देशमा हत्या हिंसाको उपद्रव चल्दै थियो मलाई एकजना त्यै उपद्रव गर्नेलाई लुकाउने सघाउने साइलेन्ट कार्यकर्ताले भने ‘तँलाई के थाह छ देशको बारेमा ? तलाइँ के थाह छ हाम्रो मिशनको बारेमा ? तेरो भावनाले कहिँ राजनीति र राज्य चल्छ ? हामीसँग त यति पावर छ कि तँलाई अहिलेको अहिले यहिँ ठाउँको ठाउँ गायब बनाइदिन सक्छु म । तैंले र तेरी स्वास्नीले तँलाई मारेर गायब गरेको पत्तो पनि पाउन सक्दैनन् ।’ उनको त्यो त्यो रवाफ र शानमा उम्लेको अंहकार देखेर मलाई लाग्यो, होला पनि अहिले यिनीहरुका मुखमा मान्छेका रगतका छिंटा परेको छ । त्यो छिँटाको गन्धले अरुथोक त चिन्दैन । त्यहाँ न कुनै भावना हुन्छ न कुनै दया धर्म । यिनीहरु निकै आवेगमा छन् उन्मत्त हात्ती झैं । मेरो मनले भन्यो भो यो आवेगको झोंकमा नपर । म सुरुक्क बाटो लागें ।

आज झण्डै डेढ दशक पछि त्यो आवेग भन्ने शब्दले निकै ट्रेन्डिङ्ग गरेको छ । मलाई आज त्यो दिन निकै सम्झना आइरहेको छ । मेरो कानमा मेरो मस्तिष्कमा आज त्यहि आवेग भन्ने शब्द घुमिरहेको छ । आजभोलि त आवेगमा आएर जे गर्न पनि मिल्ने शासन आएको रहेछ । आवेग भन्ने शब्द नै कानूनको ठेली भन्दा माथि भएको पत्तो नै पाइएन । हिजो आवेगमा आएर माक्र्स, लेनिन, स्टालिन माओ या पोलपोट बनेकाहरुका चेलाले नेपालमा आवेगमा आएर मान्छेलाई दुई फुट छोट्याउन पनि भ्याएका रहेछन् । हिजो त्यो टाउका काटेको, त्यो रुखमा झुण्ड्याएको, क्रियापुत्रीलाई घिसारेको, देशको स्थायी र देशभक्त संस्थालाई तथानाम गाली गलौच गर्दै केहिको ऐजेण्डामा हुत्याएको, नेपाली जनताको चाहना र माग नै नभएको धर्मनिरपेक्षता लादेको सबैसबै आवेगमा आएर नै रहेछ क्यारे बल्ल बुझ्दैछु । हो रहेछ नेपालीले उनीहरुको मिशन नबुझेकै रहेछन् ।

अब त आवेग पनि कानूनको अर्को अध्याय नै भएछ जस्तो छ । देशका सर्वोच्व संस्थाले पनि भएका घटनालाई आवेगमा भएको भन्दै विज्ञप्ति जारी गर्छ । राष्ट्रभाषाको तेजोबध गर्दासम्म पनि त्यसलाई गल्ती भएको मान्दैन, ठान्दैन । शायद त्यो पनि आवेग मै भएको होला । जनताले चुनेर पठाएकाहरु सभाहलको रोष्टमा उभिएर आवेगमा गोडसे बनिदिन्छन् । सत्ताको उन्मक्तमा बगलीमा फोटो खिचाउनेहरु आवेगमा अस्पताल फोडिदिन्छन् । कतिपयले त आवेगमै आफ्ना श्रीमतिहरुलाई मन्त्री बनाउँछन् । केहि आवेगमा आएकाहरुले आवेगमा बनाएको संविधानका धारासारा मिचिदिन्छन् । बहुदलीय भन्ने व्यवस्थालाई आवेगमा दलबिहीन बनाइ दिन्छन् । दलीय कानूनसानून केहि नमानेर जस्ले जताको मन लाग्यो उतैको सेवा गरेपनि आवेगमा गरेकोले क्षम्य भैहाल्छ । आफ्नै पार्टी बिरुद्ध लागेर विपक्षलाई सघाउँदा कारवाही भएपनि हुने फिर्ता पनि भै हाल्छ । कसैलाई उहि काम गर्दा काखामा कसैलाई पाखामा बनाउन पनि आवेग मात्रै भए पुग्छ । आवेगमा गुण्डालाई मन्त्री बनाउन पनि हुने र विरोध गर्न पनि हुने अनि त्यै विरोध गरेकाले फेरि मन्त्री बनाउन पनि पाइने रहेछ । वाह !
यो आवेग भन्ने शब्द पनि बडो गज्जबको रहेछ । यो जहाँ लाग्यो त्यहाँ सबथोकबाट गाइगंगा भैहाल्दो रहेछ । आवेगमा भएको भनेर उन्मुक्ति पाइने रहेछ । राज्यको सम्पत्तिमा आगो लगाए पनि उन्मुक्ति । कसैको छोरा मारेपनि उन्मुक्ति । कसैका छोरीबुहारी बलात्कार गरेपनि उन्मुक्ति । राष्ट्रको सम्पत्तिमा बम फालेपनि उन्मुक्ति । पारीतिरकालाई सातजनाले आवेगमा आएर सिफारिस गरेपछि आवेगमा नागरिकता पनि दिइहाल्ने र उन्मुक्ति पाइने रहेछ । देशमा नेता, धर्म, सँस्कृति आयात पनि गर्न पाइने त्यो पनि आवेग मै । सडकका रेलिङ्ग भाँचेको किन रहेछ भनेको त्यो पनि आवेगमा नै रहेछ क्यारे भर्खर दिमागको ढक्कन खुल्दै छ ।

तोकिएको जिम्मेवारी छोडेर आवेग मै सभासदहरु आइएनजिओको भतेरमा दौडिने रहेछन् । आवेग मै कर्मचारीहरु तलब बिर्सेर माथिको कमाइको ध्याउन्नमा लाग्ने रहेछन् । शिक्षकहरु आवेगमै आएर नेताको झोला बोकेर गुटुटु …। आवेग मै पिर्का चढेका नेताज्यू ले धानखेतमा रातो कार्पेट पनि बिछाउन भ्याइहाल्ने रहेछन् । आवेग मै किसानको खेतका तरकारी रोकेर सीमा खुल्ला गर्दै गर्दा मिल्क होलिडे लगाएर दूध पाउडरमा भन्सार छूट लु जा । पानीका मुहानमा डोजर चलाएर आवेग मै पहाडै काटेर बेच्ने घोषणा । जे गरे पनि जसो गरेपनि आवेगमा गरेको त हो माफ भै हाल्छ नि कुरा बुझ्नुस अब ।

कहिलेकहिँ घरमा पनि आवेगमा आएर काम भैहाल्छन् । श्रीमतिले आवेगमा आएर टिकटक बनाउँदै खाना बनाउँदै गर्दा तरकारीमा डबल नून ठोकिन् भने पनि चुपचाप खाएर आवेगमा मूखको नून पखाल्न तीन गिलास पानी पिइदिनुस् । छोराले अनलाइन कक्षाको साटो आवेगमा मूवी हेरेर बस्दिएछ, मैखानातिर बराल्लिन गएछ भने तपाइँको आवेगको व्यवहार कस्तो हुने हो ? आवेगमा आएको भने हुने त होला ।
देश नै अहिले आवेगमा आएर चलेको छ । देशको शिक्षा र स्वास्थ्य ब्यापारिकरण भएको र राज्यका स्वास्थ्य प्रतिष्ठानमा बेथिति ल्याएर मेडिकल कलेजका सम्बन्धन दिन सबैटारहरु लागेको पनि आवेगमा आएर हो भने के ल्याग्यो ? शिक्षा,स्वास्थ्य, कृषि, विदेशनीति कहिँ न कहिँ आवेगमा नै आएर बनेका छन् । सत्ता र प्रमुख प्रतिपक्ष लगायत राष्ट्रिय भनिएका पार्टीहरु सबै आवेगमा भौतारिएका देखिएका छन् । आवेगै आवेगमा कहिले कस्को कित्ता त कहिले कसको कित्तामा उभिने बनाएको पनि त्यै आवेगमा बनाएको संविधानले त होला नि । कि कसो ?

सबैथोक जब आवेगमा आएर नै चलेको छ भने कलमकारका कलम किन आवेगमा नआउनु पर्ने ? पत्रकारिताको एउटा सिंङ्गै कित्ता आवेगमा आएर नेपालीत्वको हुर्मत लिन तयार छ । साहित्यको एउटा कित्ता देशको अस्मितालाई गालीगलौच गर्न मै आवेगमा आएको छ । राजनीतिको ठूलो हिस्सा आवेगमा आएर देशकै हुर्मत लिन कम्मरै कसेर लागेको छ । शिक्षा क्षेत्र नेपाली भाषा, इतिहास र भूगोल नै नपढाएर आवेगमा आएर विदेशीका कथा पढाउन व्यस्त छ । देशको मौलिकता र रैथानेपनलाई पाखण्ड र अविकसितको संज्ञा दिँदै हाम्रो शिक्षा नीति नै आइएनजिओका हातमा सुम्पेको पनि आवेगमा नै आएर होला । साहित्यको एउटा कित्ता हत्या हिंसा र यौनको साहित्यलाई नै आवेगमा आएर महान साहित्य मान्दै छ । आवेगमा आएर पुरस्कृत पनि भएको छ । यस्तो आवेग नै आवेगको आँधी चल्दा म जस्ता आवेगमा नआउने पनि त भएन । आवेगमा देश चल्छ, न्याय चल्छ, कानून चल्छ, संविधान त बन्छ भने, लेख्न किन नहुने ? त्यसैले होला मलाइ पनि लागिरहेको छ, आवेगमा आएर लेर्खौं कि …।

प्रतिक्रिया

प्रतिक्रिया