेपालमा अढाइसय बर्ष अगाडी नै गर्न खोजिएको इसाइकरण मात्रै होइन त्यसको जगमा अर्को डारफेर तयार गर्न परेपनि अगाडी बढ्ने । यसबाट दोहोरो जीत हासिल गर्ने । पहिलो बडामहाराज पृथ्बीनारायण शाहसँगको बदला लिने । दोस्रो नेपालको अस्थिरताभित्र खेलेर चीन बिरुद्धको योजना सफल पार्ने ।

पश्चिमालाई यी दुईवटा एजेण्डाको प्रयोगका लागिदक्षिणको छिमेकीको सहयोग आवश्यक थियो । यसका लागि उसको स्वार्थ नमिलेसम्म यो सहयोग मिल्न सक्दैन्थ्यो । १९६२ को चीनसँगको युद्ध र नराम्रो हारपछि चीनलाई स्थायी शत्रु मानेको इण्डियाका लागि चीनको बिभाजन अर्थात तिब्बतको चीनबाट बर्हिगमन नै दिल्लीले देखेको एउटा मात्रै हो । दिल्लीका लागि चीनका बिरुद्ध नेपालमा भित्र्याइने जुनसुकै एजेण्डास्वीकार्य हुनुले गर्दा नै नेपालमा पश्चिमाहरुले दोहोरो फाइदा पाएका छन् । उनीहरुको एजेण्डाका पक्षधरहरुलाई यूरोपमा शरणार्थी बनाएर लैजान परेन । दिल्लीले नै तिनीहरुलाई मेजमानी खुवाएर पाल्ने मात्रै होइन आवश्यकता अनुसार हातहतियार पनि उपलब्ध गराउने भयो । नेपालमा पश्चिमाहरुको एजेण्डामा काम गर्नेहरु दिल्ली र पश्चिमाहरुका साझा हुने भए । भयो त्यस्तै हत्या, हिंसा, कित्ताकाट र घृणावादको बीजारोपण गर्दै क्रान्तिको नाममा बन्दुक र शान्तिको नाममा बाइबलले नेपालका डाँडाकाँडा ढाक्यो । चुच्चे नेप्टे, कालो गोरो, पहाडको र तराइको आदी नाममा उपद्रव पनि भसक्कै गराइयो । उबेला काठमाण्डौमा गुठी मासेर चर्च बनाउन नपाएको बदला आज मठमन्दिर मासेर, सार्वजनिक जग्गा कब्जा गरेर टोलटोलमा चर्च र कब्रिस्तान बनाउन पाइयो । यहाँ उनीहरुको एजेण्डाले आशिंक सफलता पायो । गुठी मास्ने कानून पनि बनाइएको हो तर एजेण्डहरुले अलिक चाँजोपाँजो मिलाउन जानेनन् क्यारे सफल हुन सकेन ।

तेस्रो एजेण्डा हो आरएसएस, नागपुरको अखण्ड भारतको एजेण्डा । यो एजेण्डा नेपाली अस्मिताको लागि अर्को घातक एजेण्डा हो । नेपालको दक्षिणी भूभाग र मध्ये पहाडी भूभागसम्मको साँस्कृतिक रीतिथिती इण्डियासँग मिल्छ । उसैपनि नेपालको निकासको ढोका नै दक्षिण फर्केका कारण वारिपारी व्यापार व्यवसाय देखि रोटीबेटीको समेत सम्बन्ध रहेको छ । यो नेपालको लागि बरदान कम अभिशाप बढि भएको छ । यसलाई आधार बनाएर नागपुरले यहाँको सम्बन्ध व्यक्तिगत मात्रै होइन साँस्कृतिक रुपमा नै इण्डियाको भन्न भ्याएको छ । यहाँ हिन्दूराष्ट्रवाद, वा हिन्दूगणतन्त्रको नाममा उसले थुप्रै व्यक्ति र समूहहरु खडा गरेको छ । सन् २०१४ मा नागपुर दिक्षित नरेन्द्र मोदी त्यहाँको सत्तामा आएपछि उनी भारतको संस्थापन पक्ष भएका छन् । उनी र सिँङ्गो भारतीय जनता पार्टी सरदार बल्लभ भाइ पटेलको आदर्शबाट गाइडेड छ । बल्लभभाइ पटेल उनै नेता हुन जो भारतका चार सय बढि राजारजौटाहरुलाई इण्डियाको यूनियनमा विलय गराउन सफल भएका थिए । उनी हमेशा अखण्ड भारतका पक्षधर रहे । उनले भारतको बिभाजन सहजै स्वीकार नगरी भारतमा नै पुनः बिलय गराउनु पर्छ भन्ने विचार राख्थे । नेपालीका लागि अखण्डभारतसँग आपत्ति होइन तर जब सन् १९२५ मा गठन भएको आरएसएस आजपनि अखण्ड भारतभित्र अफ्गानिस्तान, पाकिस्तान, बंगलादेश, भूटान, नेपाल र केहि भूभाग म्यानमारसम्मको भएको मान्दछ । उसको अखण्डभारतको नक्साले नेपालको अलग्गै अस्तित्व स्वीकारदैन । उसले नेपालमा तयार गरेका र नागपुर लगेर प्रशिक्षित गरेका नेपाली एजेण्टहरुको मनमा समेत नेपाल अलग्गै देशको अस्तित्वमा रहन्छ र रहनुपर्छ भन्ने मान्यता हटाएको छ, आँट खोसीसकेको छ । यो निकै चिन्ताको बिषय हो ।
अहिलेको भारतको संस्थापन पक्ष यहि अखण्डभारतको एजेण्डाबाट शिक्षित प्रशिक्षित र दिक्षित पक्ष हो । यिनीहरु कुनैपनि हालतमा यो एजेण्डाबाट पछि हट्नै सक्दैनन् । जसरी माक्र्सवाद, लेनिनवादबाट प्रशिक्षितहरु जातियता, कित्ताकाट, घृणावाद र आफुइतर सिद्धान्तलाई निशेध र निस्तेज पार्नबाट पछाडी हट्न सक्दैनन् । पाकिस्तान गजवा ए हिन्द को एजेण्डाबाट पछाडी हट्न सक्दैन, ठीक त्यसैगरि अहिलेको भारतीय जनता पार्टीको नागपुर प्रशिक्षित र दिक्षित समूह नेपाललाई अखण्ड भारतको हिस्सा मान्नबाट पछि हट्नै सक्दैन ।
नागपुरले घोषित रुपमा नै नेपाललाई अखण्ड भारतको सोंच र नक्शाबाट बाहिर नराखेसम्म त्यसले खडा गरेका कुनैपनि संरचनासँग नेपाल सशंकित र असुरक्षित नै रहन्छ । नेपाली अस्मिता सधै उनीहरुबाट खतरामा नै रहने छ ।

धर्म, सँस्कृति, मिलेकै भरमा या मिलाएकै भरमानेपाल न पश्चिमाहरुको डारफोर बन्नसक्छ न नागपुरको अखण्डभारतको हिस्सा । नेपालमा दुबै पक्षले चलाएका एजेण्डामा नेपालको धर्मसँस्कृति माथि आक्रमण गर्ने र अन्ततोगत्वा नेपालाई आफुले चाहेको जस्तो मैदान बनाउने नै हो । साँस्कृतिक, भाषिक पहिचान मेटाउन उद्दतहरुबाट नेपाललाई सधैं खतरा रहेको इतिहास छ र वर्तमान सत्य पनि त्यहि हो । तिब्बतलाई लिएर नेपाललाई इसाइकरण भएको हेरीरहने नागपुरले नेपालमा हिन्दूराष्ट्र वा हिन्दूगणतन्त्रको समूह पाल्नु भनेको नेपालीमा भ्रम छरेको मात्रै हो ।

नेपाल हिन्दू, बौद्ध, किराँत, जैन र बोन आदिको मूल भूमि हो । यो कुरा हामीलाई स्पष्ट छ । नागपुरले हामीलाई हिन्दूराष्ट्रको बिषय पढाउनु पर्दैन । भूगोलले हाम्रो पानी र समयले हाम्रो जवानी दक्षिणतिर बगेको होला । तर हाम्रा पूर्खा कसैको भीख र आर्शिवादमा पालिएका होइनन् । न हामी पालिने छौं । हामी हाम्रो मूलभूमिको धर्मसँस्कृति, आर्दश,दर्शनलाई स्थापित गराएरै छाड्छौं । तर कसैकोे एजेण्डामा चलेर होइन । आफ्नै पौरखमा बिश्वास गर्ने नेपाली भएकोले आफै गर्छौ । हामी हाम्रो अस्मिताको रक्षा गर्न चारैतिरबाट महाशक्तिहरुले घेराबन्दी गर्दासमेत सक्षम थियौं भने आजपनि सक्षम नै छौं । पश्चिमाहरुले आफ्ना एजेण्टहरु मार्फत कहिले पशुपतिमा आक्रमण गरेर त कहिले हाम्रो सेनाको मनोबलमा आक्रमण गरेर, या समाजिक सद्भावमा आक्रमण गरेर नेपाली अस्मितामा आँखा नलगाए हुन्छ । यी तीनवटा नेपाली अस्मिता बिरुद्धका एजेण्डा कसैगरि पनि सफल हुन नदिने कर्तव्य हामी सबै नेपालीको हो । वर्तमान युवा पुस्ताको हो ।

प्रतिक्रिया

प्रतिक्रिया