बाँकेको खजुरा गाउँपालिकाले कम्तिमा १५ वर्षको योजना बनाएरमात्र विकासका पूर्वाधारमा आफुलाई अगाडी बढाउने योजना यसअघि सार्वजनिक गरेको छ । जसमा स्वास्थ्य क्षेत्रलाई पनि महत्वपूर्ण स्थान दिइएको छ । स्वास्थ्य उपचारको क्षेत्रमा पनि खजुरलाई अब्बल बनाउन सकिने उदाहरण यसअघि खजुराले प्रस्तुत गरिसकेको छ । वि.सं. २०७६ साल चैत्र ११ गते कोरोनाका कारण मुलुक लकडाउनमा गएपछि खजुराको क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पतालमा अगाडि बढाएर एउटा नमूना प्रस्तुत गरिसकेको छ । जोखिमका बेला खजुराका लागि मात्रै होइन बाँकेका कोरोना संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पतालका रुपमा सेवा दिएको अस्पतालले यस बर्ष कोरोना संक्रमित बढेपछि भेरी अस्पतालमा दिइने सर्पदंशको उपचार सेवा खजुरा स्थित क्यान्सर अस्पतालबाट सुरु गरेको थियो । कोरोनाको पहिलो चरण होस् वा दोस्रो चरण खजुराले स्वास्थ्य क्षेत्रमा योगदान उच्च बनाएको छ ।
यस बर्ष कोरोनाको दोस्रो चरणको अवस्थामा पनि खजुराले आप्mना नागरिकका लागि सुविधा सम्पन्न आइसोलेसन बनाएको थियो । अक्सिजनको महामारी जस्तै देखिएको अवस्थामा खजुरा गाउँपालिकाले खजुरा स्थित क्यान्सर अस्पतालसँग समन्वय गरी अक्सिजन सिलिण्डरको व्यवस्थापन गरेको थियो । पहिलो चरणको कोरोना संक्रमणका बेला कोरोनाले ठूलै त्रास सिर्जना गरेको थियो । कोरोना संक्रमित भन्ने बित्तिकै मानिसहरु कोशौं टाढा भाग्ने अवस्था थियो । तर, गाउँपालिकाले समन्वय गरेर, स्थानीयबासीलाई सम्झाई, बुझाई गरी क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा परिणत गरी बाँकेबासीलाई सेवा दिएको थियो ।
हाल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीलाई आवश्यक करिब सबै सेवा उपलब्ध भैसकेको छ । जसले गर्दा तत्कालीन मध्य र सुदूरपश्चिम जिल्लाका बासिन्दालाई क्यान्सरको पहिचान र उपचारका लागि अन्यत्र जाने बाध्यता हटेको छ ।
खजुरा गाउँपालिकाले आफ्ना नागरिकका लागि प्रत्येक वडामा स्वास्थ्य केन्द्र व्यवस्थित गरेको छ । खजुराले गत बर्ष जस्तै यसबर्ष पनि स्वास्थ्य क्षेत्रलाई आफ्नो बजेटमा प्राथमिकता दिएको छ ।
यसबर्ष संघिय सरकारबाट प्राप्त सशर्त कार्यक्रम र बजेटसँग तालमेल हुने गरी स्वास्थ्यका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन थप बजेटको ब्यवस्था गरी सर्बब्यापी पहुँचको अवधारणा अनुसार गाउँ वासीलाई निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गरिने पालिका प्रमुख किस्मत कुमार कक्षपतिले नीति तथा कार्यक्रम मार्फत जानकारी दिएका छन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रहरु, स्वास्थ्य चौकीहरु तथा आधारभुत स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिदै आएका स्वास्थ्य सेवाहरुलाई थप गुणस्तरीय बनाउन र औषधि उपकणको अभाव हुन नदिन बजेट विनियोजन गरिनेछ । साथै गाउँपालिका भित्र बसोबासगर्ने गरिव, सिमान्तकृत तथा पछाडि परेका समुदाय भएका क्षेत्रहरुमा आवश्यकताका आधारमा स्वास्थ्य सेवाको विस्तार गर्दै लगिने छ’, अध्यक्ष कक्षपति भन्छन् ।
खजुराले विपन्न वर्गका लागि तत्काल आवश्यक पर्ने रकम सापटीका रुपमा उपलब्ध गराउने नीति बनाएको छ । ‘अति विपन्न, सिमान्तकृत तथा पछाडि परेका समुदायका गर्भवती, प्रसुती तथा सुत्केरी अवस्थामा जटिलयुक्त समस्या भएका महिलाहरुको प्रेषण ब्यवस्थापन गर्न आर्थिक कठिनाई पर्दा तत्काल सापटी रकम उपलब्ध गराउने उद्देश्यले प्रसुती केन्द्र भएका स्वास्थ्य संस्थाहरुमा स्थापित आकष्मिक चक्रकोषलाई थप प्रभावकारी तथा दिगो बनाउन आवस्यक कानुन तथा निर्देशिका बनाई लागु गरिनुका साथै कोष सञ्चालनको निम्ति आवस्यक बजेट विनियोजन गरिनेछ,’ अध्यक्ष कक्षपति भन्छन्, ‘आधारभुत अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा, सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सेवा, बहिरंग र अन्तरंग सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन अत्यावश्यक पर्ने श्रोत ब्यवस्था गरिने छ ।’
खजुरा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन त्यसमा कार्यरतहरुको मनोबल उच्च समेत योजना बनाएको छ । ‘स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिका कार्यहरु थप प्रभावकारी वनाइनुका साथै स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी स्वास्थ्यकर्मीको मनोवल बढाउने तथा स्वास्थ्य क्षेत्र शुसासन कायम गर्ने कार्यलाइ प्राथमिकता दिइने छ’, अध्यक्ष कक्षपति भन्छन्, ‘साथै आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्य संस्था संचालन तथा ब्यवस्थापन समितिहरुको जिम्मेवारीलाई थप सुदृण तथा प्रभावकारी बनाउन आवश्यक पहल गरिनेछ ।’
खजुरा गाउँपालिकाले महामारी रोग नियन्त्रणका लागि कोष स्थापनाको परिकल्पना पनि आगामी आ.व.को बजेटमा गरेको छ । ‘पालिका स्तरको महामारी, रोग नियन्त्रण तथा विपद् व्यवस्थापन आकस्मिक योजना बनाई कार्यन्वयन गरिने छ । साथै महामारी तथा प्राकृतिक प्रकोपको ब्यवस्थापन गर्न पालिका स्तरमा कोष स्थापना गरिने’, अध्यक्ष कक्षपतिले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका छन् ।
खजुराले कोरोनाको पहिलो र दोस्रो चरणलाई राम्रो सँग व्यवस्थापन गरेको छ । अध्यक्ष कक्षपति तेस्रो चरणको कारोना आउने सम्भावना रहेकाले त्यसको पूर्व तयारीमा गाउँपालिका रहेको बताउँछन् । ‘कोरोना भाइरस रोगको संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि प्रदेश र संघिय सरकारसँग समन्यव गरी मापदण्ड अनुसारको ब्यवस्थापन गरिने छ,’ अध्यक्ष कक्षपति भन्छन् ।
खजुरा गाउँपालिकाले मातृ शिशु मृत्युदर नियन्त्रणका लागि स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि उत्प्रेरित गर्ने नीति पनि लिएको छ । ‘स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाइ मातृ तथा नवशिशु स्वास्थ्य र पोषण स्थितीमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने आमाहरुलाई थप प्रोत्साहनको ब्यवस्था गरिने छ’, अध्यक्ष कक्षपति भन्छन्, ‘सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रमलाइ अझबढी सुदृढीकरण गर्दै लैजानका लागि मातृ तथा नवजात शिशु तथा परिवार नियोजन योजनाको छुट्टै समिक्षा गर्ने व्यवस्था मिलाइने छ ।’
ज्येष्ठ नागरिक र पाँच बर्ष मूनिका बालबालिकालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न खजुरा प्रतिबद्ध रहेको पालिकाको आगामी आ.व.को नीति तथा कार्यक्रममा उल्लेख छ । ‘जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिकाहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई उपलव्ध गराउदै आएको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिई थप ब्यवस्थित बनाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य जाँच गर्ने ब्यवस्था गरी किशोर किशोरीहरुलाई उचित परामर्शको ब्यवस्था पनि खजुरा गाउँपालिकाले मिलाउने जानकारी दिएको छ । महिला स्वास्थ्य स्वयं सेविकाको सेवालाई थप प्रभावकारी वनाउन प्रोत्साहनका लागि आवश्यक ब्यवस्था गरिने छ ।
‘उच्च रक्तचाप, क्यान्सर, मधुमेह, दम, कलेजो, मिर्गौला लगायतका नसर्ने रोगको पहिचान परीक्षण र उपचारका कार्यक्रमहरु प्रदेश तथा संघिय सरकारसँग समन्वय गरी थप प्रभावकारी बनाइने छ,’ अध्यक्ष कक्षपति भन्छन्, ‘नगर क्षेत्रबाट निस्कने फोहोरको उचित ब्यवस्थापन गरी वातावणरीय प्रदुषण कम गर्नुका साथै सरुवा रोगको नियन्त्रण गर्ने कार्यलाई समेत प्राथमिकता दिइने छ ।’
नसर्ने रोग तथा मानसिक रोगको रोकथाम तथा व्यवस्थापन, सुर्तिजन्य बस्तुको प्रयोग, मादक पदार्थ सेवन, लागूपदार्थ दुव्र्येसनी लगायतका स्वास्थ्य समस्याहरुलाई निरुत्साहित गरी स्वस्थकर जीवनयापन गर्र्न प्रोत्साहन र प्रवद्र्धन गर्ने नीति पनि खजुराले लिएको
छ । सुरक्षित मातृत्व, बाल स्वास्थ्य, खोप, परिवार नियोजन, किशोरावस्था लगायतका प्रतिकारात्मक, प्रबद्र्धनात्मक, उपचारात्मक स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुर्याउने रणनीति पनि खजुराले लिएको छ ।
कोभिड – १९ संक्रमणलाई स्थिर बनाउने र क्रमशः रोकथाम तथा नियन्त्रणमा सफलता हासिल गर्ने लक्ष्यका साथ परिक्षण र आईसोलेसन केन्द्रलाई थप ब्यवस्थित गरी उपचारको समुचित प्रबन्ध मिलाइने पालिकाले जानकारी दिएको छ ।