महामारीका बेला प्रत्येक नागरिकको जिम्मेवार भूमिका रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्दै बाँकेका युवा व्यवसायी देवानन्द अर्यालले सरकारी अस्पतालका लागि उपकरण सहयोग जुटाएका छन् ।
कोरोना महामारीले व्यवसाय चौपट भइरहँदा पनि किञ्चित पनि विचलित नभएका पर्यटन व्यवसायी अर्यालले आफ्नै परिवारबाट दुई लाखबढी रकम जम्मा गरेर शुरु गरेको अभियानबाट अस्पतालका लागि अपरिहार्य उपकरण सहयोग जुटाएका हुन् । अर्यालका अनुसार, भेन्टिलेटरका लागि बनाएको सोंच तत्काल आवश्यक उपकरण आइसियुका लागि पेसेन्ट मोनिटर जुटाइएको हो ।

अभियान उद्घोष गरेको दुई दिनमा विभिन्न २७ जना दाताले उपलब्ध गराएको सहयोग रकमबाट ८ थान पेसेन्ट मोनिटर ल्याइएको जानकारी दिंदै अर्यालले शुक्रवार ६ थान भेरी अस्पतालका लागि र २ थान बर्दिया जिल्ला अस्पतालका लागि उपलब्ध गराए । व्यक्तिगत प्रयासमा योजना बनाएको १२ दिनमा लण्डनमा खरिद गरिएको सामान एअर कार्गाे गरेर चाइनाबाट अस्पतलालाई बुझाउन सकिन्छ भने सरकारले चाह्यो भने किन सक्दैन ? युवा व्यवसायी अर्यालले उपकरण हस्तान्तरण गर्दै भने ।
नेपालमा उपलब्ध हुन नसकेकोपछि विदेशबाट एयर कार्गाे गरेर झिकाइएको पेसेन्ट मोनिटर ४ लाख २५ हजार मुल्यको रहेको अर्यालले बताए । ढुवानीमा ६० हजार खर्च भएको जानकारी दिंदै अर्यालले भेरी अस्पतालको तत्कालको आवश्यकता बुझेर सामान छिटो झिकाइएको बताए । भेरीका प्रमुख डा. प्रकाश थापासँग तत्कालिन आवश्यकताको जानकारी लिएर यो निर्णय गरेको हो, अर्यालले त्यसका लागि आफ्ना सहोदर भाइ बासु अर्यालको सहयोग लिएका छन् । उनले त्यसका लागि भाई बासुको परिश्रमलाई स्मरण गरे ।

अर्याल दाजु भाईको २ लाख ३७ हजार ९५१ रुपियाबाट शुरु भएको उपकरण जुटाऊँ अभियानमा प्रदीप शाह, उषा शाहबाट ५१ हजार, सन्जय अर्याल २५ हजारलगायत व्यक्तिगत रुपमा ५ सय रुपियासम्म जुटेको सहयोगबाट जुटेको उपकरण सरकारी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

