सरकारले आगामी आ.व. २०७८/७९ मा बाँकेका विभिन्न योजनाहरूका लागि बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिक्टा सिंचाई आयोजनाको पश्चिम मूल नहरबाट थप २ हजार हेक्टरमा सिंचाई सुविधा पुर्याइने जानकारी दिएका छन् । उनले आयोजनाको पूर्वी खण्डमध्ये आगामी बर्ष थप २० किलोमिटर मूल नहर र १२ किलोमिटर शाखा नहर निर्माण सम्पन्न गरी थप ६ हजार हेक्टर जमिनामा सिंचाई सुविधा बिस्तार गरिने बताएका हुन् । सिक्टा सिंचाई आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी दुई बर्ष भित्र सक्ने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यसका लागि त्यसका लागि १ अर्ब ५६ करोड विनियोजन गरिएको उनले बजेट प्रस्तुत गर्दै जानकारी दिए ।
निर्माणाधीन भेरी बबई पथान्तरण बहुउद्देश्यीय आयोजनाको हडवक्र्स निर्माण कार्य आगामी आर्थिक बर्षमा सम्पन्न गरिने अर्थमन्त्री पौडेलले बताएका छन् । दुई बर्ष भित्र बाँके र बर्दिया जिल्लाका लागि थप १५ हजार हेक्टर भूमिमा सिंचाई सुविधा बिस्तार गर्नुका साथै ४८ मेगावाट विद्युत क्षमताको विद्युत गृह निर्माण सम्पन्न गरिने र त्यसका लागि ३ अर्ब ७ करोड विनियोजन गरिएको उनले बताए ।
बाँके सहति १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न बजेट सरकारले बजेट विनियोजन गरेको छ । त्यस्तै, बाँकेको नौबस्तामा दुई बर्ष भित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने भएको छ ।
नेपालगन्जमा क्रिकेट मैदान निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । नेपालगन्जनमा प्रादेशिक रंगशाला निर्माण अघि बढाइने अर्थमन्त्री पौडेलले बताएका छन् । नेपालगन्जमा निर्माणाधीन खानेपानी आयोजनाबाट आगामी आ.व.बाट पानी सुरु गरिने अर्थमन्त्री पौडेलले बताएका छन् । नेपालगन्ज लगायतका विभिन्न सहरमा ढल प्रशोधन केन्द्र निर्माण गर्न पनि सरकारले बजेट विनियोजन गरेको छ ।
बुटवल–कोहलपुर, कोहलपुर–वनबासा खण्ड चार लेन बनाउन बिस्तृत डिजाइन सम्पन्न गरी निर्माण कार्य थालिने भएको छ । सरकारले कोहलपुर–सुर्खेत डेडिकेटेड डबल लेनमा स्नोरन्नती गर्न बजेट विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहको साझेदारीमा कोहलपु–नेपालगन्जमा विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने व्यवस्था पनि सरकारले गरेको छ ।
कोहलपुर–नेपालगन्ज मेगासिटीको गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय शहरी योजनाविद्को परामर्श सेवा लिइने भएको छ । नेपालगन्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण आरम्भ गरिने, नेपालगन्ज विमानस्थलमा तौलिने वइङ मेसिन लगायत आधुनिक उपकरण जडान गरिने पनि अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्दै जानकारी दिएका छन् ।