भेरी अस्पतालमा तीन गुना सुरक्षा व्यवस्था

भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनापछि अस्पतालमा प्रहरी सुरक्षा बढाइएको छ । महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमणले उनीहरुको मनोबल खस्किने चिन्ता र उनीहरुको सुरक्षा चासोले चर्चा पाइरहँदा शनिवार प्रहरी सुरक्षा थप गरिएको हो ।


बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको बताए । उनका अनुसार, महामारीको अवस्था सामान्य रुपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए ।
प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यसअघिदेखिनै भेरीमा परिचालित छन् । घटनाको बेला प्रहरी तथा निजी सुरक्षागार्डको प्रभावकारी भूमिका नदेखिएपछि अझै समस्या बढेको थियो । सात जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा तीन गुना सुरक्षाकर्मी बढाइएको हो ।
स्वास्थ्यकर्मी आक्रमणको घटनालाई लिएर सर्वत्र निन्दा गरिएको छ । विभिन्न राजनीतिक दल, स्वास्थ्य सम्बद्ध संस्था, नागरिक समाज, पेशागत संघसंगठन दर्जनौंले औपचारिक रुपमैं र विभिन्न सामाजिक सञ्जालमार्फत सयौंले घटना प्रति चासो व्यक्त गरेका छन् । सबैले स्वास्थ्यकर्मीको पक्षमा खुलेर वकालत गर्दै सुरक्षा व्यवस्था र दोषीलाई कारबाहीको माग गरेका छन् ।
घटनामा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ । भेरीमा उपचारार्थ भर्ना भएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५२ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।
भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको हो । घटना लगत्तै प्रहरीले पक्राउ गरेका मान बहादुर, भरत र लोकराज रावत विरुद्ध किटानी जाहेरी लिएको बाँके प्रहरीले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने जनाएको छ ।

अस्पतालमा कुटपिट, स्वास्थ्यकर्मी असुरक्षित (तस्विर सहित)

प्रतिक्रिया

प्रतिक्रिया