नेपालगन्ज उपमहानगरपालीका–४ फुल्टेक्राकी सारदा चौधरी हाल भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा इन्चार्ज छिन् । कोरोना संक्रमित विरामीहरु राखिएको हल ‘सि’ हेर्ने जिम्मेवारी उनको हो । विहान सबैरै खाना बनाई खाएर उनी साढे आठ बजे अस्पताल पुगीसक्छिन् । दिउसो ३ बजे मात्र घर फर्किन्छिन् । कोरोना संक्रमितको अत्याधिक चाप भएको समयमा उनी राम्ररी घरमा वस्न पाइनन् । ‘घर पुग्ने वित्तिकै फोन आइहाल्थ्यो । बिरामीको चाप भएकाले अस्पताल जानैपर्ने बाध्यता थियो’ उनले भनिन् ।

नयाँ डरलाग्दो रोग । यसबाट आफ्नो र अरुको ज्यानै जान सक्ने भएकाले धेरै सर्तकता अपनाउनुपर्ने थियो । अझ यसको संक्रमणले निल्दै गरेका अवस्थाका बिरामीको प्राण बचाउनुपर्ने थियो । शरीरलाई पुरै पिपिइको सुरक्षा, आँखा, नाक, मुख, कपाल सबै छोप्नुपर्ने बाध्यता । त्यसमाथि नेपालगन्जको ३८ डिग्रीको तापक्रम । गर्मीले पिपिइभित्रको पिडा साँझपख छर्लगं देख्न सकिन्थ्यो । शरीरमा पिपिइको छाप÷ निसान हुन्थे । तर, त्यो समयमा छरछिमेकी र समाजले गर्ने व्यवहारले चाहिं उनलाई दुखित बनाउथ्यो ।

अस्पतालबाट घर पुग्दा छिमेकीले ‘कोरोना सारीहाल्छे’ भन्छन् कि भन्ने मानसिक तनाव पनि उस्तै । यो समयमा शाररीकभन्दा पनि मानसिक पिडाले नमीठो गरी घोचेको सारदाको भनाई छ । कोरोनाका विरामीको सेवामा खटिदा मानसिक रुपमा झेल्नुपरेका तनाबबारे बताउदै उनले भनीन् ‘परिवारबाट पुर्ण रुपमा सहयोग थियो । छिमेकिहरुले कता कता तिरस्कार गरीरहेको महसुस हुन्थ्यो । अझ पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो भने के गर्ने होला भन्ने चिन्ताले साह्रै पिरोल्थ्यो ।’

समाजले दिने मानसिक तनाबका कारण पिसिआरको नतिजा पोजेटिभ नआओस् भनेर उनी मनमनै प्राथना गर्थिन् । त्यति हुँदाहुँदै पनि गत असोजमा पिसिआर रिपोर्टको नतिजा पोजेटिभ नै आयो । उनले सुरुमा परिवारलाई यो अप्रिय समाचार बाँड्न सकिनन् । भेरी अस्पतालकी मेटो« दुर्गालक्ष्मी श्रेष्ठलाई भनीन् र उनकै सहयोगमा १४ दिन भेरी अस्पतालको आइसोलेसनमा बसिन् । उनीसंगै उनको परिवारमा सबैको कोरोना परीक्षण भयो । उनीसँगै बहिनीलाई पनि कोरोना पोजेटिभ देखीयो । परीवारका अरु सदस्यलाई भने देखिएन ।

त्यतिबेला बाँकेमा कोरोना संक्रमण देखिने र निको हुने क्रम थियो । अधिकांश निको भइरहेका थिए भने दैनिक १÷२ जनाको मृत्यु पनि भइरहेको अवस्था थियो । आफुले धेरै बिरामीहरुको सेवा गरेर निको बनाइसकेकाले निको हुन्छु भन्ने आशा थियो । यद्यपी कोरोनाले छातिमा समस्या देखाएपछि ७ दिनसम्म असहज महसुस गरेको उनले बताइन् । अक्सिजन दिनुपर्ने अवस्था भने आएन । १४ दिन पुगेपछि र स्वस्थ महसुस गरेपछि उनी फेरी बिरामीको सेवामा फर्किइन् । तत्काल काममा फर्किनुका मुख्यतः २ कारण थिए । पेशा नै स्वास्थ्यकर्मीको भएकाले अरु बिरामीलाई सेवा दिनुपर्ने भावना र पालो दिने समेत नहुँदा दैनिक १२÷१४ घण्टा बिरामीको सेवा गर्नुपर्ने स्वास्थ्यकर्मीको अवस्था । केहि समयपछि उनलाई फेरी कोभिड भयो । २ पटक कोभिड संक्रमणलाई परास्त गरेर फेरी सेवामा निरन्तर खटिइन् । पहिलो लहरकोभन्दा धेरै स्वास्थ्य सावधानी अपनाएकाले दोश्रो चरणमा भने उनको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।

जेठको अन्तिम सातादेखी भेरी अस्पतालमा कोरोनाका विरामीको संख्या घट्दै गइरहेको छ । अस्पतालको एउटै हलमा ६० जनासम्मलाई दैनिक सेवा दिएको उनको अनुभव छ । यहीवीच उनले भोगेका केहि नमीठा अनुभवहरु पनि छन् । ‘कोभिडको दोश्रो लहरमा धेरै आफन्तहरु, चिनेजानेका र अन्य व्यक्तिको आखैँअगाडी मृत्यु भयो । यो समयमा स्वास्थ्यकर्मी भएकोमा पिडा बोध हुन्थ्यो । अस्पताल छाडी भागेर जाँउ जस्तो लाग्थ्यो । तर, जब आफुले सेवा गरेका बिरामीहरु निको भएर घर फर्कन्थे त्यो समय आफ्नो काम र पेशाप्रति गर्व लाग्थ्यो’ उनले स्वास्थ्यकर्मी हुनुको अनुभूति सुनाइन् ।

दिनरात नभनी सेवा गरिरहदा पनि स्वास्थ्यकर्मीले प्रोत्साहन र सम्मान पाउन नसकेको उनको गुनासो छ । ‘कतिपयले वेड मिलाईदिन, कतिपयले अक्सिजन मिलाइदिन दबाब दिन्थे । हामी स्वास्थ्यकर्मीले सबै विरामीलाई समान सेवा दिने हो । तर, जेठ १३ गते भेरी अस्पतालमा डक्टर र नर्समाथि गरिएकोे आक्रमणले स्वास्थ्यकर्मीहरुमा निरासा पैदा गरेको छ । यस्ता घटनाले हाम्रो काम गर्ने मनोबल गिराउने काम भयो,’ उनले भनिन् ।

देशभरका नागरिकले थाहा पाउने गरी फिजिएको यो घटनापछि प्रदेश र संघमार्फत घटनाको दोषीलाई कारबाहि गर्न दबाब आयो । प्रहरी हिरासतमा रहेका उनीहरुलाई नेपालगन्ज तुलसीपुर उच्च अदालतले असार ६ गते ५०÷५० हजार धरौटिमा छोड्ने आदेश दियो । उनीहरुलाई धरौटीमा छोडेको भन्दै स्वास्थ्यकर्मीहरु असन्तुष्ट छन् । नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले अदालतको यो निर्णयले स्वास्थ्यकर्मीहरुको मनोबल घटेको बताए ।

भेरी अस्पतालमा मात्रै करिब ५ सय स्वास्थ्यकर्मी र कर्मचारी रहेकामध्ये करिब २ सय स्वास्थ्यकर्मी संक्रमित भएका थिए । उनीहरुले आफू कोरोना संक्रमित रहेको समयमा समेत अन्य संक्रमितको सेवा गरेका थिए । स्वास्थ्यकर्मीलाई समाजले मात्र होइन, राज्यले पनि सम्मान गर्न नसकेको उनीहरुको गुनासो छ । स्वास्थ्यकर्मीलाई आवश्यक परेको समयमा स्वास्थ्य सामाग्री पु¥याउन नसकेको, स्वास्थ्यकर्मीको अभाव परीपुर्ति गर्न नसकेको र दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीका लागि प्रोत्साहन एवं सम्मान नभएकोमा उनीहरुको चित्त दुखाई छ । यतिसम्म कि नेपालगन्ज उपमहानगरपालीकाका स्वास्थ्यकर्मीले कोरोना कहरमा खटिएवापत आर्थिक वर्ष २०७६÷०७७ सालको जोखीम भत्ता समेत अझै पाएका छैनन् ।

सारदाले कोरोना लहरको पहिलो चरणमा काम गरेवापत २ महिनाको ६४ हजार रकम मात्र जोखीमभत्ताबापत प्राप्त गरिन् । त्यसयता हालसम्म कुनैपनि रकम प्राप्त नगरेको उनको भनाई छ । उनीजस्तै, भेरी अस्पतालको कोभिड वार्डमा रहेका विरामीको सेवाका लागि नर्स सुनिता बुढा पनि बिहान ७ बजे नै घरबाट निस्किन्छिन् । दिनभर विरामीको सेवामा रहने उनी साँझ ७ बजेमात्र घर फर्किन्छिन् । उनले महामारीकै क्रममा व्लड क्यान्सरबाट पीडीत आफनो श्रीमान् गुमाइन् । श्रीमान् गुमाएको पिडामा रहेकै समयमा पनि उनले बिरामीको सेवामा समय दिन छोडिनन्् । उनीजस्तै करीब एक हजारको संख्यामा रहेका नर्सहरुले बाँकेका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थामा रहेर कोभिडविरुद्ध स्वास्थ्य सेवा दिइरहेका छन् ।

गतवर्षकै जोखीम भत्ता पाएनन्

कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले ०७६ चैत ११ गतेदेखिको भत्ता दिने निर्णय गरेको थियो । अस्पतालमा प्रयोगशाला, एक्सरे र कोभिड–१९ का बिरामी हेर्ने स्वास्थ्यकर्मीले शतप्रतिशत, प्राविधिकले ७५ र प्रशासनका कर्मचारीले ५० प्रतिशतका दरले जोखिम भत्ता पाउने बताइएको थियो । तर, सरकारले गत कात्तिक महिनापछि जोखिम भत्ता दिन वन्द ग¥यो ।

सरकारको व्यवहारका कारण स्वास्थ्यकर्मीहरु निरुत्साहित छन् । कोरोनाको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मीहरुले सम्मान, प्रोत्साहन र सरकारले दिने भनेको जोखीम भत्ता नपाएपछि दोश्रो लहरमा खटिनेको संख्या कम देखिएको एम्वुलेन्स चालकहरुका अगुवा राजीव गुप्ताले बताए । यस्तो महामारीमा समाज र राज्यबाट उचित सम्मान र प्रोत्साहन नमिलेको पनि उनले बताए ।

सरकारले २०७८ वैशाख १९ गते पुनः २०७८ वैशाखदेखि कोभिड नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएकाहरुलाई ६ महिनासम्म सुरुको महिनाको तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि लुम्बिनी प्रदेशमा जोखिम भत्ता वितरणको प्रक्रिया पुनः सुरु भएको स्वास्थ्य निर्देशनालय बुटवलको भनाइ छ । जोखिम भत्ता वितरण अस्पतालहरुमार्फत नै हुने भएकाले यसबारे आफुहरुसँग एकिन तथ्याङक नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यता नेपालगन्ज उपमहानगरपालीकाका २ सय बढि स्वास्थ्यकर्मीहरुले चालु आर्थिक वर्ष २०७६÷०७७ को समेत जोखीम भत्ता पाएका छैनन् । एक वडामा एउटा स्वास्थ्य संस्था छ । ती स्वास्थ्य संस्थामा ४ देखी ६ जनासम्म स्वास्थ्यकर्मी कार्यरत रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलिले बताए । यसरी हेर्दा २३ वडाका करीब १ सय बढिले जोखीम भत्ता पाएका छैनन् ।

होम आइसोलेसनमा खटिएर काम गर्दै आएकी नेपालगन्ज–१२ वेलासपुर स्वास्थ्य चौकी इन्चार्ज आरति चौधरीले पनि हालसम्म जोखिम भत्ता प्राप्त नगरेको बताइन् । कोभिड महामारीमा निरन्तर खटिरहे पनि हालसम्म तलबबाहेक कुनै पनि अतिरिक्त रकम नपाएको उनको भनाई छ ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले सरकारलेसमयमा रकम नपठाएका कारण उपलव्ध गराउन नसकिएको बताए । उपमहानगरमा चैत्र २०७६ देखि असार २०७७ सम्मको जोखिम भत्ता वितरण भइसकेको पनि उनले बताए । उपमहानगरपालिकाले यस वर्ष कोभिड महामारी नियन्त्रणका लागि होम आइसोलेसन र कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीलाई मात्रै जोखिम भत्ता दिने निर्णय गरेको छ जसअन्र्तगत पहिलो प्राथमिकता दिदै होम आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीका लागि यातायात र सञ्चार खर्च स्वरुप ५ लाख ५५ हजार रुपैयाँ भुक्तानीका लागी पठाइएको उनले जानकारी दिए ।

२ महिनाको मात्रै जोखिम भत्ता
पश्चिम नेपालको ठूलो स्वास्थ्य संस्था भेरी अस्पतालका स्वास्थ्यकर्मीले गत आर्थिक बर्षको २ महिनाको मात्र जोखिम भत्ता पाएका छन् । पहिलो चरणको कोरोना संक्रमण फैलिएको समयमा सेवा गरेवापत आर्थिक वर्ष २०७६÷०७७ को दुई महिनाको मात्र जोखिम भत्ता पाएको भेरी अस्पतालका फिजिसियन डा. पारस श्रेष्ठले बताए । चालु आर्थिक वर्षको हालसम्म जोखिम भत्तावापत अन्य कुनैपनि रकम नपाएको उनले बताए । अस्पतालमा कार्यरत नर्सहरु पनि जोखिम भत्ता नपाएको बताउँछन् ।

भेरी अस्पतालमा प्रदेशले खटाएका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले नै जोखिम भत्ता दिने गरेको अस्पतालले जनाएको छ । अस्पतालका अन्य कर्मचारीलाई कर्मचारी व्यवस्थापन, जोखीम भत्ता, औषधि लगायतको व्यवस्थापन गर्नुपर्ने भएकाले २ महिनाबाहेक अन्य समयको जोखिम भत्ता खुवाउन नसकिएको मेडिकल सुपरीटेन्डेन्ट डा.प्रकाश थापाले बताए । सरकारले जोखिम भत्ताको लागि भनेर छुट्टै रकम नपठाएको र त्यही रकमबाट अस्पताल व्यवस्थापनका सबै कामहरु गर्नुपर्ने भएकाले सरकारले भनेअनुसार जोखिम भत्ता दिन नसकिएको थापाको भनाइ छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार भेरी अस्पतालमा जोखिम भत्ता, औषधि व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन शिर्षकमा यो वर्ष १७ करोड ५२ लाख बढी रकम विनियोजन भएको छ ।

नर्सीङ होमका १४ सय स्वास्थ्यकर्मीले पारीश्रमीक नै पाएनन्
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत १४ सय बढी स्वास्थ्यकर्मीले २ महिनाको पारीश्रमीक नै पाएका छैनन् । कोरोनाका कारण आर्थिक कारोबार घटेपछि कोहलपुर र नेपालगन्जमा कार्यरत १४ सय बढीलाई गत वैशाख र जेठको तलब खुवाउन नसकिएको शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. नितेस कनोडियाले जानकारी दिए । स्वास्थ्यकर्मीको करीब ७ करोड रुपैयाँ तलब भुक्तानी गर्न बाँकी छ । अन्य सामाग्रीहरुको खर्च पनि उठाउन नसक्ने अवस्थामा अस्पताल रहेको कनोडियाको भनाई छ ।

कोरोना महामारीको बेला खटिएका नर्सहरुले समेत न्यूनतम पारिश्रमिक पाउन नसकेको नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी वलीले बताइन् । एएनएम पदका लागि सरकारले न्युनतम २२ हजार ५ सय पारिश्रमिक तोकेको छ । तर, जिल्लामा नर्सहरुले अधिकतम १५ हजार तलबमा काम गर्नुपर्ने वाध्यता रहेको अध्यक्ष वलीले बताए । कतिपयले १२ हजार रुपैयाँको पारिश्रमिकमा मात्रै सेवा गरिरहेको पनि उनले बताइन् ।

लुम्बिनीमा ४५ लाखलाई २ हजार स्वास्थ्यकर्मीले सेवा दिदै
जनगणना २०६८ बमोजिम लुम्बिनी प्रदेशको कूल जनसंख्या ४५ लाख ४० हजार २ सय २२ रहेको देखीन्छ । लुम्बिनी प्रदेशमा हाल १ हजार पाँच सयभन्दा बढी स्वास्थ्यकर्मी छन् । यस हिसाबले एक जना स्वास्थ्यकर्मीको भागमा ३ हजार २६ जना मानिसहरुको उपचार जिम्मा छ । प्रदेशमा कोभिडका लागि भनेर अस्थायी दरबन्दीमार्फत ५ सय ८३ जना स्वास्थ्यकर्मी थपिएको स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया