
शीर्षक देख्ने बित्तिकै एकथरि महानुभावहरुले मलाई बिकास विरोधी समृद्धि बिरोधी नै भन्नेछन् । किन भने मानिसहरुमा आजकल शीर्षक र फोटो हेरेर प्रतिक्रिया दिइहाल्ने चलन छ । पढेर बुझेर यर्थाथ मनन गर्ने कसैमा जाँगर छैन । जाँगर भएकाहरुलाई सत्ताको जलप लगाएको चश्मा लगाइएको छ । त्यसकारण पनि पटकपटक मैले विकास विरोधी समृद्धि बिरोधीको पगरी उनीहरुबाट मैले पाएको छु । मलाई यसमा गर्व छ, वहाँहरुलाई धन्यवाद दिनैपर्छ । सत्ता र सरकारका होस् या अरु कसैका पनि संसारमा न सबै गलत हुन्छ न सबै पुरानो बेठिक हुन्छ । गलत र सहि सबैसँग हुन्छ । यो हेर्ने पनि आ आफ्नो दृष्टिकोण हुन्छ । तर जस्तालाई पनि सहि भन्ने अन्धाहरुको संसारमा कहिँ कमी छैन । नेपालमा पनि सत्ताको सबैथोक बसाउनेहरुको जमात निकै ठूलो छ । सत्ताका थपडीबाजहरुको कमी नभएको परिप्रेक्षमा अर्को थपडीबाज थपिनुपर्ने कुनै कारण छैन । उनीहरुका गलत काम र प्रवृतिको ऐना देखाउने काम पनि हुनैपर्छ अन्यथा अन्धो सत्ता झन भन्दा झन अन्धो बहिरो हुँदै निकम्मा र कामै नलाग्ने हुन्छ । थपडीबाज मित्रहरुले यो पनि बुझ्नै पर्छ ।
बिक्रम संवतको बिसौं शताब्दीको प्रारम्भमा जन्मेको पुस्ता आज पर्यन्त पनि सत्ताको घिउ खाएर अघाएको छैन । तत्कालिन समयमा जहानियाँ राणा शासनको उत्तरार्धका बेला गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीहरुलाई फाँसी दिइएपछि चर्केको राणा शासन बिरुद्धको आन्दोलन र इण्डियाबाट ब्रिटिशराजको अन्त्यको असरले नेपालमा पनि बहुनायका, बहुदलीयता सहितको गैर राणा शासनको आन्दोलन उत्कर्षका पुग्यो । हिंसाको जवाफमा हिंसाबाटै जवाफ दिन विदेशी भूमिा स्थापना भएका पार्टीहरुले नेपालका त्यसयताका पुस्तालाई राज्य बिरुद्धको, आफ्नो आर्दशमा असहमत इतर बिरुद्धको हिंसामा नै प्रशिक्षित गरि रहे । जसको परिणामा विगतका सात दशकहरु आन्दोलनका नाममा हिंसा गर्ने, सडक बन्द गर्ने, ढुंगामुढा गर्ने, गरिखाने वर्गलाई निकम्मा बनाउने, पौरखीलाई सामन्तको पगरी गुथाउँदैमा बिते ।
सात दशकमा नेपालमा सातवटा त संविधान नै बने । प्रत्यक्ष राजाको अध्यक्षताका सरकार बाहेक ४८ वटा त सरकार बने । बिचमा झण्डै दुई दशक (२०१२–०२८) सम्मको समयमा बाहेक नेपालबारे सोंच्ने काम लगभग बिरलै गरियो । नेपालका राजनीतिक दलहरु जो नेपालको भूमिभन्दा बाहिरै कसैको निगाहमा गठन गरिएका थिए तीनीहरुको यो या त्यो रुपमा सधैंभरि नेपालमा अशान्ति मचाउने, जनता जनता बीच बैमनश्य उब्जाउने र त्यहि गुटभित्र आफ्नो भविष्य उज्जवल देख्ने काम मात्रै गरे । पछिल्लो चरणमा यिनीहरु नै राज्यको नीति बनाउने कुर्सीमा पुगेपछि त झन राज्यका हरेका अंग अंगमा कित्ताकाट र निषेधका गुटहरु निर्माण गर्न थालियो ।
आफ्नो स्थापनाको चार दशक पुग्दा नै यिनीहरुले जनतामा एकआपसमा पानी बाराबार नै बनाई सकेका थिए । उनीहरुको कुकर्म यतिसम्म भैसकेको थियो कि राज्यकोषबाट तलबभत्ता खाएकाहरुमा समेत कसका गुटका भन्ने सीमारेखा नै कोरिदिए । राष्ट्र सर्वोपरि भन्ने र पेशागत हितको संरक्षण भन्दा गुटको संगठनहरु, आर्शिबादका पदहरु राज्यका हरेक निकायमा खडा गरे । यसले र।ज्य कार्यकर्ताहरु बाहेकको अर्थात आमजनताको हुनै छाड्यो । जागिर या अन्य नियुक्तिका लागि अपवाद बाहेक नीति थिती केहि पनि नचाहिने बनाए । यसले राज्यको शासन प्रशासन र सेवा प्रवाहको क्षेत्र पुरै गुटले तय गर्न थाल्यो । यहाँसम्म कि अमूक गुटको सरकार छ भने आफुइतर गुटले राज्यको कुनैपनि निकायमा साथ सहयोग नगर्ने थिती बसाइयो । देशको एउटा स्थापित स्थायी संस्थाका बिरुद्ध २०४६ सालमा विदेशी नेतालाई नेपाली माटोमा बोलाएर उसका सामु देशभित्र आन्दोलन गर्ने कसम खाएर आफ्नै जनतालाई असहज परिस्थिति सृजना गर्नेगरि नाकाबन्दी नै लगाउन लगाएको कुरा पनि खुल्दै छ । नेपालमा बेथितिको र नेपाल बिरुद्धको व्यवहार प्रष्ट रुपमा देखिने गरि पहिलो पटक जनस्तरमा देखिएको त्यो नै पहिलो घटना थियो ।
यो घटनाले उनीहरुलाई अझै शक्तिशाली त बनायो तर नेपाली राष्ट्रियता र नेपाली चिन्तन कमजोर बन्न पुग्यो । राज्यका अंगहरुमा कित्ताकाट गराएर गुटका दोकानहरु खोल्ने कामहरु भए । राज्य बिस्तारै नेपाली चिन्तनबाट बिमुख हुँदै गयो । यसपछि सत्तामा आफ्नो बर्चश्व खोजेको एउटा वर्ग फेरि विदेशकिो शरण पुग्यो र उसैको पूर्ण साथसहयोगमा नेपालमा हत्याहिंसाको बितण्डा मचाउन थाल्यो । यो बितण्डाले तीनवटा बेथितिहरुलाई स्थापित गर्न सफल भयो । पहिलो नेपालको सत्तासम्म पुग्ने भर्याङ्ग विदेशीको आगँनबाट शुरु हुन्छ । दोस्रो नेपालको मौलिकता, यहाँको रैथानेपन, मूल र कूल, यहाँको धर्म सँस्कृति भाषा र सभ्यता सबै वाहियात हुन, बिकास विरोधी हुन यसलाई मास्नुपर्छ । तेस्रो नेपालमा स्थायी संस्था भएन भने राज्यका हरेक अंग अंगमा गुट बनाएर आफ्ना र आफन्तलाई पदमा आसिन बनाउँदै नेपालीलाई नेपालमा नै अलपमतमा पार्ने गरि काम गराएपछि आफु सधैं सत्ताको घिऊ खाइरहन सकिन्छ । यी तीनवटै बेथिति नेपालको सार्वमौमसत्ता, सुशासन, नेपाली अस्मिता र नेपाल राष्ट्रको पतनको मार्गका बेथितिहरु साबित हुँदैछन् ।
यी बेथितिहरुले जन्माएका अन्य बाइप्रडक्टहरुको त यहाँ ब्याख्या गरिसक्नु नै छैन । सोलोडोलोमा भन्दा राज्यका सबै अंगहरु निकम्मा खिया लागेका काम नलाग्ने बनाइएका छन् भन्दा पुग्छ । नेताले राज्यकोषबाट सेवासुविधा लिनेहरुलाई गुटभेला बोलाउने, निर्देशन दिने परिपाटीको थालनी भएको छ । नेताहरु दुई तोला सुन र एककठ्ठा घडेरी भए पनि, टायरका चप्पल र थोत्रो ज्याकेट लगाएर काठमाण्डौं छिरे पनिमहिर्नौंसम्म पटकपटक विदेशमा सपरिवार छुट्टि मनाउन जान, हाच्छ्यु आएपनि सिँगापुर थाइल्याण्डतिर उपचार गराउन जान, अलिशान महलमा बस्न, पाँच दर्जन बढि सुरक्षाकर्मी र त्यति नै व्यक्तिगत सुरक्षा दस्ता राखेर बस्न, थरिथरिका गाडी चढ्न, सन्तानलाई अर्बौंका घर बनाइदिन पुगेकै छ । पैतृक बिर्ता केहि नभएकाहरुको समेत शानशौकत आज नेपालका २४० बर्षसम्मका जुनकुनै राजामहाराजाहरुको भन्दा बढि नै छ कम कतै छैन । गर्दा गर्दा गाउँ गाउँमा पिर्के राजाहरुको हैसियत पनि त्यहि गतिमा बढ्दै छ ।
देशको राज्यकोष नेताका उपचार, कार्यकर्तालाई सहयोग र अनुदान, नेताका संस्थालाई अनुदान, मरेका नेताका नाममा प्रतिष्ठान त कतै जिउँदै नेताका नाममा प्रतिष्ठान र अनुदानमा बेरोकटोक चलेको छ । नेपालका मौलिक नामहरु मेटेर नेपाली अस्मिताका लागि कुनै योगदान नै नभएका आफ्ना नेताका नाममा नामाकरण गर्ने काम देखि राष्ट्रनिर्माताका स्मृतिहरु तोड्ने मेटाउने र आफ्नाका नाममा स्थापित गर्ने होडबाजी नै चलाइएको देख्दा त कतै नेपाल भन्ने देशको नाम पनि फेरेर आफ्नै नाममा पो राख्ने हुन कि भन्ने शंका पनि लाग्न थालिसकेको छ ।
अहिले राज्य सञ्चालक बनेका र बन्न नपाएर छटपटाएकाहरु बीच तानातानी चल्दैगर्दा राज्यका अंगमा रहेका यिनीहरुका आआफ्ना गुटहरुलाई कतै ठाउँ ठाउँमा भेला गराएर त कतै प्रविधिको माध्यमबाट शिक्षण प्रसिशण गरिँदैछ । उनीहरुलाई दिइने प्रशिक्षणको मूलमन्त्र भनेको अर्को गुटलाई सहयोग नगर्नू भन्ने निर्देशन हो । सत्ताको कुर्सीबाट आफ्ना गुटलाई कमाउने अवसर जुटाउन ठेक्कापट्टा, स्वास्थ्यको लाइसेन्स, औषधी खरिदका अनुमतिहरु, नेपालको तराईलाई मरुभूमि बनाउने गरि र पहाडलाई पहिरोले बगाउने गरि खोतल्ने अनुमति दिनेसम्मका कामहरु भएका छन् । नेपालको चुरे मास्नका लागि त बजेटबाटै सम्बोधन सम्म गर्ने काम भएको छ । देशका ब्यापारीहरुको र विदेशी कम्पनीहरुको फाइदाका लागि नेपालको आवश्यकता भन्दा (४०१ सी सी ) माथिका मोटरसाइकलहरु आयातमा भन्सार कटौती, नेपाली किसानको मिल्कहोलिडे मनाएर विदेशी दूधमा भन्सार दरमा ब्यापक कटौती गरिएका छन् ।
शिक्षा र स्वास्थ्यलाई आधारभूत आवश्यकता भन्दा पैसावालाको खेला बनाइएको छ । सत्ताको घिउ खान आत्तिएको पक्षले राज्यका सबै क्षेत्रमा आफ्ना गुटबाट असहयोग गर्न गराउन आव्हान गरेको छ । त्यो आव्हान कुनै राष्ट्र बचाउन होइन, राष्ट्र निर्माण गर्न पनि होइन, राज्यको सेवा प्रभावकारी र जनतालाई उच्च डेलिभरी दिन पनि होइन, जनता प्रति जवाफदेहि र उत्तरदायी बन्न होइन । मात्रै अर्को गुटलाई असफल देखाएर आफ्नो ताजपोशीका लागि आधार तयार गर्न मात्रै गरिएको हो । यस्ता यस्ता बेथितिका प्रबृतिले भोलि उनीहरुको ताजपोशी भएका बखतमा पनि अर्को गुटलाई असहयोग नै गर्ने छ भन्नेसम्मको न्यूनतम लाजसरमको हेक्का पनि राखिएका छैनन् । यस्तो निर्लज्ज गुटिय नेता, कार्यकर्ता, ब्यापारी, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रत्रकार, वकिल आदिको चरित्रले देश अब कतातिर जान्छ ? जनताले राज्यबाट के सेवा सुविधा कसरी पाउँछन् ? राज्य अब कोप्रति उत्तरदायी हुन्छ ? राज्यको जवाफदेहिता के हो ?भन्ने नै सबै अन्योलतातिर गैरहेको छ । यसलाई अन्योलतातिर लैजाने मुख्य कारक तत्व भनेका नै यस्तो बेथितिका जनकहरु वर्तमान सत्ता र सत्ता वरिपरि रहेकाहरु नै हुन । यो अवस्था आउनु कुनैपनि मानेमा देशहितमा मान्नै सकिँदैन । यस्तो बेथितिका जनकहरुलाई फेरि पनि राज्यसञ्चालक बनाउनु भनेको जनताले पटकपटक आत्मघाती काम गर्नू बराबर नै हो ।
देशले यो बेथितिको बोझ अझै थेगिरहन सक्दैन । देशको अस्मिता नै हराउने गरि भएको बेथितिको चाङ पार्ने यो राजनीतिक पार्टीहरुको पाराले, अब देश समृद्ध र सुखी बन्दैन वाहियातका नाराले । आऔं यस्तो बेथिति ल्याउनेहरुलाई रोकौं र राज्य असफल हुनुबाट बचाऔं । देशको अस्मिता भन्दा ठूलो कहिँ पनि, कहिल्यै पनि, कुनैपनि पार्टी, बाद व्यवस्था र गुट हुनै सक्दैन ।