दुई सय युवाहरूलाई उद्यमशिलता जोड्न तीन वर्षमा खजुरा गाउँपालिकाले ५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका २ सय युवालाई व्यवसायिकतामार्फत रोजगारीमा जोड्ने भएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको समन्वयमा खजुराले कम्तिमा दुई सय बेरोजगार युवालाई रोजगारसँग जोड्न अभियान चलाएको हो ।
‘गाउँपालिकाभित्र रोजगार तथा स्वरोजगारका लागि हामी आफै समन्वयात्मक भूमिका निर्वाह गरिरहेका छौं, आइतवार अभियानका क्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, ‘केही गर्छु भन्ने योजना र आँट हुनेलाई रकम अभावले निराश हुनुपर्दैन ।’
अभियान अन्तरगत आइतवार ४० जना युवालाई व्यवासाय संचालनका लागि ४० हजार अनुदान रकम वितरण गरिएको छ । खजुरा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा उनीहरुलाई बाख्रा र बंगुर पालनका लागि उक्त रकम वितरण गरेको हो ।
व्यवसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरुलाई सहयोग रकम थप हुँदै जाने बताइएको छ । उक्त कार्यक्रमको इन्रुडेकले समन्वय गरेको छ । परियोजना ३ वर्षसम्म संचालन हुने जनाइएको छ ।
खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले युवा उद्यमीलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै २ सय युवाहरूलाई उद्यमशिलता अन्तरगत ३ वर्षमा गाउँपालिकाले ५ करोड रुपैयाँ लगानी गर्ने बताए । उनले बाख्रा, बंगुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बंगुर पालनको मात्र माग भएको बताए ।
चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बंगुर पालनका लागि ४० हजारका दरले दिइएकोमा आगामी दिनमा २ सय जनामा विभिन्न व्यवसाय संचालनका लागि उक्त कार्यक्रम संचालन गरिने उनले बनाए । निर्वाचित भएको ४ वर्षमा १०१ बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा गरेको पनि उनले जानकारी दिए । अध्यक्ष कक्षपतिले कोभिडले विकास र नियमितमा काममा प्रभाव पारेकोले ग्रीन सिटीको २ अर्बको प्रोजेक्ट अगाडि बढ्न नसकेकोमा निकट भविष्यमा अगाडि बढने बताए । उक्त कार्यक्रम अन्तरगत आमा, बहिनी समूह गठन र आधाशिला तालिम दिइने छ ।
खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले युवाहरूलाई उद्यमी बनाउने उद्देश अनुरुप युवाहरूलाई अनुदान दिइएकोमा व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गरिन । उनले भनिन् योजना बिना कार्यक्रम सफल नहुँने भएकाले व्यवसायिक योजनाका साथ अगाडि बढ्नु पर्छ । उपाध्यक्ष बिकले आधारशिला तालिमले परियोजनाको उद्देश्य पूर्ति गर्नेमा विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले सानो लगानीबाट अर्बपति भएका धेरै उदाहरण भएकाले रोजगारमा सहयोग पु¥याउन गरिएको यो सहयोगलाई भरपूर उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले वैदेशिक रोजगारबाट फर्किएका वा युवा जो उद्यम गर्न चाहन्छ त्यस्तालाई सहयोग पु¥याउँदै उद्यमशीलताको माध्यमबाट रोजगारी सृजना गर्न कार्यक्रम लागू गरिएको बताए । कार्यक्रममा हेफर प्रोजक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेल, परियोजना संयोजक प्रेम विकले त्रिपक्षीय रुपमा सम्झौता गरेर गरिने व्यवसाय भएकाले सफल बन्ने सुत्रका बारेमा सहजीकरण गरेका थिए । बेरोजगारहरुलाई रोजगारसँग जोड्न विभिन्न प्रयासहरु भइरहेको खजुरामा स्थानीय निकायको सहयोगमा विभिन्न आयमूलक कामहरु पनि अगाडी बढ्ने पालिकाले जनाएको छ ।