तलाक इस्लाममा एक समाधान वा छुटकारा पाउने प्रावधान हो तर समाजमा आज यसको दुरुपयोग गरिँदै शरीयतको मजाक बनाइदैं आइएको छ । जसको नकारात्मक असरहरु समाजमा प्रष्ट देख्न सकिन्छ । साना साना कुरामा तलाक दिइन्छ । तलाकको दुरुपयोगले धेरै महिला र तिनका बच्चाहरु अलपत्र छन् । जो शिक्षादिक्षा, खानपान, घरबार र स्वास्थ्य उपचारबाट बन्चित छन् । कतिपय महिला अरुको घरमा घरेलु कामदारका रुपमा नारकीय जीवन गुजारी रहेका छन् भने कति महिलाहरु आफ्ना बच्चाहरुका साथ माइतमा एक आश्रित जीवन बिताउन बाध्य छिन् ।

पृष्ठभूमि
आज हामी बुर्काभित्र/ बुर्काबाहिर स्तम्भमा महिलासंग जोडिएका दुइटा निकै महत्वपूर्ण विषयको बारेमा चर्चा गर्नेछौं । हुन त यो विषयको बारेमा कोही पनि अनभिज्ञ नहोला तथापि यसको सम्बधमा अझ प्रष्ट पार्ने आशयले आज यहां यो विषयवस्तु उठान गरिएको छ ।
पहिलो विषयवस्तु तलाक र दोस्रो विषय हलाला । जब समाजमा तलाक जस्तो शराअई हलाल तर अल्लाहको नजिक सबभन्दा मन नपर्ने कुराको मजाक उडाइदैंछ र हलालालाई बदनाम गरिदैंछ । तब तलाक र हलालाको विषयमा चर्चा गर्न आवश्यक ठानी आज यस स्तम्भमा प्रष्ट पार्ने चेष्टा गरिएको छ । सब भन्दा पहिला बुझ्नु पर्ने कुरा के हो भने तलाक इच्छा वा रिसका कारण स–साना कुरामा मनपरी दिने वा लिने चीज होइन यो त शरीयतले दुई त्यस्ता व्यक्ति जसलाई संगै बस्न असम्भव भएपछि एक अर्कासंग छुट्टिन दिएको बाटो हो । अनि हलाला चाहिं तलाक दिएकै पत्नीलाई पुनः आफ्नो जीवनमा वैधानिकताका साथ सामेल गर्न दिएको अवसर हो । हलाला हलाल शब्दबाट बनेको छ । हलाला के हो बुझ्न सर्व प्रथम हलाल भनेको के हो बुझ्न अति आवश्यक छ ।
‘हलाल’ अरबी शब्द हो जसको अर्थ उचित, विहित, निर्धारित, जायज र शरीअते इस्लामको अनुकूल जसलाई ग्रहण या भोग उचित छ र वैध मानिन्छ । पति पत्नीबीच वैधानिक नाता कायम गर्न र गराउन निकाह नै एक मात्र हलाल बाटो हो शरीअते इस्लाममा ।
अब त्यसपछि हामीले यो बुझ्नु आवश्यक छ कि हलाला जसलाई यति जोडदार रुपले प्रचार प्रसार गरिदैंछ त्यस्तो तरिकाको इस्लामसंग कुनै सरोकार छैन र न कहिले थियो अनि कहिल्यै हुन पनि सक्दैन । इस्लामसंग त्यस्तो गलत र मनगढन्ते चीजहरू जोड्नु वास्तवमा अल्लाहको आदेशमाथि औंला उठाउनु सरह हो । किनकि व्यक्ति कानून बनाउदा गल्ती गर्न सक्दछ र उसले गल्ती गरेको पनि पाइन्छ तर अल्लाहबाट कुनै गल्तीको बारेमा सोच्नु इमानबाट खारिज हुनु हो । कुरा यो हो कि संसार तपाईले हजारौं लाखौं त्यस्ता व्यक्तिहरू भेटाउन सक्नुहुन्छ जो नास्तिक छन् वा जसले अल्लाहको नाफरमानी गरेका हुन्छन् जो प्रत्येक समाज र धर्ममा छन् र इस्लाममा पनि पाइन्छन् । यिनीहरू त्यस्ता मानिस हुन् जसले आफ्नो इच्छा अनुसार शरीअते इस्लामको शिक्षा र कानूनलाई बंग्याएर समाजमा भ्रम सृजना गर्ने प्रयास गर्दैछन् । त्यस्तै विषय हो तलाक र हलाला आज यही दुई विषय बारे कुरानापाकको प्रकाशमा केही महत्वपूर्ण जानकारी साझा गरिदैंछ जसले कायम रहेको भ्रम हटाउनेछ ।
सामाजिक परिवेश
यद्यपि तलाक इस्लाममा एक समाधान वा छुटकारा पाउने प्रावधान हो तर समाजमा आज यसको दुरुपयोग गरिँदै शरीयतको मजाक बनाइदैं आइएको छ । जसको नकारात्मक असरहरु समाजमा प्रष्ट देख्न सकिन्छ । साना साना कुरामा तलाक दिइन्छ । कहिले पुरुषले शंकाको भरमा, रिसको आवेगमा तलाक दिन्छन् भने कहिले महिला अर्थात आफ्नी आमा वा दिदीबैनीको दबाब र इमोशनल ब्लेकमेलमा तलाक दिने गर्छन् । कुरा यति कहाँं हो कहिले त महिलाले स्वंय उक्साउछिन् कि ‘आफ्नो बाउको जायज सन्तान हो भने तलाक देऊ, हिम्मत छ भने तलाक दिएर देखाऊ, तिमीलाई तिम्रो आमाको कसम छ तिमी आजै अहिलै नै तलाक देऊ ।’ अनि पुरुष नचाहँदा पनि बाध्य भएर तलाक दिन्छन् ।
तलाकको दुरुपयोगले धेरै महिला र तिनका बच्चाहरु अलपत्र छन् । जो शिक्षादिक्षा, खानपान, घरबार र स्वास्थ्य उपचारबाट बन्चित छन् । जसलाई आधारभूत आवश्यकताहरु पूरा गर्न पनि धौ–धौ पर्छ । कतिपय महिला अरुको घरमा घरेलु कामदारका रुपमा नारकीय जीवन गुजारी रहेका छन् भने कति महिलाहरु आफ्ना बच्चाहरुका साथ माइतमा एक आश्रित जीवन बिताउन बाध्य छिन् । जहां तलाकी महिलाहरुले माइतमा घरका सम्पूर्ण काम गरेर पनि दाई भाउजु लगायतको चारथरी कुरा सुनेर पनि सुरक्षित आश्रयको अभावमा मानसिक यातना सहेर जीवन बिताउन बाध्य छिन् । तर उनीहरुका लागि कसैले सोंच विचार गरेको हुँदैंन सबलाई आफ्नै चिन्ता चासो छ सब आफ्नै तालमा हिडेका छन् ।
भइरहेको के छ भने अर्काको दबाबमा आएर, चरित्रमाथि शंका लागेमा, कुनै कुराको रिस उठेमा पतिले आफ्नी पत्नीलाई फटाफट तीन तलाक दिइहाल्छन् अरे तीन मात्र कहां हो र एक साथ सयौं पटक ‘मैले तलाई तलाक दिएँं वा जा तलाई तलाक छ’ भनिहाल्छन् । समय बित्छ र एक दुई दिनमा, एक दुई हप्तामा, एक दुई महिनामा वा एक दुई वर्ष पछि एक दिन जब रिस शान्त हुन्छ । तब उसलाई आफ्नी पत्नीको कमी महसुस हुन्छ उसका गुणहरु याद आउन थाल्छ । तब उसलाई बडा पछुतो लाग्छ कि मैले तलाक दिएर धेरै ठुलो गल्ती गरेछु । मेरी पत्नी त राम्री थिई मैले नै उसको कदर गर्न सकेन उसलाई बुझ्न सकेन । भने यता पत्नीलाई पनि पतिको गुण याद आउन थाल्छ कि ‘ऊ अलि रिसाहा स्वाभावको भ एपनि मेरो कति ख्याल राख्थ्यो । मेरो सबै चाहना र आवश्यकताहरु भन्नु भन्दा अगावै पुरा गरिहाल्थ्यो मैले नै गल्ती गरें तलाक मागेर । म अब आफ्नो साबिक पतिसंगै बस्न चाहन्छु ।’ उसले अनि पतिलाई फोन गर्न सुरु गर्छिन् । अब ऊ आलिमे दीन मुफ्ती मौलानाकोमा धाउन थाल्छ कि ‘मलाई मेरो पत्नी फिर्ता ल्याउनु छ मेरा साना साना बच्चाहरुको भविष्यको कुरा छ । कुनै उपाय बताउनुस् ताकि म आफ्नी पत्नीलाई फिर्ता लिएर आउन सकँुं ।’ तब हुन्छ के भने मौलानाहरुले हलाला निकाहको सलाह दिन्छन् र केही इस्लामी मुलुकमा त हलाला सेन्टर नै खोलिएछ जहांँ हलाला निकाह गराइन्छ ।
हलाला निकाहको कुरा गर्नु अघि यो कुरा पनि जान्न जरूरी छ कि इस्लाममा शर्त राखेर निकाह गर्नु गराउनु नाजायज ओ हराम छ । यदि कसैले यो शर्तमा निकाह गर्छ वा गराउंछ कि उसको पहिलो पतिका लागि आज निकाह गरेर फेरि तलाक दिनु र तलाकको उद्दत पश्चात उसको साबका पतिले निकाह गर्नेछ भने यो जायज छैन् । इस्लामका अनुसार हलाला सुनियोजित ढंग वा योजनाबद्ध हुनुहुँदैन यदि स्वचालित रूपमा वा अनियोजित रुपमा भने यो उचित छ । अर्को कुरा दोस्रो पतिलाई तलाक दिएर सम्बन्धविच्छेद गर्न बाध्य गर्न मिल्दैन हां यदि पत्नीले चाहिन भने स्वंय खुलाअ लिन सक्छिन् । तर यदि उनीहरु सम्बन्ध विच्छेद गर्न चाहँदैनन् भने दुबै पति–पत्नीको रुपमा बस्न सक्छन् । तर शरीयतको कानून र आदेशको धज्जियां उडाउदैं आजभोलि मनपरी ढंगले शरीयतको बरखिलाफ गइकन मानिसहरु तलाक र तलाकपछि हलाला गरिरहेछन् । जसले गर्दा अन्य धर्म समुदायले मुस्लिम समुदायको मजाक उडाउन थालेछन् । विभिन्न बहानामा यसमाथि कटाक्ष हान्न थालेछन् ।
तलाक
हेरौं के हो तलाक ?
हुन् त इस्लाम धर्ममा हलाल कार्यहरु मध्ये तलाकÞ अल्लाहको नजिक सबैभन्दा बढी मन नपर्ने कुरा हो । तलाक समस्या होइन समाधान हो ,जसको दुरुपयोग आज समस्याको रुपमा गरिँदैछ । तलाक त्यति बेला मात्र दिन पाइन्छ जति बेला निबाह (निर्वाह) गर्न दुवैलाई एकदमै गाह्रो भएको हुन्छ, सँगै बस्न सक्ने अवस्था नै हुँदैन्, एक अर्काको ज्यान दाउमा लागेको हुन्छ त्यति बेला तलाक लिएर छुट्टिएर बस्नु एक उत्तम उपाय हो ।
तलाक छुट्टिनुका लागि इस्लामले दिएको अवसर हो र छुट्टिनका लागि नियत मात्र हो र यो छुट्टिने सोंच र नियतमा नै भर पर्छ । तर, आज धेरै जसोले एक पटकमा तीन चोटी तलाक दिँदा तलाक हुँदैन भन्ने गरेका छन् जुन कि गलत हो । एक पटकमा तीन वा सो भन्दा बढी तलाक भनियो भने तलाक लाजिम हुन्छ र छुट्टिनु पर्ने हुन्छ । तर, तीन भन्दा कम पटक भनिएको छ भने रुजु गरि बस्न सकिन्छ । तलाक दिँदा साक्षी हुनुपर्ने जरुरी छैन्, साक्षी नभए नि तलाक भइहाल्छ ।
तलाक सम्बन्धी अल्लाहको आदेशबारे विस्तृत जानकारी कुरानमजीदको सुरह बक्रा , सुरह तलाक लगायतका आयतहरुमा पढ्न सक्नु हुन्छ । तथापि यहां संक्षिप्तमा तलाक बारे केही महत्वपूर्ण जानकारी यस प्रकार साझा गरिएको छ ।
तलाकका किसिम
मुख्यत तलाकका तीन किसिम हुन्छन् ।
पहिलो तलाकलाई ’तलाक–ए–रजई’ दोस्रोलाई ’तलाक–ए– बाअइन’ र तेस्रोलाई ’तलाक–ए– मुगल्लिजा’ भनिन्छ ।
१.तलाकको पहिलो किसिम तलाक–ए–रजइ हो । यसमा तलाक एक वा दुई पटक तलाक दिएको तलाक मान्य हुन्छ र तलाक पछि इद्दत सुरु भइहाल्छ तर पत्नी निकाहमै रहन्छिन् । इद्दतको अवधीभित्र अर्थात तीन तोहर (तीन महिनावारीभित्रै) पतिले पत्नीलाई यो भनेर रूजू गर्न सक्छ कि ‘मैले रजत गरें र मैले तिमीलाई आफ्नो निकाहमा लिएं ।’ यसरी उनीहरुको निकाह कायम रहन जान्छ । यदि इद्दतको समय बितिसकेछ भने आपसी रजामन्दीमा फेरिबाट निकाह गरेर बस्न सक्ने छन् ।
२. दोस्रो तलाक–ए–बाअइन जसलाई तलाके किनाई पनि भनिन्छ जसमा पतिले तलाक–ए– बाअइन शब्दको प्रयोग गर्नुपर्छ कि मैले तिमीलाई तलाक–ए– बाअइन दिएं अथवा तलाक शब्दलाई गोलमोल वा घुमाउरो पारा तिमी सख्त तलाक छ भन्छ भने तलाक भइहाल्छ जस पश्चात रुजू गर्ने हक हुँदैंन । तलाक पछि इद्दत सुरु भ शइहाल्छ जुन तीन महिनावारीको अवधी हो । इद्दत गुजारिसकेपछि पति पत्नी संगै बस्न इच्छुक भए आपसी समझदारी र रजामन्दीमा शराअई गवाह (साक्षी) हरुको उपस्थितिमा नयाँ महरका साथ पुनः निकाह हुन सक्छ । तलाकपछि महिलालाई घरनिकाला गर्न पाइँदैन्, बरु आफू छुट्टिएर बस्नुपर्छ ।
३. तेस्रो प्रकारलाई तलाक–ए– मुगल्लिजा जसलाई तलाक–ए–बिद्दत (बिदाह) पनि भनिन्छ। यसमा सम्बन्ध विच्छेदको त्यो प्रकृयाको नराम्रो पक्ष स्पष्ट देखिन्छ । जसमा पतिले एक पटकमा तीन चोटी ‘तलाक– तलाक– तलाक’ भनिदिएमा तलाक भइहाल्छ । तलाक–ए– बिद्दत अन्तर्गत पतिले तीन पटक भन्छ ’म तिमीलाई तलाक दिन्छु वा मैले तिमीलाई तलाक दिएं ।’ त्यसपछि विवाह तुरुन्तै टुट्छ अब निकाह कायम रहदैंन र यसपछि रुजू गर्ने हक पनि हुदैंन् अब कसैले यो तलाक फिर्ता लिन सक्दैन् । यस पश्चात तलाकशुदा जोडीले हलाला पछि मात्र विवाह गर्न सक्दछन् । तलाकको प्रकृया जे जसो भए पनि बिना शरअइ कारण तलाक दिन पाइँदैन् ।
अब हेरौं कस्तो तलाकमा पुनः निकाहको अवश्यकता हुँदैन ः यस्तो तलाकलाई ‘तलाक–ए–बाइन’ भनिन्छ । अर्थात पतिले खुल्ला रुपमा नभने नि तलाकको आशयले ‘तिमी म माथि हराम भयौ’ वा ‘तिमी आज देखि स्वतन्त्र छौ’ वा ‘गइ हाल’ वा ‘आफ्नो अनुहार न हेराऊ’ वा ‘अर्को पति खोजिहाल’ वा ‘यहाँ काम छैन’ वा ‘तिम्रो ओछ्यान सारिहाल’ वा तलाक शब्द नै भनोस् कि तिमीलाई सबभन्दा फोहोर तलाक छ, वा सबभन्दा साह्रो तलाक जस्ता शब्द भन्यो भने त्यतिबेला तलाक बाइन लागू हुन्छ । यसको विषयमा आदेश छ कि इद्दत (समय सीमाभित्र) वा इद्दत पछि दुवै पति पत्नीले निकाह गरिहाले भने रुजुअ (मान्य ) भइहाल्छ । हलालाको आवश्यकता पर्दैन् । यद्मपि महिलाको अनुमति जरुरी हुन्छ महिलाले अस्वीकार गरे भने निकाह हुँदैन् । यसै गरी यदि पतिले एक वा दुई तलाक रज्इ (मैले तलाक दिए भनेर ) दिएर इद्दतभित्र नै रुजुअ गरेन् भने पुनः निकाह गर्नुपर्ने हुन्छ । अनि मात्र रुजू हुन्छ र यस्तो परिस्थितिमा महिलाको मन्जुरी आवश्यक हुन्छ । यदि महिलाको मन्जुरी नभए पुरुष (पति) ले एक्लै रुजुअ गर्न सक्दैन् । अवस्था जस्तो भए पनि बिना शरअई कारण तलाक दिनु नाजायज हो ।
तलाक दिन सक्ने शरुअई कारण यी हुन् ।
– इस्लामले गर भनेका काम नगरेमा
– इस्लामले नगर भनेका काम गरेमा
–पर पुरुषसँग लागेको प्रमाणित भएमा आदि ।
हलाला निकाह
अब हेरौं हलाला भनेको के हो ?
हलाला हेर्ने हो भने एक प्रकार महादण्ड हो । किनभने हलालाका लागि पत्नीले अर्को पुरुषसंग निकाह गरी जौजियतको हक अदा (पत्नीको दायित्व निर्वाह) गरेको हुनुपर्छ । एक सज्जन र इज्जतदार व्यक्तिको सामु उसकी पत्नी अर्को पुरुषसंग निकाह गर्नु उसको लागि यो निकै गैरत ÷लाजमर्दो कुरा र कठिन परीक्षा हो । तलाकपछि हलालाको आदेश नै यही कारणले राखियो जसको डरले गर्दा कसैले आफ्नी पत्नीलाई अनाहक र गैर शराअई कारणले तलाक दिनु पूर्व हजारौं लाखौं पटक सोच विचार गर्न बाध्य होस् । हलाला गर्ने शर्त यस कारण पनि राखियो ताकी तलाकपछि हराम भएकी पत्नीलाई पुनः वैधानिक रुपमा भित्रियाउनका लागि निकाह गरुन् । यसलाई यसरी बुझ्दा हुन्छ हामी सबैले अवश्य नै कुनै न कुनै कारणले कुनै पनि माध्यम जस्तैः बस रेलगाडी वा हवाईजहाजबाट यात्रा गरेका छौं । यात्राका क्रममा कुनै दुर्घटना भयो भने आफ्नो ज्यान जोगाउन आपातकालीन द्वार वा आपातकालीन झ्यालको प्रयोग गर्नुहोला भनी रेलगाडी, हवाईजहाज आदिमा लेखिएको र द्वार खोल्ने उपकरण समेत राखिएको हुन्छ । जति बेला दुर्घटना भयो वा हुने आशंका भयो त्यो आपातकालीन द्वारको प्रयोग गरी बाहिर निस्किन द्वार वा झ्याल भाचेंमा कुनै जरिवाना लाग्दैन् र ज्यान पनि जोगिन्छ । तर दुर्घटना नभएको खण्डमा त्यतिकै ख्याल ख्यालमै सो आपातकालीन द्वार वा झ्याल भाचेंमा दण्डित गरिन्छ जरिवाना पनि असूल गरिन्छ ।
त्यसै गरी तलाकको कुरा गर्दा शरीयते इस्लामले जब पति पत्नी बीच सम्बन्ध यति बिग्रिने कि दुबैलाई ज्यानै जाने वा बाच्नै नसक्ने कि त आफु मरिहाल्ने कि अर्कोलाई मार्दिन् सक्ने खतराको अवस्था आयो त्यतिबेला तलाकलाई आपातकालीन बाटोको रुपमा प्रयोग गरी एक अर्कासंग छुट्टिन सक्ने प्रावधान राखेर तलाक दिन र लिन आदेश दिएकोछ । त्यसको लागि तीन पटकमा चरणबद्ध तलाक दिने भनी आदेश छ । तर यदि अल्लाहको आदेश विपरीत कसैले एक साथ तीन तलाक दियो भने उसमाथि उसकी पत्नी हराम भइहाल्छिन् अब जब सम्म उसको पत्नीले अर्को पुरुषसंग निकाह गर्दैनिन्न् र उसले तलाक दिदैंन् वा छाड्दैन् तब सम्म उसले आफ्नी साबका पत्नीसंग बस्न सक्दैन् । यो उसको लागि दण्ड हो जसले हलाल काम मध्येको अल्लाहलाई सबभन्दा मन नपर्ने कार्य आफ्नी पत्नीलाई तलाक दिने गर्छ । हलालाको सम्बधमा बुझ्नको लागि हलाल भनेको के हो यो बुझ्न अति आवश्यक छ ।
‘हलाल’ एक अरबी शब्द हो जसको अर्थ हो उचित, विहित, जायज र शरीअते इस्लामको अनुकूल जसलाई ग्रहण या भोग उचित र वैध मानिन्छ । यस्तै समाजमा बसेर आफ्नो वंश बढाउन र एक अर्को आवश्यकता पुरा गर्नका लागि पति पत्नीबीच वैधानिक नाता कायम गर्न र गराउन शरीयते इस्लाममा निकाह नै एक मात्र हलाल बाटो हो । तर तलाक पछि आफ्नी साबका पहिली पत्नीलाई पुनः आफ्नो जीवनमा सामेल गर्न उसकी पत्नीले अर्को पुरुषसंग निकाह गरी जौजियत भन्नाले पत्नीका दायित्व निर्वाह गरेको हुनुपर्छ । यस बारे कुरानापाकमा अल्लाहको आदेश सुरह बक्राको आयत २३०मा प्रष्ट छ ।
अल कुरआन
सुरहः बक्रा आयतः २३०
यदि तेस्रो पटक कुनै महिलालाई तलाक दिन्छ भने त्यस पश्चात उसले अर्को पुरुषसँग निकाह नगरे सम्म त्यो उसको लागि हलाल (वैध) हुँदैन् । अतः यदि यदि दोस्रो पतिले उनलाई तलाक दियो भने उनीहरु एक अर्का तर्फ फर्के भने यसमा कुनै पाप छैन् । यदि तिनीहरू दुवैले विश्वास गर्दछन् कि अल्लाहले सीमितताहरू कायम गर्न सक्नुहुन्छ र यी अल्लाहको (नियुक्त) सीमाहरू हुन् जसलाई ज्ञानीहरुका लागि स्पष्ट बयान गर्दैछ ।
इस्लाममा वास्तविक र असल हलाला
तलाकपछि पत्नी पतिको लागि हराम भइहाल्छिन् यसरी हराम भइसकेकी पत्नीलाई बिना निकाह भित्रियाउन अवैध छ । अब हलाल तरिका (वैधानिक रुप) ले पत्नीलाई भित्रियाउन उसले शरीयतले भने अनुसार अर्को पुरुषसंग निकाह गर्नै पर्ने हुन्छ । इस्लाममा असल तथा वास्तविक हलालाको अर्थ एक तलाकशुदा महिला आफ्नो इच्छा मुताबिक बिना शर्त स्वचालित वा अनियोजित रुपमा कुनै अर्को पुरुषसंग निकाह गर्ने । त्यसपछि यदि कारणवश ती महिलाको त्यो विवाह सफल हुन सकेन् अर्थात पतिले तलाक दिएमा वा पतिको मृत्यु भइहालेमा त्यस्तो परिस्थितिमा उनले इद्दत पुरा गरेर आफ्नो इच्छा अनुसार तब मात्र पहिलो पतिसंग निकाह गर्न सक्छिन् । यो हो असल र वास्तविक इस्लामिक हलाला निकाह ।
चुनौती
शरीयते इस्लाम र यसका शराअई कानून प्रष्ट छन् जुनकि मानवहितमा बनेका छन् । तर चुनौती यो छ कि मानिसले यसलाई आफ्नो इच्छा अनुसार तोडमरोड गर्न थाल्छन् र मनपरी ढंगले यसको व्याख्या र प्रयोग गर्न थाल्छन् त्यसपछि समस्या उत्पन्न हुन थाल्छन् ।
सिकाइ
हामीले शरीयते इस्लामको कानून र आदेशलाई बुझेर मात्र यसमाथि अमल गर्नु पर्छ । तलाक बारे शरीयतको आदेश बुझ्यौं भने समाधान हुन्छ ।
गर्नु पर्ने पहल
शरीयते इस्लामका आदेश खास गरी तलाक हलाला र बहुविवाह आदि बारे समाजमा सही जानकारी गराउनु पर्ने । यसका लागि प्रेसवार्ता, स्टेज कार्यक्रम, समुदाय स्तरका सचेतना मुलक कार्यक्रम संचालन गर्नु पर्ने । ओलेमा,समुदाय र सरोकारवाला बीच संवाद गरी सही तरिका र वास्तविक कारण बारे स्पष्ट पार्ने । मुस्लिम पारिवारिक अदालतको गठन गरिनु पर्ने ।
परिकल्पना
यदि तलाक र हलाला जस्ता गम्भीर विषयमा शरीयतका आदेश र कानून बारे सबै जानकार हुन्छन् भने बिना शराअई कारण सानो सानो कुरा रिस र दबाबमा तलाक र हलाला हुदैंन । तलाक दिनै पर्ने अवस्था आयो भने पुनः रुजू गर्न सक्ने वा फिर्ता हुन सक्ने बाटो खुल्ला राखेर तलाक दिनेछन् । कसैलाई अनाहक तलाककै कारण घरबार बिहीन हुनु पर्दैन । तलाकका घटनामा कमी आउने छ ।