
हवल्दारको कमाण्डमा ७ जनामात्रै प्रहरी सुरक्षा व्यवस्था रहेको भेरी अस्पतालमा शनिवारबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा २५ जना प्रहरी पठाइएको छ । दुई जना सहायक प्रहरी निरीक्षक सहितको टोली अस्पताल पुगेपछि सुरक्षा व्यवस्थामा एकाएक कडा पारिएको छ । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानासँग यसैको सेरोफेरोमा दैनिक नेपालगन्जले सोध्यो, यसअघि अस्पतालमा सेक्युरिटी थ्रेट किन महसुस गर्न सकिएन ? रानाले भने कतिपय कुराहरु सिक्दै अप्लाई गर्दै जाने हो ।
अस्पतालमा प्रहरी स्थायी रुपमा थपिएको हो कि ! केही दिनका लागि ?
महामारीको अवस्थामा सुरक्षा थप्नुपर्ने आवश्यकता आइपरेर हो । अहिले अवस्था नर्मल नभएसम्मका लागि थप प्रहरी खटाइएको हो ।
भेरीको घटना हुँदा प्रहरीले रोक्नका लागि कोशिश गर्यो कि गरेन ?
घटना तत्काल भएको हो । अस्पतालमा रहेका हवल्दार साब तत्काल घटनास्थल पुग्नुभएको थियो । उहाँलाई पनि घचेट्ने काम भएको छ । ६÷७ जना मात्रै देखिएकाले हवल्दार साबले स्थिति नियन्त्रणमा लिने प्रयास गर्दागर्दै अवस्था बि(ग्रियो । अस्पतालको अवस्था रिपोर्टिङमा अलि ढिलाई भयो कि जस्तो पनि मलाई लाग्दछ । घटना थाहा हुने वित्तिकै त्यहाँ असई जानु भएको थियो ।
भेरी अस्पतालमा घटना अघि ७ जना प्रहरी थिए । बाहिरको घटनाभए तत्कालै थाहा हुन्थ्यो । कोभिड वार्ड भित्रको घटना भएकाले तल खटिएको प्रहरीले तुरुन्तै थाहा भएन ।
घटना थाहा भएको सात मिनेटमै म अस्पताल पुगेको छु ।
अस्पतालले आफैपनि निजी सुरक्षा गार्ड राखेको थ्यो त ? उसको भूमिका देखिएन कि !
अस्पतालको सुरक्षा व्यवस्थापनका लागि आफैले पनि प्राइभेट सुरक्षा व्यवस्था गरेको छ । तर, कोभिड वार्ड भित्रको घटना भएकाले थाहा नपाएको हुनसक्छ । कोभिड वार्ड आइसियुको घटना भएकाले सूचना सुरक्षाकर्मीसँग पुग्न पनि समय लाग्यो । मैले थाहा पाउने वित्तिकै सेटबाट थप प्रहरी टोली पुग्न निर्देशन दिंदै आफै पनि पुगेको हो ।
पछिल्लो घटनापछि अस्पताल प्रशासनले सुरक्षाका लागि गर्नुपर्ने के छ सुझाव ?
अस्पताल प्रशासनले पनि सुधार गर्नु पर्ने कुरा छ । सुधार गर्नुपर्दछ । अस्पतालले प्राइभेट २१ जना सेक्युरिटी राखेको छ ।
आयसियुमा जो पायो त्यही जान पाउनु हुँदैन । कोभिडका कारण कोभिड वार्डमा भीडभाड नगर्ने व्यवस्था छ । आवश्यक परेमा मात्रै परिवारका थप सदस्य बोलाइन्छ ।
अर्को सिरियस बिरामी भयो भने आफन्त भेट्न आउनुहुन्छ । सिरियस बिरामीलाई भेट्न नदिन पनि भएन । अस्पतालमा घटना भएको दिन पनि सिरियस बिरामीलाई भेट्न आएको भन्ने भयो । अवस्था नियन्त्रणमा आउँदै थियो । तर, बिरामी परिवारका सदस्य मानबहादुर अलि उग्र टाइपका मान्छे । उनले चाहीँ नचाहिंदो किसिमको व्यवहार देखाए ।
आइसियु थप व्यवस्थित पनि हुँदै थियो । अस्पतालका अध्यक्ष, मेसु, चिकित्सकसँग बसेर अस्पतालमा खटिएका प्राइभेट सुरक्षाकर्मीलाई पनि हामीले गाइड गरेर यसरी गर है भन्ने, केही भए जानकारी दिनु हामी नियन्त्रणमा लिन्छौं भन्ने हिसाबको काम गर्दै थियौं ।
स्वास्थ्यकर्मीका अनुसार भेरीमा यो तेस्रो आक्रमण हो । किन यो स्तरको सेक्युरिटी थ्रेट महसुस गरिएन ?
यसअघि पनि घटना भएको हो । अस्पतालमा बिरामी सधैं नै भैरहन्छ । नयाँ बिरामी ल्याउनेले पनि छिटो उपचार सुरु होस् भन्ने चाहन्छन् । कोभिडले गर्दा अस्पतालमा चाप छ । यस्तो क्राइसिसको बेला काम गर्दै सिक्दै जाने बेला पनि हो ।
बिरामीको विषय मानवीय संवेदना सँग जोडिएको छ । जनशक्ति पनि आवश्यक छैन अस्पतालमा । एउटा बिरामीलाई एउटा चिकित्सक र नर्सले हेर्ने मेन पावर पनि त छैन यहाँ । भित्र उपचारमा धेरै समस्या हुनसक्छ । बिरामीले अक्सिजन फालिदिन सक्छ हेर्नुपर्यो, औषधी लिन जानु पर्यो । यस्तो बेलामा बिरामीका १÷२ जना बिरामीसँग बसेर हेर्दिए सजिलो पनि हुन्छ भन्ने लाग्नेनै भो । कुरुवालाई पनि समस्या छ, तर आफन्तको केयरमा बस्नु पर्यो तर त्यो मेनपावरको कमीले हो ।
अन्य अस्पतालमा पनि विभिन्न घटनाका व्यक्ति उपचारमा हुन्छ । बुझ्नका लागि प्रहरी पुग्ने गरेको छ । कुनै घटना भए थप प्रहरी पनि खटाउने गरेका छौं । तर, प्राइभेट अस्पतालले प्राइभेट सेक्युरिटी कम्पनीबाटै नियुक्ति गरेर आवश्यकता अनुसार सुरक्षा व्यवस्थापन गरिरहनु भएको छ । अस्पतालमा समिति हुन्छ । त्यसले अस्पतालमा सुरक्षा व्यवस्थापनका लागिपनि काम गरिरहेको हुन्छ ।
प्राइभेट कम्पनीबाट सेक्युरिटीका लागि खटिने जनशक्ति पनि तालिम प्राप्त र अनुभवी हुन्छ । भुपु सुरक्षाकर्मीहरु सहितको टिम खटिने गरेको पाइन्छ । केही नभएसम्म केही हुँदैन । घटना भएपछि धेरै कुराहरु निस्कन्छ, सिकिन्छ ।
अबको उपाय प्रहरी सुरक्षा बढाउनु मात्रै होला त ?
नागरिकको सचेतनाको स्तरले पनि अप्रिय घटना हुन्छ । कसैले बुझ्छन् कसैले बुझ्दैनन् । अझ क्राइसिसको बेला झन् चाप हुन्छ अस्पतालमा । कसैले बदमासी गर्न चाह्यो भने गरिहाल्छन् । कानुनी कारवाही त हुन्छ नै । त्यसैले नागरिकले पनि परिस्थिति बुझ्नु पर्दछ ।
अस्पतालको घटनामा समिति गठन गरेको छ । समितिले घटना के कति कारणले भयो, दोषी को भन्ने प्रतिवेदन दिनेछ । हामीले पनि मुद्दा अनुसन्धान प्रक्रियामा लगेका छौं । भेरीमा अहिलेसम्म राम्रो गरिरहेको छ भन्ने देशभर आइरहेको छ । तर, एक जना व्यक्तिले एकै मिनेटमा गरेको घटनाले देशभर राम्रो सन्देश गएन, नराम्रो परिस्थिति सिर्जना भयो, दुःखको बेलामा उनी आफै पनि कारवाहीको दायरामा आउनु पर्यो ।
अस्पतालमा सुरक्षा भरपर्दो कसरी हुन्छ ? प्रहरीलेमात्रै सम्भव हुन्छ र ?
अहिले पनि भेरी अस्पतालमा आइसियु र भेन्टिलेटरमा उपचाररत् बिरामीका आफन्तहरु आइरहेका छन् । भेरीमा आउने कोभिडका अधिकांस बिरामी क्रिटिकल भएपनि नै आउँछन् । मान बहादुरको घटनामा पनि दाङमा उपचार भएर क्रिटिकल भएपनि भेरी ल्याइएको हो । यहाँबाट पनि अन्त लैजाउ भन्दा पनि यही राम्रो छ भनेर यही उपचार गराएको हो । गर्दागर्दै पनि मानिसको ज्यान जान्छ, स्वास्थ्यको कुरा हो । उहाँको उपचारमा पनि भेरीका चिकित्सक, नर्सले बचाउन धेरै प्रयास गर्नुभएको हो । गर्दागर्दै पनि घटना भयो । त्यसलाई सहज किसिमले लिनु पर्दथ्यो । केही त्रुटि नै थियो भने प्रक्रियागत रुपमा अगाडि जान सक्नुहुन्थ्यो । उहाँले त्यो नगरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमाथि राम्रो व्यवहार गर्नुभएन । अहिलेको कोभिडको अवस्थामा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात हुँदा ठूलो इस्यु बन्यो ।
भेरी अस्पतालमा गाउँगाउँबाट बिरामी आउँछन् । बिरामी आउँदा आफन्त पनि आउँछन् । ठूलै भीडभाड हुनसक्छ । उपचारकै क्रममा एकै दिन धेरै बिरामीको पनि मृत्यु हुनसक्छ । पुनः आफन्तबाट अप्रिय घटना हुनसक्छ । त्यसलाई तत्काल नियन्त्रणमा लिन २५ जना सुरक्षाकर्मी खटाइएको हो । अस्पतालमा किसिम किसिमका मान्छे आउँछन् । अवस्था बिगार्नका लागि फाइदा लिनसक्ने मान्छे पनि हुनसक्छन् । उक्साउने मान्छे हुनसक्छन् । त्यसैले सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मी थप गरिएको हो । अस्पतालमा क्राइसिसको अवस्था नर्मल नहुँदासम्म थपिएका सुरक्षाकर्मी अस्पतालमै खटिन्छन् । यसले स्वास्थ्यकर्मी पनि आश्वस्त हुनसक्छन् । सुरक्षा भएन भने स्वास्थ्यकर्मी पनि ढुक्क भएर काम गर्न सक्दैनन् । अहिलेलाई सुरक्षा र सजगता दुबै मिलाएर जाने हो ।











