
भेरी अस्पतालको RTPCR प्रयोगशालाको तथ्यांक र कोभिड वार्डको बिरामी भर्नाको अवस्था हेर्दा कोभिड-१९ को दोश्रो लहर क्रमिक रुपमा नियन्त्रणमा आउँदै गएको देखिएको छ।
२०७७ चैत, र २०७८ बैशाख र जेठ महिनाका केहि मुख्य अवलोकनहरू यहाँ प्रस्तुत गरिनेछ ।
चैत १५ गते पोजेटिभिटी १००% देखिएको छ। रेटमा यो शतप्रतिशत भए पनि एक जनाको परिक्षण गर्दा त्यहि एक जना पोजेटिभ देखिएकोले संख्यात्मक रुपमा यो धेरै होइन।दैनिक परिक्षण देखि पोजेटिभ संख्या विविध कारणले तलमाथि हुने हुदा यस प्रकारको माहामरीमा ३ वा ७ दिनको औसत लिंदा ग्राफको उतारचढाव न्यूनिकरण हुन्छ ।
चैतको दोश्रो हप्तासम्म दैनिक १ अंकमा मात्र पोजेटिभ संख्या देखिने गरेकोमा चैत १८ गते ४५ जनाको परिक्षण गर्दा १८ जना पोजेटिभ (४०%) आउनु दोश्रो लहरको पूर्वसंकेत थियो । चैत ३० गते ७८ को परिक्षणमा ४१ (५२.६%) र चैत ३१ गते ११३ मा ५९ (५२.२) आएसँगै कोभिडको दोश्रो लहर सुरु भएको मान्न सकिन्छ ।
कोभिड वार्डमा चैत २५ गतेसम्म दैनिक १-२ जना मात्र नयाँ भर्ना भैरहेकोमा चैत २८ देखि अचानक दुइ अंकमा बिरामी भर्ना हुन थालेका थिए (२८ गतेपछि क्रमश : १०, ११, १४, १४)। चैतको महिनामा कोभिड वार्डमा जम्मा १०९ जना भर्ना भएको देखिन्छ ।
बैशाखको पहिलो हप्ताभर नै संक्रमण दर उच्च रहेको थियो । पोजेटिभिटी दर ९२% सम्म पुगेको पाइयो । प्रयोगशालाका साथीहरुको अनुभवमा Cycle Threshold (CT Value) पनि यो बेला पहिले भन्दा निकै कम (१०-१२) रहेको पाइएको थियो, जुन संक्रमितहरूमा भाइरसको लोड धेरै भएको अप्रत्यक्ष संकेत थियो ।
नेपालगंजमा बैशाख ९ गतेदेखि लकडाउन आह्वन गरिएपनि हाल आएर बिश्लेषण गर्दा त्यस पश्चात पनि संक्रमण दर र वार्ड भर्नाको संख्या निरन्तर उकालो लागेको लाग्यै भएको देखिन्छ । संख्यात्मक हिसाबले बैशाखको तेश्रो हप्ता सबैभन्दा धेरै संक्रमित पत्ता लागकेो र भर्ना भएको देखिन्छ ।
बैशाख २० देखि जेठ १० गतेको समय बिरामी भर्नाको हिसाबले अस्पतालको निम्ति सबैभन्दा चापयुक्त रहेको देखिन्छ । समग्र बैशाखमा ८२० जना बिरामी भर्ना भएकोमा १-१० गते २१७, ११-२० सम्म २९४ र २१ देखि ३१ गते ३०९ जना नयाँ भर्ना भएका थिए । दोश्रो र तेश्रो खन्डमा भर्ना भएका बिरामीको संख्यामा धेरै फरक नभए पनि भर्ना भएर निको हुन नसकेका बिरामीहरु वार्डमा रहिरहँदा बिरामीको चाप अत्यन्त धेरै भइ इमर्जेन्सीका बेडमा र त्यसले नपुगेर पाल टाँगेर समेत उपचार गर्नु परेको थियो । जेठको महिनामा जममा ३७६ बिरामी भर्ना भएका थिए।
जेठको १० गतेपछि भने परिक्षणको संख्या, पोजेटिभको संख्या र नयाँ बिरामी भर्ना हुने संख्या सबै क्रमश: घटेको देखिन्छ ।
७ दिनको औसत पोजेटिभिटी ८४.४% सम्म पुगेकोमा हाल यो २८% मा झरेको छ ।
एक दिनमा अस्पतालमा भर्नारत रहेका बिरामीको संख्या ३२६ सम्म पुगेकोमा हाल यो ६८ रहेको छ ।
संक्रमित र बिरामीहरूको भौगोलिक विवरण हेर्दा पनि सुरुका दिनहरूमा बाँके र नेपालगंज सबैभन्दा बढी प्रभावित भएकोमा क्रमश: नेपालगंज बाहेकका पालिकाहरू र बाँके बाहेक अन्य जिल्लाहरूमा यो फैलिएको देखिन्छ ।
महामारी नियन्त्रणको निम्ति लकडाउनलाई कार्यान्वयन गरिएता पनि यो आफैमा पूर्ण रणनीति हुन सक्दो रहेनछ। रोग फैलिने क्रमको बिश्लेषण, मानिसहरूको आवतजावतमा निगरानी, नयाँ संक्रमितको भौगोलिक अवस्थाको आँकलन र रोग नियन्त्रणको निम्ति अवलम्बन गरिएका विविध प्रयासहरूको समयसापेक्ष मूल्याङ्कन पनि गरिनुपर्छ।
लकडाउनको कारण ठप्प भएका आर्थिक गतिविधि, कोभिड संक्रमितको उपचारमा खर्च हुने आर्थिक श्रोत र सम्पूर्ण प्रयासका वाबजुद पनि हुने हुने मानव जीवनको क्षति हेर्दा रोग नियन्त्रण निम्ति अब खोपको सर्वसुलभ उपलब्धता नै सबैभन्दा प्रभावकारी रणनीति हो ।