‘लोक कल्याणकारी राज्य अहिले रोजिरोटीकोलागि बाहिर सडकमा निस्केको श्रमिकको कठालो
समाउँछ । लट्ठी प्रहार गर्छ । ’
००० ०००
‘समाजको पहरेदारको रुपमा लिइने सञ्चार माध्यममा भोको पेटको समाचार बन्न छोडेको छ । किनकी, यसमा ग्ल्यामरस छैन । सामाजिक सञ्जालमा शेयर हुँदैन । लाइक बटन पाउँदैन ।’

आरती शर्मा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८० करोड नागरिकलाई सित्तैमा खाना उपलब्ध
गराउने घोषणा गरे । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आगामी ६ महिना (तिहार) सम्म निःशुल्क भोजन गराउने घोषणाले सामाजिक वृत्तमा चर्चा पाइरहेको छ ।
एक्काइशौं शताब्दीको सबै भन्दा ठूलो महामारिले विश्वलाई त्रस्त बनाइरहेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मुलुकका ७५ जिल्लामा निशेधाज्ञा छ । निशेधाज्ञामा रोजगारी पाईंदैन । जीवनयापन गर्ने आयश्रोत छैन । काम गरिसकेको ठाउँबाट पनि ज्याला पाइँदैन । रोजगारी नहुँदा निम्न वर्गलाई रोजिरोटि जुटाउन गाह्रो भइरहेको छ । परिवार पाल्न सकस परिरहेको छ । गरिबको चुल्हो बलेको छ की छैन ? चासो र चिन्ता गर्नेहरु न्युन छन् । हुनेखानेहरु सामाजिक सञ्चालमा टिप्पणी गर्छन् । युटुब हेर्छन । टिकटक बनाउँछन् । आपसमा रमाउँछन् ।
अपांग एवं ज्येष्ठ नागरिकहरुको अवस्था झन् नाजुक छ । भोक पेट कसरी भर्ने चिन्तामा रहेको यो वर्ग युट्युबमा रमाउँदैनन । टिकटक बनाउँदैनन । पेटभर खान नपाएका बालबच्चाको अनुहार हेर्छन । मुटु भक्कानो पार्छन । आँशु झार्छन । सरकारका मन्त्री एवं स्वास्थ्यकर्मीहरु भन्छन,‘ मास्क लगाऔं । भौतिक दुरी कायम राखौं । पोषिलो खानेकुरा खाऔं । रोग प्रतिरोधात्मक क्षमता बढाऔं । ’ भोको पेटमा कसैले रामायण पढ्दैन । पढिहालेमा पनि बुझ्न मन गर्दैन ।
००० ०००
भोको पेटमा छैन, ग्ल्यामरस
नेपालमा हरेक वर्ष करिब पाँच लाख थप जनशक्ति रोजगारिको खोजिमा भौंतारिन्छन् । कोरोना संक्रमण शुरु भएयता रोजगारि खोजे पनि पाईंदैन । पहिलेदेखि नै रोजगारि गरिरहेका व्यक्ति अहिले बेरोजगार छन् । यो बेला नयाँ श्रमिकले रोजगारी कहाँ पाउनु ? भविष्य झन अन्यौल छ ।
समाजको पहरेदारको रुपमा लिइने सञ्चारमाध्यममा भोको पेटको समाचार बन्न छोडेको छ । पत्रपत्रिका, टेलिभिजन एवं अनलाइनहरुलाई सर्वोच्च अदालत र सत्तारुढ दलको दैलोमा के के भइरहेको छ ? थाहा पाउन दौडधुप छ ।
समाजमा चौथो अंगको उपमा पाएको मिडियाका सम्पादकलाई बिकाउ समाचार चाहिन्छ । गरिबको व्यथा रुचिकर हुन छोडेको छ । किनकी, समाचारका उपभोक्ता उच्च र मध्यम बर्गका छन् । गरिबको दर्दले सामाजिक सञ्जालमा शेयर पाउँदैन । लाइक गर्नेहरुको संख्या बढ्दैन ।
००० ०००
दर्द नबुझ्ने दलहरु
सत्तारुढ दल नेकपा एमालेभित्र सत्तापक्ष र विपक्षिबीच प्रेस विज्ञप्तिमार्फत दोहोरी चलिरहेको छ । यहिं दोहोरीमा एमाले कार्यकर्ता मग्न छन् । सामाजिक सञ्जालमा तर्क वितर्क गर्छन् । कपाल र दाह्रि जुँगा फुलिसक्दा पनि कतै नियुक्ति पाउन नसकेका कार्यकर्तालाई भविष्यको चिन्ता होला । आफ्नो र सन्ततिको भविष्य कसरी सुरक्षित हुन्छ भन्ने भय हुन सक्छ ।
सत्तारुढ मात्र होइन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायत अन्य राजनीतिक दलका भातृ एवं भगिनी संगठनहरु कहाँ छन् ? खोजीको विषय भएको छ । गरिब एवं निर्धाहरुको दैलोमा पुग्ने र सहयोग गर्ने आँट किन आएको छैन ? टिकटकमा किन मन भुलिरहेको छ ? यसको जवाफ पाईंदैन । अधिकांश कार्यकर्तालाई जनता रिझाउन भन्दा नेता रिझाउँदा फाईदा हुन्छ । चुनावमा टिकट पाउन सकिन्छ ।
मधेस र राजवादी दलका गतिविधिहरु ताक परे तिवारी नत्र गोतामे उखानसँग मिल्दोजुल्दो छ । सत्तामा बस्न पाए जुनसुकै दलसँग घाँटि जोड्ने र सत्ताबाहिर रहँदा धारे हाल लगाउने प्रवृत्ति दशकौं पछि पनि उस्तै छ । यस्तो बेला गरिबको व्यथा कुन राजनीतिक दलले बुझ्ला ? धन्न, नेकपा एमाले (नेपाल समूह)ले बाँके जिल्ला कमिटीले कोरोना संक्रमित र कुरुवाहरुकालागि न्युन शुल्कमा खाने व्यवस्था गरेको छ । त्यस्तै वैकल्पिक पार्टीका रुपमा उदाउँदै गरेको साझा विवेकशील दलका युवा कार्यकर्ताहरु सेवाभावमा जुटेका छन् ।
००० ०००
लट्ठि हान्छ, राज्य
संविधान मात्र होइन चालु पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६ /०७७ –२०८०/८१)मा समाजवाद उन्मुख लोककल्याणकारी राज्यको अवधारणबारे चर्चा छ । यस अवधारण बमोजिम कमजोर, विपन्न र विभिन्न जोखिममा रहेका समुदायको जीवनयापनलाई सुरक्षित, संरक्षित र गुणस्तरीय बनाउनु राज्यको दायित्व भएको उल्लेख छ । तर, लोक कल्याणकारी राज्य अहिले रोजिरोटीमा बाहिर निस्केको श्रमिकको कठालो समाउँछ । लट्ठि प्रहार गर्छ ।
मुलुकमा कोरोना संक्रमणको दोस्रो लहरले दिक्क तुल्याइरहेको बेला तेस्रो लहरको आशंका गरिंदैन । त्यसकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथाले लहरको संभावना देखाउँदै सबै अस्पताललाई पूर्व तयारी गर्न अनुरोध समेत गरिसकेको छ ।
‘सत्तारुढ मात्र होइन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायत अन्य राजनीतिक दलका भातृ एवं भगिनी संगठनहरु कहाँ छन् ? खोजीको विषय भएको छ ।’
००० ०००
‘न्युन संख्यामा रहेको गरिब बाहिर सडकमा भात खान आउँदैमा सोफामा बसेर टिप्पणी गर्ने वर्गलाई भाइरस संक्रमण हुँदैन ।’
पीडा नबुझ्ने प्रबुद्ध
कतिपय प्रबुद्ध वर्ग सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । घरको आरामदायि सोफामा बसेर लेखिरहेका छन,’ निशेधाज्ञा नाम मात्रको भयो ।’
हो, समस्या यहिं छ । निःशुल्क वा न्युन शुल्कमा कहाँ खान पाईएला भन्दै हिंडेको वर्गलाई प्रहरी बाटैमा रोक्छ । उस्तै परे लट्ठि हिर्काउँछ । निशेधाज्ञा झन कडा बनाएर गरिबलाई एक गास खान पनि नदिने ? सरकारी तथ्यांकलाई आधार बनाउने हो भने पनि अति निम्न वर्गका गरिबको संख्या न्युन छ । न्युन संख्यामा रहेको गरिब बाहिर सडकमा खान आउँदैमा सोफामा बसेर रमाउँदै टिप्पणी गर्ने वर्गलाई भाइरस संक्रमण हुँदैन । भाइरस संक्रमणको जोखिम न्युनिकरणको लागि निश्चित भौतिक दुरी कायम गरे भइहाल्छ ।
पथप्रदर्शक गर्ने सरोकारवाला पक्षको यो मुकदर्शक व्यवहारले समाजलाई रुपान्तरणमा गर्दैन । समृद्ध नेपाल र सुखी नेपालीको नारा व्यवहारमा सार्थक हुँदैन । (लेखक शर्मा शिक्षिका हुन् )